• ९ मंसिर २०८१, आइतबार

बिस्केट जात्रा ‘रूप एक, स्वरूप अनेक’

blog

भक्तपुर नगरपालिकाको संस्कृति र सम्पदाको केन्द्र हो– तौमढी क्षेत्र । तौमढीबाट पूर्वतर्फको भागलाई थने र पश्चिमतर्फको क्षेत्रलाई कोने भन्ने प्रचलन छ । नेपालभाषामा थनेको अर्थ माथिल्लो र कोनेको अर्थ तल्लो भन्ने हुन्छ । ल्यसीँखेलबाट नजिकै रहेको टौमढी जहाँ नेपाल अधिराज्यकै सर्वाधिक चर्चित र सबैभन्दा अग्लो न्यातपोल अर्थात् पाँचतले छाना भएको पाँचतले मन्दिर अवस्थित छ । सोही परिसरमा काशी विश्वनाथ चतुर्ब्रह्मा महाविहार (तधिछेँबहाः) तिल माधवनारायण जस्ता ऐतिहासिक धार्मिक सम्पदा छन् ।

नयाँ वर्ष (विक्रम संवत्) सुरु हुनु चार दिनअघि तौमढी चोकबाट निकालिएको रथ आरोहण गराई बिस्केट जात्रा मनाउने र एक दिनअघि उठाइएको नागनागिनी हलिपतासहित एकाउन्न हाते लिङ्गो वैशाख १ गते ढालेर मनाउन सुरु गरिने जात्रा नै भक्तपुरमा बिस्केट जात्राका रूपमा प्रख्यात छ । भक्तपुर नगरपालिकाको ल्यसीँखेलमा परम्परा र तान्त्रिक विधि अनुसार ल्यसीँद्यो (लिङ्गो) उठाउने र ढाल्ने परम्परा छ । बिस्केट जात्रा प्रत्येक वर्ष मनाइन्छ । बिस्केट जात्रा भक्तपुरवासीको मुख्य ठुलो पर्व र जात्रा हो । 

भक्तपुरको टौमढी टोलको नेपाल संवत् ५६१ को यक्ष मल्लको शिलालेखमा तत्कालीन नेपाल मण्डलको राजधानी भक्तपुर सहरमा वर्षभरि मनाउने विभिन्न जात्रा, चाडपर्व, संस्कृतिको उल्लेख गर्ने क्रममा यसलाई ‘विश्वजात्रा’ उल्लेख गरिएको छ । नेपाल संवत् ६४१ को भूमिसम्बन्धी तमसुक ताडपत्रमा विश्वकेतुलाई ‘विसिक’ भनिएको छ । यस्तै भक्तपुर दरबार क्षेत्रको मालती चोकको जितामित्र मल्लको नेपाल संवत् ८०८ र भूपतिन्द्र मल्लको नेपाल संवत् ८१८ को शिलालेखमा क्रमैले ‘विस्क्याट’ शब्द कुँदिएको पाइएको छ । परापूर्वकालमा यो जात्रा दुई दिन मात्र मनाइन्थ्यो । बिस्का जात्राको मूल जात्रा भनेकै चैत्र शुक्ल मसान्तको दिन विश्वकेतुसहित योसीँ द्यः (लिङ्गो) उठाई त्यसमा एक जोडा ध्वजा फहराउनु अनि वैशाख सङ्क्रान्तिको दिन उक्त योसीँ ढाल्नु हो । समयकालसँगै विभिन्न जात्रा समेटेर यो जात्रा आठ रात नौ दिन मनाउने प्रचलन छ । 

बिस्केट जात्राको मुख्य आकर्षण भैरवनाथको रथ तानातान गर्ने र लिङ्गो ठड्याउने नै हो । हेर्दा काठको लिङ्गो देखिए पनि यसलाई देवत्वकरण गर्न विभिन्न विधि अपनाइएको हुन्छ । ल्यसीँ साधारण काठको लिङ्गो होइन । बिस्केट जात्राका लागि आवश्यक पर्ने एक जोडी लिङ्गो भक्तपुर चित्तपोलस्थित वनबाट ल्याउने परम्परा छ । जहाँबाट विधि पु¥याएर ५५ हात लामो रुख काटेर ल्याइन्छ । लिङ्गोलाई भैरवनाथ र भद्रकालीको प्रतीकका रूपमा लिइन्छ । 

