• १९ पुस २०८१, शुक्रबार

‘संविधानको प्रगतिशील कार्यान्वयनलाई जोड गरौँ’

blog

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ‘नेपाली विशेषताको समाजवाद’ विषयक अन्तरक्रियालाई मङ्गलबार सम्बोधन गर्नुहुँदै । तस्बिर : प्रधानमन्त्रीको सचिवालय

काठमाडौं, चैत २० गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान संविधानको  प्रगतिशील कार्यान्वयनका लागि आपसी एकतालाई सुदृढ गर्दै अगाडि बढ्नुपर्ने बताउनुभएको छ । 

‘नेपाली विशेषताको समाजवाद’ विषयक अन्तरक्रियालाई मङ्गलबार सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष ‘प्रचण्ड’ले नेपालका समाजवादी, देशभक्त र राष्ट्रवादीहरू एक ठाउँमा केन्द्रित हुने हो भने समाजवादलाई तीव्र गतिमा अगाडि बढाउन सकिने विश्वास व्यक्त गर्नुभयो ।


“नेपाल यस्तो परिस्थितिमा छ, यहाँका समाजवादी एवम् देशभक्त र राष्ट्रवादीहरू एक ठाउँमा केन्द्रित हुने हो भने समाजवादलाई तीव्र गतिमा अगाडि बढाउन सकिन्छ । यस्तो सम्भावना भएको देश नेपाल नै हो,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “त्यसकारण यही विषयलाई आत्मसात् गरेर मैले केही जोखिम र चुनौती मोलेरै भएपनि देशभक्त वामपन्थीहरूलाई एकतामा ल्याउने जमर्को गरेकै हो ।”

समाजवादको जन्म कहाँबाट हुन्छ ? भन्ने तर्क आउने गरेको उल्लेख गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “अन्ततः समाजवाद जन्मने भनेको सडकबाटै हो, किनकि जनता सडकमा हुन्छन् । पहिलो प्राथमिकता सडकले नै पाउनुपर्छ । समाजवाद जन्माउने जनताले हो ।”


पार्टीहरू जनतासँग जोडिए मात्रै शक्तिशाली हुने उल्लेख गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले समाजवादको तयारीका लागि सरकार, सदन र सडकलाई अधिकतम उपयोग गर्नुपर्ने तर्क गर्नुभयो । उहाँले हरेक राजनीतिक दलले जनतालाई केन्द्रमा राख्नुपर्नेमा जोड दिनुभयो ।

यसपटक सुशासन, समृद्धि र सामाजिक न्यायका पक्षमा अगाडि बढ्ने जमर्को गरेको उल्लेख गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले पुरानो गठबन्धनबाट जनताको आकाङ्क्षाअनुसार काम हुन नसकेकाले समाजवादको आधार तयार गर्न नयाँ समीकरण बनाएको स्पष्ट पार्नुभयो ।

नेपालको राष्ट्रिय स्वाधीनतालाई सुदृढ गर्ने उद्देश्यका साथ समाजवादको आधार तयार गर्न आफूले पछिल्लो कदम चालेको स्पष्ट पार्नुहुँदै प्रधानमन्त्री प्रचण्डले जनतालाई डेलिभरी दिनेगरी काम गरेर यसको औचित्य पुष्टि गर्नुपर्ने बाउनुभयो ।