• २१ वैशाख २०८१, शुक्रबार

फर्साटिकरलाई ‘न्यू युथ युनियन कप’ को उपाधि

blog

विजयी खेलाडी पुरस्कार ग्रहण गर्दै । तस्बिर : रेखीराम राना

रेखीराम राना

तानसेन, चैत २५ गते । ‘न्यू युथ युनियन कप’ फुटबल प्रतियोगिताको उपाधि रुपन्देहीस्थित फर्साटिकर युथ क्लबले जितेको छ । तानसेनस्थित टुंडिखेल मैदानमा भएको प्रतिष्पर्धामा २–१ गोलले पाल्पाको राईजिङ इलाभेन दमकडालाई पराजित गर्दै फर्साटिकरले उपाधि चुमेको हो । 

फर्साटिकरका एलिस क्षेत्रीले पहिलो मिनेटमै र फाइनल खेलका म्यान अफ द म्याच क्षितिजराज जिटीले ४० मिनेटमा गोल गर्नुभएको थियो । राइजिङका धन थापाले इन्ज्युरी समयमा गोल गर्नुभयो । फर्साटिकरले नगद एक लाख, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता दमकडाले नगद ५० हजार, सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।

खेलमा उत्कृष्ट खेलाडी राइजिङ इलाभेन दमकडाका दानु थापा हुनुभयो । उहाँले नगद ५ हजार पुरस्कार पाउनुभएको छ । विजयी समूहलाई तानसेन नगरपालिकाका नगरप्रमुख सन्तोषलाल श्रेष्ठ, जिल्ला फुटबल सङ्घका अध्यक्ष प्रणयवीरजंग राणा, दि फेमस महिन्द्र दल गणका गणपती भुपेन्द्र गुरुङ, न्यू युथ युनियन क्लबका अध्यक्ष मनोजमान लिगलले पुरस्कार वितरण गर्नुभएको हो । 

स्थानीय स्तरका खेलाडीहरूमा भएको प्रतिभालाई चिनाउने उद्देश्यका साथ प्रतियोगिता सञ्चालन गरिएको युथ युनियन क्लबका प्रकाश कार्कीले बताउनुभयो ।