• १३ साउन २०८१, आइतबार

रत्नपार्कको भित्ते बगैँचामा दुई सय बिरुवा

blog

भित्ते बगैँचामा फूल र लहरा बोटका बिरुवा रोप्नुहुँदै आयोजनाका प्रमुख नवराज थापा, महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डे, वातावरण व्यवस्थापन विभागका कर्मचारी । तस्बिर : काठमाडौं महानगर

काठमाडौं, चैत २१ गते । भित्ते बगैँचामा बुधबार दुई सय वटा फूल र लहरा बोटका बिरुवा रोपिएका छन् । पार्क तथा हरियाली प्रवर्द्धन आयोजनाले रत्नपार्क, आकाशेपुलको दुईवटा भित्ता उपयोग गरेर भित्ते बगैँचाको परीक्षण थालेको हो । यस क्रममा आयोजनाका प्रमुख नवराज थापा, महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डे, वातावरण व्यवस्थापन विभागका कर्मचारीसहित सहभागी भएर फूल तथा बिरुवा रोप्नुभएको हो ।


आयोजना प्रमुख थापाका अनुसार फूलमा बेगमबेली र स्वस्थानी फूल (भेरेस्ता) रोपिएका छन् । बेगनबेलीमा पनि गुलाबी, रातो, सेतो, पहेँलो, सुन्तले गरी विभिन्न प्रकारका फूल फुल्ने बिरुवा छन् । सामान्यतया यो जातको फूल ४ देखि ६ महिनासम्म फुलिरहन्छ । यी बिरुवा बढ्दै जाँदा काँटछाँट गरेर मिलाउँदै जानुपर्छ । यसबाट आफूले चाहेको आकार र स्वरुपको बनाउन सकिन्छ ।

हरियाली हुने बिरुवामा होया, मनिप्लान्ट, आइभ्यूका बिरुवा छन् । यी बिरुवा लहरिँदै बढ्दै जान्छन् ।


यी आकाशे पुलका भित्ताहरु साढे ३२ मिटर लामा छन् । उचाइ साढे ६ मिटरसम्म छ । भित्ताको जमिन सतहमा खाडल खनेर फूलका बिरुवा रोपिएका छन् । लहराउने बिरुवालाई गमलामा झुण्ड्याइएको छ । यसमा बिरुवा लहराउन भित्ताभरि दुई /दुई वर्गमिटरका जालीदार बार बनाइएको छ । आयोजनाले यो काम नौ लाख ५६ हजार लागतमा सम्पन्न गरेको हो ।

सहरी सुन्दरता र हरियाली प्रवर्द्धनका लागि थालिएको यो कामको पैदल यात्रीहरुले प्रशंसा गर्दै हिँड्दै हुनुहुन्थ्यो । उहाँहरुको एउटै चिन्ता थियो, यी बिरुवा चोरी होलान् कि नहोलान् ? उहाँहरुको यो स्वतःस्फूर्त आवाज नै सहरी सुन्दरताका लागि महत्त्वपूर्ण छ । यसरी हेर्दा बिरुवा जोगाउन मलजल र गोडमेल जति महत्त्वपूर्ण छ, उत्तिकै महत्त्वपूर्ण रोपिएका बिरुवा चोरिनबाट जोगाउनु पनि हो । अधिकारीहरुले यतातिरका योजना बनाउन आवश्यक छ ।