• १४ पुस २०८१, आइतबार

महिलालाई बोल्ने शैली सिकाइँदै

blog

खोक्लिङमा सञ्चालित तालिमका सहभागीलगायत । तस्बिर : चन्द्र पन्दाक

चन्द्र पन्दाक
ताप्लेजुङ, चैत २१ गते ।
ताप्लेजुङमा महिलाहरुको नेतृत्व विकास गर्न बोल्ने शैली सिकाउन थालिएको छ । बोल्नसक्ने क्षमता र शैली नभएकै कारण महिलाको नेतृत्व विकास हुन नसकेको भन्दै बोल्ने शैली सिकाउन थालिएको हो ।

जिल्लाको मिक्वाखोला गाउँपालिका, फुङ्लिङ नगरपालिकासहितका स्थानीय तहमा महिलाहरुलाई बोल्ने शैली सिकाउन थालिएको छ । स्थानीय तहअन्तर्गत महिला तथा बालबालिका शाखा र वडा कार्यालयहरुले उद्घोषण तथा भाषणकलासम्बन्धी तालिम आयोजना गरेर स्थानीय महिलालाई बोल्ने शैली सिकाइँदै आएको हो ।

स्थानीय महिलालाई बोल्ने शैली सिकाउने उद्देश्यले मिक्वाखोला गाउँपालिका–२ खोक्लिङमा पाँच दिने उद्घोषण तथा भाषणकला तालिम सञ्चालन गरिएको छ । उक्त तालिममार्फत ५० जना स्थानीय महिलालाई बोल्ने शैली अर्थात् भाषणकला सिकाएको वडाध्यक्ष झरेन्द्रप्रसाद थापाले जानकारी दिनुभयो ।

तालिमले माहिलाको बोल्ने शैली साथै क्षमता वृद्धि गराएको र महिला नेतृत्व विकासमा सहयोग पुग्ने अपेक्षा राखिएको वडाध्यक्ष थापाले बताउनुभयो । गाउँपालिकाको आर्थिक सहयोगमा खोक्लिङको सगरमाथा महिला विकास समितिले आयोजना गरेको पाँच दिने तालिममा पत्रकार खगेन्द्र अधिकारीले सहजीकरण गर्नुभएको थियो ।

यस्तै, सदरमुकाम अवस्थित फुङ्लिङ नगपालिकामा पनि विभिन्न वडाका महिलालाई पनि उद्घोषण तथा भाषणकला तालिम आयोजना गरी बोल्ने शैली सिकाउन सुरु गरिएको छ । महिलाको नेतृत्व विकासमा सहयोग पु र्‍य ाउने उद्देश्यले राखेर वडा–वडामा तालिम आयोजना गरी महिलालाई बोल्न सिकाउँदै आएको फुङ्लिङ नगरपालिकाकी महिला विकास निरीक्षक सीता गुरुङले जानकारी दिनुभयो ।

उहाँका अनुसार फुङ्लिङ नगरपालिका–२ र ५ मा तालिम सञ्चालन गरिसकिएको छ । अन्य वडामा पनि महिलालाई बोल्न शैली सिकाउने गरी तालिम सञ्चालनको तयारी रहेको उहाँले जानकारी दिनुभयो । तालिमको सहजीकरण सञ्चारकर्मी एलिना दियालीलगायतले गर्नुभएको थियो ।