यो जात्राका लागि ल्याइएको काठलाई जन्म र मृत्युसम्बन्धी दसकर्म गरेर काठलाई ल्यसीँ (लिङ्गो) मा परिणत गर्ने प्रचलन छ । यसरी लिङ्गोका लागि ल्याइएको नयाँ काठलाई नेवारी संस्कृति अनुसार बेल विवाह गर्ने, गुफा राख्ने, व्रतबन्ध गर्ने र विवाहसमेत गर्ने कार्य सम्पन्न गरेपछि मात्र काठ लिङ्गोमा परिणत हुने गर्छ । यसपछि मात्र त्यो काठले देवत्व प्राप्त गर्ने मान्यता छ । 

आठ रात नौ दिनको जात्रा

जात्राको पहिलो दिन भैरवनाथको रथ तान्ने र चौथो दिन भेलुखेलस्थित ल्यसीँखेलमा लिङ्गो ठड्याउने र पाँचाँै दिन ढालेर रथयात्रा गरी मनाउने जात्राका रूपमा बुझिन्छ । बिस्केट जात्रा नौ दिन आठ रात मनाउने क्रममा भक्तपुरका विभिन्न स्थानमा विभिन्न देवीदेवताका जात्रासमेत हुने गर्छन् । बिस्केट जात्रालाई भैरवको रथ र लिङ्गोका रूपमा मात्र बुझ्नु हुन्न । 

भक्तपुरको बिस्केट जात्राभित्र अरू थुप्रै जात्रा छन् । ती जात्रालाई मानिसले मात्र सम्मान गर्ने नभई संस्कृतिलाई उचाइमा राख्न देवीदेवताले समेत भैरव र भद्रकालीले सम्मान व्यक्त गरेको अर्थमा मनाउने गरिन्छ । जुन जात्रा भक्तपुरका टोलटोलमा हुने गर्छ । बिस्केट जात्राभित्रका रमाइला जात्रामा इन्द्रायणी देवीको त्वारिवा जात्रा, इन्द्रायणीको खटलाई विभिन्न प्रकारले शृङ्गार गरेर रथजात्रा मनाउने चलन छ । सो रथमा इन्द्रायणी देवीको द्योः छेमा रहेको मूर्तिलाई खटमा राखी पीठमा लगेर जात्रा मनाउने गरिन्छ । जात्राका क्रममा स्थानीयले आआफ्नो घरबाट त्वारिवा (बत्ती बाल्ने) ल्याई देव बत्ती बालेर जात्रामा सहभागी हुने प्रचलन छ । 

बिस्केट जात्रा अन्तर्गत जात्राको चौथो दिन अर्थात् चैत्र मसान्तको दिन अष्टमातृकाका शक्तिशाली देवीमध्ये गनिने एक शक्तिशाली देवी वाराहीको जात्रा अर्थात् वाराही तिःप्वा जात्रा गरिन्छ । भक्तपुरको भेलुखेलस्थित ल्यसीँखेलमा लिङ्गो उभ्याउने जात्रा सम्पन्न भएपछि तेखाचो टोलमा रहेको द्यो छेँ (देवघर) बाट वाराहीको मूर्तिलाई खटमा राखी उक्त तिँःप्वा जात्रा मनाइन्छ । मण्डप शैलीमा निर्मित वाराहीको खटमा वाराहीलाई राखी भक्तपुरको वंशगोपालदेखि वाराही पीठसम्म खटजात्रा मनाइन्छ । यही दिन तालाक्वस्थित कुमाले टोलमा हात नभएको लिङ्गो ठड्याइने परम्परा छ । भेलुखेलस्थित यसीँख्यमा ५५ हात लामो ल्यसीँ (लिङ्गो) ठड्याउनुअघि कुमाले टोलमा हात नभएको लिङ्गो ठड्याउने परम्परा छ । 

त्यस्तै बिस्केट जात्राभित्रको अर्को जात्रा हो– भैरव र भद्रकाली रथ जुधाउने जात्रा । यो जात्रामा लिङ्गो जात्रा समापन भएसँगै वैशाख १ गते स्थानीय गःहिटी टोलमा भैरव र भद्रकालीको जात्रा हुने गर्छ । यसलाई भैरव र भद्रकालीको विवाहको उपमाका रूपमा लिइन्छ । बिस्केट जात्रा अन्तर्गत नै वैशाख २ गते भक्तपुरको लाछी टोलमा महाकाली द्यो छँेबाट मूर्तिलाई खटमा राखी भोलाछेँबाट जात्रा सुरु गरिन्छ । महाकाली र महालक्ष्मीको जात्राका रूपमा चिनिने उक्त जात्रामा एक भागमा पहेँलो र अर्को भागमा रातो रङको टोपी लगाएर जात्रा मनाउने परम्परा छ । जात्राका क्रममा मध्य भागमा महाकाली र महालक्ष्मी भेट भएपछि दुवै खटलाई जुधाउने प्रचलन छ । वैशाख ३ गते भने आष्टमातृकामध्ये प्रमुख शक्तिशाली देवी मानिने ब्रह्मायणी र महेश्वरीको जात्रा मनाउने परम्परा छ । 

