• १४ पुस २०८१, आइतबार

सिन्धुलीमा नयाँ छ वटा पक्की पुल बन्दै

blog

सिन्धुलीको ग्वाङखोलामा निर्माणको अन्तिम चरणमा पुगेको पक्की पुल । तस्बिर : बाबुराम देवकोटा

बाबुराम देवकोटा
सिन्धुलीमाढी, चैत २१ गते ।
बागमती प्रदेश सकारको आर्थिक सहयोगमा सिन्धुली जिल्लाको विभिन्न स्थानमा आवतजावत गर्ने अत्यावश्यक सडकमा पर्ने खोलाहरुमा यो वर्ष छ वटा नयाँ पक्की पुल निर्माण हुने भएको छ ।

नयाँ निर्माण हुने पक्की पुलको डिपिआर तयार भई ठेक्का लगाउन टेण्डर प्रक्रिया अघि बढेको पूर्वाधार विकास कार्यालय सिन्धुलीले जनाएको छ । कर्यालयका अनुसार नया निर्माण हुन लागेको पक्की पुलहरुमा गोलन्जोर गाउँपालिकामा बारा–घोक्सिला पुल, घ्याङलेख गाउँपालिकामा तामाजोर खोला पुल, टाँडी खोला पुल, सुनकोसी गाउँपालिका–५ मा भोटेखोला पुल, कमलामाई नगरपालिका–२ मा चियाबारी–केवरे सडकअन्तर्गत ग्वाङ्खोला पुल र कमलामाई नगरपालिका–४मा नै ग्वाङखोला पुल छ ।

यी पुल निर्माणका लागि बागमती प्रदेश सरकारले यो वर्ष दुई करोड ५० लाख रुपियाँ बजेट विनियोजन गरेको कार्यालयका सूचना अधिकारी तथा इन्जिनियर हेमन्त गाँईले जानकारी दिनुभयो । बारा–घोक्सिला पुलको निर्माण अवधि डेढ वर्ष रहेको र बाँकी अरु पुलको निर्माण अवधि एक वर्ष रहेको उहाँले बताउनुभयो ।

जिल्लाका विभिन्न स्थानमा आवतजावत गर्ने अत्यावश्यक सडकअन्तर्गत खोलाहरुमा बागमती प्रदेश सरकारको आर्थिक सहयोगमा हालसम्म निर्माणाधिन १२ वटा पक्की पुलमध्य हालसम्म आठ वटा पुल निर्माण सम्पन्न भई सञ्चालनमा आइसकेको कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार गतवर्ष असारसम्म सात वटा र यो वर्ष निर्माणाधीन रहेका पाँच वटा पक्की पुलमध्ये दुधौली नगरपालिकाको बटाहा–फेदी पित्लेभञ्ज्याङ सडकअन्तर्गत फेदी कुमराह पुल सम्पन्न भइसकेको छ । निर्माणाधिन अवस्थामा रहेका बाँकी पुलमध्ये पनि कमलामाई नगरपालिका–६ कारागार कार्यालय जाने ग्वाङखोला पुल र हरिहरपुरगढी गाउँपालिका–७ क्यानखोला पुल यो वर्ष असारसम्म सम्पन्न हुने कार्यालयका सूचना अधिकारी गाँईले सुनाउनुभयो ।

उहाँका अनुसार यी दुवै पुलको निर्माण कार्य अहिले अन्तिम चरणमा छ । निर्माण सम्पन्न भई सुचारु भएका पुलहरुमा कमलामाई नगरपालिकाको मधुटार ग्वाङखोला पुल, कमलामाई नगरपालिकाकै गड्यौलीखोला पुल, तीनपाट गाउँपालिकाको लङ्गुरखोला पुल, फिक्कल गाउँपालिकाको बाक्सुखोला पुल र सुनकोसी गाउँपालिकाको धोबीखोला पुल छन् । कमलामाई नगरपालिका–९ र १० जोड्ने कमला नदी पुल र कमलमाई नगरपालिकाकै लुङ्गेलीटार बौलाखोला पुल रहेका कार्यालयले जनाएको छ  ।

वर्षौदेखि वर्षाको मौसममा ज्यान नै माया मारेर आवतजावत गर्नुपर्ने विभिन्न खोलानालामा धमाधम पक्की पुल निर्माण हुन थालेपछि स्थानीयमा खुशियाली छाएको छ । बागमती प्रदेश सरकारको २० करोड २० लाख रुपियाँ लागतमा कमलामाई नगरपालिका ९ र १० लाई जोड्ने गरी अहिले कमला नदीमा पक्की पुल निर्माण भई सञ्चालनमा आएपछि स्थानीय उत्साहित भएको वडा नं. १० का पूर्व वडाअध्यक्ष रामहरि ढुङ्गेल बताउनुहुन्छ । उहाँले भन्नुभयो, ‘‘पुल निर्माण सम्पन्न भई सञ्चालनमा आएको एक वर्ष हुन लाग्यो । स्थानीयलाई धेरै सहज भएको छ ।’’