• २५ वैशाख २०८१, मङ्गलबार

उपनिर्वाचन : अन्तिम मतदाता नामावली प्रकाशन

blog

काठमाडौं, चैत २२ गते । निर्वाचन आयोगले आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि मतदाताको अन्तिम नामावली प्रकाशन गरेको छ ।आयोगको बिहीबार बसेको बैठकबाट उपनिर्वाचनलाई लक्षित गरी आयोगबाट फागुन २९ देखि चैत ५ गतेसम्म देशभर सञ्चालन गरिएको ‘मतदाता नामावली अद्यावधिक तथा अन्तिम नामावली प्रकाशन कार्यक्रम २०८०’ अनुसार अन्तिम मतदाता नामावली स्वीकृति गरी आयोगको वेबसाइटमा प्रकाशन गरिएको हो ।

आयोगका सहसचिव एवम् प्रवक्ता शालिग्राम शर्मा पौडेलले पछिल्लो निर्वाचनमा इलाम जिल्ला प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा एक लाख १५ हजार ४६७ र बझाङ जिल्ला प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर १ मा ६१ हजार ११० मतदाता रहेको जानकारी दिनुभयो ।

वैशाख १५ गते हुने उपनिर्वाचनका लागि इलाम जिल्ला प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ मा ४२२ जना मतदाता थप भई एक लाख १५ हजार ८८९ मतदाता कायम भएका छन् भने बझाङ जिल्ला प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ को प्रदेश सभा निर्वाचन क्षेत्र नं १ मा ६३८ जना थप भई ६१ हजार ७४८ मतदाता कायम भएका छन् ।

स्वीकृत मतदाता नामावली बमोजिम देशभरको विवरण अनुसार मिति २०८१–०१–१४ गतेसम्म १८ वर्ष उमेर पुग्ने व्यक्तिहरू मध्ये महिला मतदाता ८८ लाख ८६ हजार २२६, पुरुष मतदाता ९२ लाख दुई हजार ५६९ र अन्य मतदाता १८८ गरी कूल एक करोड ८० लाख ८८ हजार ९८३ मतदाताको नाम अन्तिम मतदाता नामावलीमा समावेश भएको छ ।

आयोगले सार्वजनिक गरेको अन्तिम मतदाता नामावलीका अनुसार सबैभन्दा बढी मतदाता मोरङ जिल्लामा महिला मतदाता तीन लाख ६२ हजार ९७३, पुरुष मतदाता तीन लाख ७६ हजार ४११ र अन्य मतदाता ६ गरी जम्मा सात लाख ३९ हजार ३९० र सबैभन्दा कम मतदाता मनाङ जिल्लामा महिला मतदाता तीन लाख ५३० र पुरुष मतदाता तीन हजार ३१९ गरी जम्मा ६ हजार ८४९ मतदाता रहेका छन् ।