भक्तपुरको सूर्यमढीस्थित द्यो छेँमा रहेको ब्रह्मायणीको मूर्ति खटमा राखी जात्रा गरिन्छ । यो जात्रामा स्थानीय टोलका भक्तजन चिराग र मुस्याख्व बत्ती बाली खटको अगाडि लाग्ने परम्परा छ । त्यस्तै स्थानीय इनाचो टोलमा रहेका महेश्वरी द्यो छेँको मूर्तिलाई खटमा राखी शृङ्गारपटारका साथ जात्रा सुरु गरिन्छ । यी दुवै देवीको रथ दत्तात्रय चोकको बिच भागमा जम्काभेट गराई रथ जुधाइन्छ । प्रसाद र चिरागबत्ती साटासाट गर्ने प्रचलन छ । 

बिस्केट जात्राकै बेला मनाइने अर्को जात्रा हो– बटुक भैरव र ज्याठा गणेश जात्रा । यसले बिस्केट जात्रा अष्टमातृका र देवदेवीको मात्र जात्रा नभई भैरव र गणेशको समेत जात्रा हो भन्ने दर्साउँछ । स्थानीय बुलुचा टोलको बटुक भैरव र कुम्हाले टोलको ज्याठा गणेशको जात्रा बिस्केटकै समयमा गर्ने गरिन्छ । यो जात्रामा खटलाई आ–आफ्नो टोलमा परिव्रmमा गराई पूजा गर्ने र बटुक भैरवको खट र ज्याठा गणेशको रथ जुधाउने परम्परा छ । उक्त अवसरमा एकले अर्कालाई सिन्दूर छर्ने प्रचलनसमेत छ । 

बिस्केट जात्राको आठौँ दिन अर्थात् वैशाख ४ गतेका दिन छुमा गणेशको जात्रा गरिन्छ । यसबेला शक्तिका देवता छुमा गणेशको मूर्तिलाई खटमा राखी स्थानीय चोछेँ टोलमा परिक्रमा गराई जात्रा मनाउने परम्परा छ । जात्राका क्रममा घरघरबाट बलिसहितको पूजा गर्ने परम्परा छ । वैशाख ४ गते नै द्यो स्वगं पूजा (सगुन जात्रा) समेत गरिन्छ । बिस्केट जात्रालाई विस्तृत रूपमा सम्पन्न गर्ने चरणमा शक्तिशाली देवदेवीका पूजालाई सगुन पूजाको नामले उल्लेख भएको भाषा वंशावलीमा समेत उल्लेख छ । यस दिनमा भक्तपुरका शक्तिशाली देवदेवीलाई आआफ्नो द्यो छेँबाट निकाली प्राङ्गण, सतल र पाटीमा राखेर पूजा आराधना गर्ने प्रचलन छ ।

त्यस्तै बिस्का जात्राको आठौँ दिन अर्थात् वैशाख ४ गतेका दिन छुमा गणेशको जात्रा पनि गरिन्छ । यसबेला शक्तिका देवता छुमा गणेशको मूर्तिलाई खटमा राखी स्थानीय चोछेँ टोलमा परिक्रमा गराई जात्रा मनाउने परम्परा छ । स्थानीय टोलवासीले जात्राका क्रममा घरघरबाट बलिसहितको पूजा चढाउने गरिन्छ । छुमा गणेश भक्तपुर नगरमा बस्ती कसरी बसालियो भन्ने लोक आख्यानसँग जोडिएको भक्तपुरको ऐतिहासिक सम्पदा हो । यो मन्दिरबारे मुसाले बिरालो मुखमा च्यापेर हिँडेको रोचक लोक किंवदन्ती छ । 

चैत मसान्त अर्थात् पुरानो वर्षको बिदाइ र नयाँ वर्षको आगमनको अघिल्लो दिन उठाउने र हात नभएको लिङ्गोको टुप्पोमा प्रसादका रूपमा फूलपाती राखिएको हुन्छ । प्रत्येक वर्ष चैत मसान्तका दिन ठड्याउने उक्त लिङ्गो वैशाख ५ गतेका दिन ढालेपछि बिस्केटको लिङ्गो जात्रा सम्पन्न हुने परम्परा छ । 

