• १९ वैशाख २०८१, बुधबार

अस्पतालद्वारा शैक्षिक संस्थालक्षित स्वास्थ्य उपचार योजना

blog

बिद्यालय र अस्पतालविच गरिएको सम्झौता आदान प्रदान गरिदै । तस्विरः सिराज खान

सिराज खान 

नेपालगन्ज, चैत २२ गते । बाँकेको कोहलपुर–११ स्थित कौसिल्या अस्पताल प्रालिले शैक्षिक संस्थालक्षित नयाँ उपचार योजना ल्याएको छ । सेवा क्षेत्रमा रहेका विद्यालय, विद्यार्थी र अभिभावकलाई लक्षित गरेर नयाँ उपचार ल्याएको हो ।

अस्पतालको नयाँ योजनाअनुसार वार्षिक एकसय रुपियाँमा दुई पटक स्वास्थ्य जाँच गर्न सकिने जनाइएको छ । सो योजनाअन्तर्गत कौसिल्या अस्पताल र बैजनाथ गाउँपालिका–२ स्थित दीपज्योति विद्या निकेतनबिच वार्षिक सम्झौता गरिएको अस्पतालमा निर्देशक रामप्रसाद न्यौपानेले बताउनुभयो । 

सम्झौताअनुसार एकसय रुपियाँमा विद्यालयका विद्यार्थी, शिक्षक, विद्यालय कर्मचारी तथा अभिभावकको दुई पटकसम्म स्वास्थ्य चेकजाँच गरिनेछ । प्रत्येक व्यक्तिले एकसय रुपियाँ तिरेमा वर्षमा दुई पटक स्वास्थ्य जाँच गर्न पाउनेसम्बन्धी सम्झौतामा कौसिल्या अस्पताल प्रालिका निर्देशक रामप्रसाद न्यौपाने र दीपज्योति विद्या निकेतन बैजनाथका प्रधानाध्यापक संस्थापक लक्ष्मणबहादुर सिंहले हस्ताक्षर गरेर आदान प्रदान गर्नुभयो ।  

सम्झौता अनुसार विद्यालयमा स्वास्थ्य शिविर सञ्चालन गरिने बताइएको छ । सबै नागरिकले न्यूनतम शुल्कमा स्वास्थ्य उपचार गर्ने अवसर पाउन् भन्ने उद्देश्यले यो योजना ल्याइएको अस्पतालले जनाएको छ । 

साथै विद्यालयका बालबालिकाको शिक्षाका साथै बालबालिका र अभिभावकलाई पनि उपचारमा सहज हुने अस्पतालका प्रशासन प्रमुख शङ्कर न्यौपानेले बताउनुभयो । एक जना विद्यार्थीले वार्षिक एकसय रुपियाँ तिरेपछि अस्पतालले वर्षमा दुई पटक विद्यालयमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने उहाँको भनाइ छ ।