• २८ वैशाख २०८२, आइतबार

स्याङ्जामा प्रहरीको लापसे परीक्षण अभियान

blog

तस्बिर : अर्जुन काफ्ले

अर्जुन काफ्ले

स्याङ्जा, चैत २१ गते । दैनिक रुपमा बढ्दै गएको सवारी सवारी दुर्घटनाको नयाँ कारण लागु पदार्थ सेवन पनि देखिएको छ । सडक दुर्घटना न्यूनीकरण एवम् सार्वजनिक यातायातलाई थप सुरक्षित, मर्यादित र भरपर्दो बनाउने उद्देश्यले ट्राफिक प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय स्याङ्जाले हेन्सो टेक्स किट मार्फत लागु पदार्थ सेवन परीक्षण गर्न थालेसगै नयाँ तथ्य फेला परेको हो । 

प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानााले विगतमा मादक पदार्थ सेवन मात्र चेक गर्ने गरिएकोमा अब लागु पदार्थ चेक(लापसे) समेत चेक गर्न थालिएको बताउनुभयो । 

चालक तथा सहचालकले आफ्नो पिसाब किटमा हालेसँगै लागु पदार्थ सेवन गरेको वा नगरेको देखिने रानाले बताउनुभयो । परीक्षण अभियान निरन्तर चल्ने बताउँदै रानाले शङ्का लागेको र दुर्घटना भएको स्थलमा बढी किटको प्रयोग गरिने बताउनुभयो । 

गण्डकी यातायात प्राली स्याङ्जाले किट सहयोग गरेसँगै अभियान थालेको बताउँदै रानाले जिल्लाका सबै ठाउँमा यो प्रकारको चेक गरिने बताउनुभयो । पुतलीबजार नगरपालिका वडा नं १ बसपार्कमा गरिएको ४८ वटा सवारी साधन चेक जाँचमा पाँच जनाले लागु पदार्थ गाँजा सेवन गरेको भेटिएको हो । गाँजा सेवन गर्नेमा चार जना चालक र एक जना सहचालक भेटिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । 

गाँजा सेवन गरेर सवारी साधन चलाउने रुपन्देही बुटवल उप महानवगरपालिका ११ रुपन्देहीका ४७ वर्षीय पदमबहादुर डिसुवा, वालिङ नगरपालिका ११ पेखुका ३६ वर्षीय साजन थापा, पोखरा महानगरपालिका २९ कास्कीका २६ वर्षीय विशाल गुरुङ्ग, वडा नं १९ का ४८ वर्षीय होमबहादुर खत्री, पुतलीबजार नगरपालिका १ का २६ वर्षीय अजय नेपाली र फेदीखोला गाउँपालिका २ स्याङ्जाका ३७ वर्षीय अमृत मिजार छन् । 

गाँजा सेवन गरी सवारी चलाएका पाँचै जनालाई नियन्त्रणमा लिएर सार्वजिक हित र नैतिकताविरुद्धको कसुरमा मुद्दा दर्ता गरी जिल्ला प्रशासन कार्यालय स्याङ्जाबाट पाँच दिनको म्याद थप लिई थप अनुसन्धान अगाडि बढाएको रानाले बताउनुभयो । पक्राउ परेकाले सवारी चालकले आफूले सेवन गरेको स्विकारेको र अनुसन्धानपछि निजहरुलाई एक लाख जरिवाना र एक वर्ष कैद वा दुबैसम्म कारबाही हुनसक्नेछ । 

लागुपदार्थ सेवन परीक्षणले दुर्घटना न्यूनीकरण प्रभावकारी हुने अनुमान प्रहरीले गरेको छ ।