रेखीराम राना
तानसेन, चैत २१ गते । वीरगञ्जस्थित कृषि औजार कारखाना सञ्चालन गर्ने उद्देश्यसहित पुस्तक बिक्री अभियान लिएर डा. महावीर पुन पाल्पा आइपुग्नुभएको छ । पुनले जिल्लाको रामपुर, हुँगी, रम्भालगायतका स्थानमा पुस्तक बिक्री गरेपछि उहाँ मङ्गलबार बेलुकी तानसेन आइपुग्नुभएको हो । पुनले बुधबार तानसेनको विभिन्न स्थान तथा कार्यालयहरूमा पुस्तक बिक्री गर्ने योजना रहेको बताउनुभएको छ ।
कृषि औजार कारखाना सञ्चालनका लागि भनेर आफूले देशभर पुस्तक बिक्री गर्ने अभियान सञ्चालन गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘मेरो अभियान मेरो लागि नभएर देशका लागि हो, पुस्तक बेचेर मैले एक रुपियाँ पनि लिन्न सबै पैसा कृषि कारखाना सञ्चालनमा खर्च हुन्छ ।’’
जीर्ण बनेको कृषि औजार कारखाना सञ्चालनले देशलाई कृषि औजारमा आत्मनिर्भर बनाउने उहाँको भनाइ छ । कारखाना सञ्चालनका लागि आर्थिक अभाव भएपछि आफूले पुस्तक बिक्री गर्ने अभियानको थालनी गरेको उहाँले बताउनुभयो ।
पाल्पाको रामपुरमा चार सय बढी पुस्तक बिक्री भएको र तानसेनलगायतका स्थानमा गरी एक हजार पुस्तक बिक्री गर्ने लक्ष्य रहेको डा. पुनले बताउनुभयो । हालसम्म पुनको पुस्तक ८० हजार बढी थान बिक्री भइसकेको बताइएको छ । अभियानमा जिल्लाका विभिन्न सङ्घसंस्था, स्थानीय बासिन्दा, पुस्तक पढ्न रुचि राख्ने व्यक्तिले साथ दिएका छन् । पुनको बारेमा जान्ने मन लागेर निस्वार्थ भावले पुस्तक खरिद गरेको अभियानमा सहभागी तानसेनका स्थानीय बासिन्दा गमबहादुर थापाले बताउनुभयो ।