• ९ मंसिर २०८१, आइतबार

बेहुलीजस्तै शृङ्गारिदै कुम्भ नगरी

blog

चतराबजारस्थित कुम्भनगरी प्रवेश गेट । तस्बिरः बाबुराम कार्की

बाबुराम कार्की

वराहक्षेत्र, चैत २४ गते । एक महिनाको अन्तरालमा चतराको मुख्यबजार आसपास क्षेत्रमा बाक्लो चहलपहल सुरु भएको छ । बाह्र वर्षे पूर्ण महाकुम्भ नजिकिदैजाँदा कुम्भ स्तम्भ क्षेत्रलाई बेहुलीजस्तै शृङ्गारिएको छ ।  

कुम्भस्थल क्षेत्रमा रहेका मन्दिर, धर्मशाला, हनुमानको मूर्ति, कुम्भ स्तम्भलगायतका मठ मन्दिरहरूलाई बेहुलीजस्तै शृङ्गारिएको छ । बाह्र वर्षपछि लाग्ने पूर्ण महाकुम्भको अवसरमा कुम्भ नगरी क्षेत्रमा रहेका धार्मिक मठ मन्दिरहरूलाई शृङ्गारिएको हो । 

चैत २७ गतेदेखि वैशाख २८ गतेसम्म वराहक्षेत्रको चतरामा लाग्ने पिण्डेश्वर पूर्ण महाकुम्भ मेलाका लागि आवश्यक पूर्व तयारी गरिएको छ । कुम्भ मेला मूल आयोजक समितिले पत्रकार सम्मेलन गरी कुम्भको तयारीबारे जानकारी गराएको छ । 

कुम्भकै अवसरमा चैत २६ गते धरानमा रहेको पिण्डेश्वर महादेव मन्दिरमा विधिवत् पूजा गरेर धरान, इटहरी, विराटचोक, विराटनगर, दुहवी, इनरुवा, प्रकाशपुर, चक्रघट्टी हुँदै मूल कुम्भ स्थलक्षेत्र चतरामा घडा भित्र्याइने जनाइएको छ । 

चैत २८ गतेदेखि वैशाख २८ गतेसम्म प्रत्येक दिन बिहान ६ बजेदेखि ११ बजेसम्म यज्ञ मण्डपमा पूजा हुने समितिले जनाएको छ । कुम्भ स्थलमा रुद्राभिषेक, लघु रुद्राभिषेक, महारुद्राभिषेक गरिने कार्यक्रम तय गरिएको छ । 

कुम्भ मेलाको अवसरमा जगद्गुरु श्रीरामानन्दाचार्य सेवापीठले चैत २७ गतेदेखि वैशाख ४ गतेसम्म श्रीराम कथा, वैशाख १ गतेदेखि ११ गतेसम्म संकटमोचन श्रीहनुमान महायज्ञ, ५ गतेदेखि ९ गतेसम्म भारतको बागेश्वरधामका पीठाधीश धिरेन्द्रकृष्ण शास्त्रीबाट श्रीराम कथा र श्रीरामनवमी महोत्सवका अवसरमा श्रीराम मन्दिरको कुम्भनगरी चतरामा शिलान्यास हुने जनाइएको छ । 

चैतको शुक्ल प्रतिपदादेखि वैशाख शुक्ल अक्षय तृतीयासम्म लाग्ने कुम्भ मेलामा पाँच दिन कुम्भ स्नानका विशेष दिनहरू छन् । कुम्भ प्रारम्भ महास्नान चैत २ गते, प्रथम कुम्भ महास्नान वैशाख १ गते, द्वितीय कुम्भ महास्नान वैशाख ११ गते कुम्भ नगरी क्षेत्रमा रहेको सप्तकोसी नदीमा विधिपूर्वक स्नान गरिने भएको छ । 

त्यस्तै, तृतीय कुम्भ महास्नान वैशाख २६ गते मातातीर्थ औँसीको दिन र स्नान वैशाख २८ गते कुम्भ समाप्ति स्नान हुने भएको छ । बाह्र वर्षपछि लाग्ने पूर्ण महाकुम्भको तयारी पूर्ण भइसकेको कुम्भ मेला मूल आयोजक समितिका सहअध्यक्ष रमेश कार्कीले बताउनुभयो । 

कुम्भमा आउने भक्त तथा धार्मिक पर्यटकहरूका लागि खाने, बस्ने र प्राथमिक उपचारको समेत व्यवस्था गरिएको छ । कुम्भलाई भव्य बनाउन कुम्भनगरी क्षेत्रलाई शृङ्गार्नेदेखि सुरक्षाको प्रबन्धसमेत मिलाइएको आयोजकको भनाइ छ ।