• १४ पुस २०८१, आइतबार

गर्मीसँगै खर्बुजाको व्यापार

blog

गाईघाट (उदयपुर), चैत २० गते । गर्मी बढेसँगै केही दिनदेखि यता उदयपुरको सदरमुकाम गाईघाट बजार क्षेत्रमा खर्बुजाको व्यापार तथा कारोबार बढेको छ । गर्मीको कारण दैनिक खर्बुजा किन्ने ग्राहक बढेसँगै यसको कारोबारमा वृद्धि भएको व्यापारी बताउँछन् ।

चैत महिना लागेसँगै खर्बुजाको व्यापार सुरु गरेका गाईघाटका सुरेश सहनीका अनुसार अहिले दैनिक चार हजारदेखि बढीको खर्बुजाको बिक्री हुने गरेको छ । गाईघाट बजार पिपलचौकमा खर्बुजाका व्यापारी लोकेन्द्र मण्डलले दैनिक तीन हजारभन्दा बढीको खर्बुजा बिक्री गरिरहेको बताउनुभयो । चितवन, झापा तथा सुनसरीको दक्षिणी भागबाट खर्बुजा खरिद गरेर ल्याई गाईघाटमा बिक्री गर्ने गरेको उहाँले बताउनुभयो ।

चैतदेखि जेठसम्म खर्बुजाको राम्रो कारोबार तथा व्यापार हुने गरेको छ । प्रतिकिलो रू. ४० देखि ६० सम्ममा खरिद गरेर ल्याई गाईघाटमा न्यूनतम रू. ८० देखि एक सय २० सम्ममा बिक्री गर्ने गरेको व्यापारीहरु बताउँछन् । गर्मी बढ्दै जान थालेपछि टाढाबाट आवतजावत गर्ने यात्रु र स्थानीयवासीले खर्बुजा खाने गरेका छन् । रासस