• २२ वैशाख २०८१, शनिबार

सिद्धरत्ननाथ-देवीपाटन महायात्रा सुरु

blog

नेपाल–भारत धार्मिक एवम् ऐतिहासिक गोरक्षपात्रदेवता सिद्धरत्ननाथ–देवीपाटन महायात्रा । तस्बिर : लीलाधर वली

लीलाधर वली 

घोराही, चैत २३ गते । नेपाल-भारत धार्मिक एवम् ऐतिहासिक गोरक्षपात्र देवता सिद्धरत्ननाथ–देवीपाटन महायात्रा २०८० आजदेखि सुरु भएको छ । प्रत्येक वर्ष चैत पञ्चमीका दिन भारतको बलरामपुर जिल्ला तुलसीपुरस्थित पाटेश्वरी मन्दिर पुग्नेगरी हुने धार्मिक र सांस्कृतिक महत्वको ऐतिहासिक यात्रा आजबाट सुरु भएको हो । 

घोराही उपमहानगरपालिका–१७ गोरक्षपात्रदेवता सिद्धरत्नाथ मठ चौघेराबाट शुक्रबार बिहान साढे ४ बजे भारतको देवीपाटनका लागि महायात्रा प्रस्थान गरेको छ । लामो समयसम्म मन्दिरका साधुसन्तहरुबाट मात्रै हुने गरिएको यात्रा यो वर्षदेखि जनस्तरको सहभागीतामा पुनः यात्रा सुरु भएको मुल आयोजक समितिका संयोजक एवम् महन्त सुरतनाथ योगीले जानकारी दिनुभएको छ । 

उहाँले भन्नुभयो, "नेपाल–भारत दुई देशबिच धार्मिक एवम् सांस्कृतिक महत्व बोकेको ऐतिहासिक यात्रा विशेष कारणले गर्दा केही वर्षदेखि मठका साधुसन्तहरुबाट मात्रै हुने गरेको थियो । तर यो वर्षदेखि प्रदेश सरकारले गौरवको यात्राका रुपमा अघि बढाइएको छ ।"

यात्रा गोरक्षपात्र देवका विभिन्न स्थानमा रहेका विश्रामस्थलमा विश्राम गर्दै वैशाख १ गते बिहान पञ्चमीका दिन भारतको तुलसीपुरस्थीत माँ पाटेश्वरी मन्दिर पुग्ने कार्यक्रम छ । यात्राका क्रममा घोराहीबाट प्रस्थान भएपछि घोराही उपमहनगरपालिका अन्तर्गत पर्ने चौपट्टास्थीत मन्दिरमा केही समय पूजा आराधाना र विश्रामपछि लमही नगरपालिका–६ देउपुर गोरक्ष धाममा पुगेको छ । त्यहाँ पाँच दिनको बसाइँपछि चैत २८ गते देउपुरबाट कोइलाबासको लागि यात्रा अघि बढ्ने प्रचारप्रसार संयोजक लीला शाहले जानकारी दिनुभएको छ । 

चैत २८ गते कोइलाबासमा एक रात विश्रामपछि चैत २९ गते बिहान ४ बजे कोइलाबासबाट भारतको जनकपुरको लागि यात्रा तय हुने छ । चैत २९ र ३० गते जनकपुरमा विश्राम हुनेछ । 


वैशाख १ गते पञ्चमी तिथिका दिन बिहान जनकपुरबाट देवीपाटनका लागि रथयात्रासहित विशेष तामझामका साथ गोरक्ष पात्रदेवताको महायात्रा भारतको देवीपाटनको लागि प्रस्थान हुने कार्यक्रम रहेको प्रचारप्रसार समितिका संयोजक शाहले जानकारी दिनुभएको छ । 

पाटेश्वरी मन्दिरमा पाँच दिनको बसाईपछि यात्रा स्वदेश फर्किने कार्यक्रम छ । यो यात्रा विसं ८०९ मा सिद्धरत्ननाथले सिद्धि प्राप्त गरेपछि हुँदै आएको करिब १३ सय वर्ष पुरानो धार्मिक एवम् ऐतिहासिक यात्रा भएको विश्वास गरिन्छ ।