काठमाडौं, चैत २० गते । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री हितबहादुर तामाङले नेपाल वायुसेवा निगम भित्रको आर्थिक अनियमितता, भ्रष्टाचार र पक्षपात अन्त्य गर्न मन्त्रालय दृढ रहेको बताउनुभएको छ । मङ्गलबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले सोधेका प्रश्नको जवाफ दिने क्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
मन्त्री तामाङले निगम सम्बन्धमा मन्त्रालयले चाल्ने हरेक कदम पारदर्शी र राष्ट्रिय हितमा केन्द्रित हुने समेत बताउनुभयो । बैठकमा सांसद प्रेम सुवालले निगमको व्यवस्थापन करारबारे प्रश्न गर्नुभएको थियो ।
मन्त्री तामाङले निगम सार्वजनिक र नेपाली जनताको सरोकारको संस्था भएकाले त्यस सम्बन्धमा निर्णय गर्दा सरकारले व्यापक छलफल गरेर अघि बढ्ने बताउनु भयो । उहाँले निगमको सारभूत परिवर्तनका लागि नागरिक उड्डयनको क्षेत्रमा प्रचलित असल अभ्यास प्रयोग गरेर अघि बढ्न सरकारले चाहेको बताउनुभयो ।
‘‘नेपाल वायुसेवा निगमको संस्थागत सुधार, व्यावसायिक विकासमार्फत नेपालको हवाई यातायातको क्षेत्रमा योगदानसहित पर्यटन क्षेत्रको प्रवर्द्धनमा उल्लेखनीय योगदान पुर्याउने गरी मन्त्रालयले सुधारको पहलकदमी लिँदै गरेको छ । विभिन्न सुधारका समितिहरू गठन गरी सुझाव प्राप्त गर्दै कार्यान्वयनमा लगिरहेको छ । निगम भित्रको आर्थिक अनियमितता, भ्रष्टाचार र पक्षपात अन्त्य गर्न मन्त्रालय दृढ रहेको छ ।,’’ मन्त्री तामाङले भन्नुभयो, ‘‘व्यवस्थापन करार भनेको बिक्री होइन, मन्त्रालय निगमको सारभूत परिवर्तनका लागि नागरिक उड्डयनको क्षेत्रमा प्रचलित असल अभ्यास प्रयोग गरेर अघि बढ्न चाहेको र निर्णयमा पुग्नु अघि व्यापक छलफल हुने नै छ । निगम सार्वजनिक संस्था र सबै नेपाली जनताको विषय रहेकाले निगम सम्बन्धमा मन्त्रालयबाट चालिने कदम पारदर्शी र राष्ट्रिय हित केन्द्रित हुनेछ ।’’
मन्त्री तामाङले निगमका सम्बन्धमा लिने कुनैपनि निर्णय ढाकछोप गर्नुपर्ने कुनै कारण नरहेको स्पष्टीकरण पनि दिनुभयो ।