• १४ पुस २०८१, आइतबार

बागमतीमा एमालेबाट चार जना मन्त्री बन्दै, नेकपा एसको असन्तुष्टि

blog

राममणि दाहाल

हेटौँडा, चैत २० गते। बागमती प्रदेशमा एकै दिन दोस्राे पटक मन्त्रिपरिषद् विस्तारको तयारी गरिएको छ। सत्ता गठबन्धनमा रहेको नेकपा (एमाले) बाट  मङ्गलबार चार जना मन्त्री थपिने भएका हुन्। 

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको सिफारिसमा एमालेबाट चार जना मन्त्री नियुक्त गरेर शपथ गराउने तयारी गरिएको छ। 

नेकपा (माओवादी केन्द्र)मा मुख्य सचेतक रत्नप्रसाद ढकालले एमालेबाट मन्त्री नियुक्त गरी मङ्गलबार नै शपथ गराउने तयारी भएको जानकारी दिनुभयो। 

एमालेबाट केशवप्रसाद पोखरेल, रामेश्वर श्रेष्ठ, एकालाल श्रेष्ठ र प्रकाश श्रेष्ठलाई मुख्यमन्त्री जम्कट्टेलले मन्त्रीमा नियुक्त गर्ने तयारी गर्नुभएको हो। 

एमालेका केशवप्रसाद पोखरेललाई वन तथा वातावरण मन्त्रालय, रामेश्वर श्रेष्ठलाई स्वास्थ्य मन्त्रालय, एकलाल श्रेष्ठ खानेपानी, ऊर्जा तथा सिंचाइ मन्त्रालय र प्रकाश श्रेष्ठलाई उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयको जिम्मेवारी दिइने भएको छ।

एकीकृत समाजवादीको असन्तुष्टि

दोस्राे पटक हुन लागेको मन्त्रिपरिषद् विस्तारप्रति सत्ता गठबन्धनमा रहेको नेकपा (एकीकृत समाजवादी)ले असन्तुष्टि जनाएको छ।

बिहान मात्र मुख्यमन्त्री जम्कट्टेलको सिफारिसमा बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले एस प्रदेश सभा सदस्य रमा आलेमगरलाई मन्त्रीमा नियुक्त गरी मन्त्रिपरिषद् विस्तार गर्नुभएको थियो। मन्त्रालय पछि तोक्ने गरी आलेमगरलाई बिना विभागीय मन्त्रीमा नियुक्ति गरिएको थियो।

एकीकृत समाजवादीका बागमती प्रदेश संसदीय दलका नेता कृष्णप्रसाद शर्मा खनालले बिहान मन्त्रालय नतोकी आफ्नो पार्टीबाट मन्त्रीमा नियुक्ति र शपथ गराउने दिउँसो मन्त्रालय तोकेर मन्त्री परिषद् विस्तार गर्न लागेको भन्दै आपत्ति जनाउनुभएको छ।

एमालेका चार मन्त्री थपिएसँगै १२ सदस्यीय मन्त्रिपरिषदमा मन्त्रीको सङ्ख्या १३ पुग्ने भएको छ। नयाँ बनेको सत्ता गठबन्धनबिच भागबण्डा नमिल्दा एक जना बिना विभागीय मन्त्रीसहित १३ जना मन्त्री बन्न लागेका हुन्। 

सत्ता समीकरण परिवर्तन भएसँगै यसअघि चैत १५ गते हाम्रो नेपाली पार्टीबाट दलका नेता शैलेन्द्रमान बज्राचार्यलाई संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय र चैत १७ गते एमाले संसदीय दलका नेता जगन्नाथ थपलियालाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी दिइएको छ। 

नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फागुन २३ गते फिर्ता लिएपछि  सरकार अल्पमतमा परेपछि मुख्यमन्त्री जम्कट्टेलले सोमबार मात्र प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्नुभएको थियो।