शेरबहादुर राई
ओखलढुङ्गा, चैत १९ गते । राष्ट्रिय गानका सर्जक व्याकुल माइला (प्रदीप कुमार राई) को नामबाट स्थापना गरिएको व्याकुल माइला प्रतिष्ठानको काम अधुरो छ । मानेभञ्ज्याङ गाउँपालिका–६ हिलेपानीस्थित व्याकुल माइलाको घरलाई प्रतिष्ठानको रूपमा विकास गर्न करिब दुई वर्ष अघि देखी काम सुरु भएको थियो ।
माइलाको घरलाई प्रतिष्ठानको नाममा रजिस्ट्रेसन पास गरेर प्रबलीकरण र घर आसपासमा कम्पाउन्ड गारो लगाएर बाँकी काम अधुरो छोडिएको छ । घरको बाहिरभित्र प्लाष्टर, रङ्ग रोगन गर्ने, घर बाहिर सम्म्याउने काम अझै बाँकी रहेको वडा अध्यक्ष हेमराज राईले बताउनुभयो । यसका साथै व्याकुल माइलाको परिकल्पना अनुसार आगन्तुकहरूलाई चेमेना गृह, पाहुना घर लगायतको संरचना निर्माण हुन बाँकी रहेको वडा अध्यक्ष राईको भनाइ छ ।
“घर प्रबलीकरण मात्र गरिएको छ, बाहिर भित्र प्लाष्टर, रंगरोगन, भित्र आवश्यक पर्ने फर्निचर लगायत सम्पूर्ण सामग्रीहरूको व्यवस्थापन पनि भएको छैन ।” वडा अध्यक्ष राईले भन्नुभयो, “अझै धेरै काम गर्न बाँकी छ ।” करिब एक वर्षअघि पर्यटन वन तथा वातावरण मन्त्रालय कोशी प्रदेश अन्तर्गत पर्यटन विकास आयोजना मार्फत १९ लाख ४० हजार र बाँकी उपभोक्ता समितिले व्यहोर्नेगरि २२ लाख ६१ हजार ८८६ रुपियाँ ३९ पैसामा व्याकुल माइलाले प्रतिष्ठानलाई दिनुभएको घर प्रबलीकरण गरिएको थियो ।
यसका साथै भौतिक पूर्वाधार विकास मन्त्रालय सहरी विकास तथा भवन कार्यालय कोशी प्रदेश ओखलढुङ्गाले घर वरिपरि कम्पाउन्ड गर्न करिब एक वर्षअघि ठेक्का लगाएको थियो । एसएम कन्स्ट्रक्सन एण्ड मल्टीसप्लायर्स प्रा.ली मार्फत भ्याट सहित २५ लाख २१ हजार ७५५ रुपियाँ २७ पैसामा कम्पाउण्डको गारो लगाउने काम भएको छ । कतैबाट बजेट नआएको, बजेट अभावकै कारण प्रतिष्ठानको बाँकी काम सम्पन्न नभएको वडा अध्यक्ष राईले बताउनुभयो ।
प्रतिष्ठानमा व्याकुल माइलाले बाल्यकालदेखि हालसम्म प्रयोग गर्नुभएका सामग्री तथा उहाँको जीवनसँग जोडिएका अन्य विभिन्न विषय वस्तुहरू प्रतिष्ठानमा अध्ययन अवलोकनका लागि राखिने छ ।