बिस्केट जात्रा र काशी विश्वनाथ भैरवको सम्बन्ध

काशी विश्वनाथ भैरवको विषयमा एक लोक आख्यान खुब चर्चित छ । एक समय काशी विश्वनाथ विश्वमा कतै नभएको लिङ्गो उभ्याउने जात्रा हेर्न भक्तपुरको ल्यसीँखेल पुगेको आख्यान काशी विश्वनाथ भैरवको मन्दिरसँग जोडिएको छ । काशी विश्वनाथ भैरव बिस्केट जात्रा हेर्न आएको भक्तपुरका तान्त्रिकले थाहा पाएर विश्वनाथलाई पासुका (तान्त्रिक धागोले) बाँधेर भक्तपुरमै राख्ने प्रयत्न गरे । काशी विश्वनाथ तान्त्रिकको नियन्त्रणबाट फुत्किएर अलप हुन खोज्दा तान्त्रिकले उनको टाउको छेदन गरी भक्तपुरमै राखेको र शरीर मात्र काशी विश्वनाथ पठाएको आख्यान छ । यसरी काशी विश्वनाथ भैरवलाई तान्त्रिकले जितेर भक्तपुरमै राख्न सफल भएपछि हिन्दुस्तानका हिन्दु काशी जगन्नाथ बद्री केदार चारधाम मात्र होइन, चौरासी धाम तीर्थाटन गरिसकेपछि पनि शिरधाम पशुपतिनाथ र भक्तपुरको काशी विश्वनाथ भैरवको दर्शन नगरेसम्म तीर्थ पूरा भएको मानिँदैन । 

काशी जगन्नाथ दर्शनपश्चात् जबसम्म भक्तपुरको विश्वनाथ भैरवको दर्शन गर्दैन, तबसम्म तीर्थालुले मनले चिताएको पूरा नहुने जनविश्वास छ । नेसं ६९२ मा राजा विश्व मल्लले आफ्नै दरबारअगाडि तौमढीमा कुल देवता वीरभद्र र आगम स्थापना गराई लिङ्गायत सम्प्रदायका जङ्गम जातिलाई विश्वनाथको शिवलिङ्गसहित बसोबास गराई पूजापाठ गराइएको पाइन्छ । नेपाल संवत् ७५० मा राजा जगतज्योति मल्लले भुइँतले आकृतिमा निर्माण गराएको काशी विश्वनाथको मन्दिरलाई राजा भूपतिन्द्र मल्लले हाल देखिएको तीनतले आयाताकार मण्डप शैलीयुक्त मन्दिर बनाएको मानिएको छ । त्यसपछि यस जात्रालाई विश्वनाथ जात्रा पनि भनिन थालिएको मानिएको छ । नेसं ७२६ र ७५८ कालिन राजा जगतज्योति मल्लले तीनतले र दुईतले भद्रकालीको रथ निर्माण गरी व्यवस्थित रूपमा सञ्चालन गराएको मानिएको छ । 

थने–क्वने (माथि–तल) रथयात्रा

बिस्का जात्राको मुख्य आकर्षण भैरवनाथको रथ तानेर सम्बन्धित ठाउँमा पु¥याउनु हो । रथलाई सयौँ मानिसले तान्दा पनि हलचल गर्न हम्मेहम्मे हुन्छ । सयौँ मान्छेले एकै पटक एकै बलमा ताने मात्र रथलाई गुडाउन सकिन्छ । भैरवनाथको रथ तलमाथि (थने–क्वने) गरी दुई समूहमा बाँडेर तान्ने भएकाले थने अर्थात् माथिल्लो क्षेत्रका गुठियार र स्थानीयले माथिल्लो क्षेत्रमा रथ लैजाने प्रयास गर्छन् । क्वने अर्थात् तल्लो क्षेत्रकाले आफ्नै क्षेत्रमा रथ लैजानका लागि तान्ने गरिन्छ । दुवैतर्फबाट रथ तान्दा जुन तर्फ तान्ने शक्ति बढी हुन्छ, रथ त्यही क्षेत्रमा गुड्ने गर्छ । यस्तो अवस्थामा रथ आफ्नो क्षेत्रमा लान नसकेपछि आवेशमा ढुङ्गामुढा हुने जस्ता घटना पनि हुने गरेका छन् । त्यसका लागि प्रहरी प्रशासन र भक्तपुर नगरपालिकाले सुरक्षाको प्रबन्ध मिलाउँदै आएका छन् ।