• २२ वैशाख २०८१, शनिबार

भिटोफको नयाँ नेतृत्व चयन

blog

गोरखापत्रका नायब कार्यकारी सम्पादक केपी गौतमलाई सम्मानित गरिँदै ।

काठमाडौं, चैत १८ गते । नेपालका ग्रामीण क्षेत्रमा पर्यटक भित्र्याउन र घरबास (होमस्टे) प्रवर्धन गर्न क्रियाशील पर्यटन व्यवसायीहरुको संस्था गाउँ पर्यटन प्रवर्धन मञ्च (भिटोफ)को बाह्रौं अधिवेशनले आगामी कार्यकालका लागि सर्वसम्मत नेतृत्व चयन गरेको छ । 

शनिबार यहाँ सम्पन्न मञ्चको २५ औं वार्षिक साधारण सभा तथा १२ औं अधिवेशनले शकुन्तला देवकोटाको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति बनाएको हो । यसपटक अधिवेशन आयोजक अध्यक्ष गोपाल थापाको सक्रियतामा महिलाको नेतृत्वमा सर्वसम्मत नेतृत्व चयन भएको हो । 

मञ्चको प्रथम उपाध्यक्षमा हरिशरण थपलिया र  मनहरि दाहाल, महासचिव चोपेन्द्रबहादुर खड्का, सचिव विनोद वस्ती, कोषाध्यक्ष रघुनाथ पौडेल र सहकोषाध्यक्षमा नवराज तिवारी निर्वाचित हुनुभएको छ । यसैगरी, सदस्यहरुमा रामेश्वर चौधरी, सृष्टि भण्डारी, प्रज्ज्वल अर्याल र सागर आचार्य निर्वाचित हुनुभएको छ । 


अधिवेशनको उद्घाटन गर्दै राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले अन्यत्र कृत्रिम ठाउँ हेर्न पर्यटकको लाम लाग्ने गर्दा नेपालको प्राकृतिक, धार्मिक र सांस्कृतिक सम्पदाको अथाह पर्यटन सम्भावनाबाट पनि लाभ लिन नसकिएको उल्लेख गर्नुभयो । 

उहाँले अब यहाँको पर्यटकीय वातावरण, सुरक्षा र सुविधाप्रति पर्यटकलाई विश्वस्त पार्ने अन्तर्राष्ट्रिय सन्देश प्रवाह गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । 

पर्यटन क्षेत्रका नीतिगत समस्या हटाएर प्रवर्धन गर्दा युवाको विदेश पलायन रोक्ने रोजगारी सिर्जना हुने उहाँले बताउनुभयो ।  

यसैगरी, पूर्व संस्कृति, पर्यटन  तथा नागरिक उड्डयन मन्त्री टेकबहादुर बस्नेतले भिटोफले शहरमा केन्द्रित पर्यटनलाई गाउँगाउँमा पुर्‍याउनुका साथै घरघरमा पर्यटकीय चेतना विस्तार गरेको प्रशंसा गर्नुभयो । 

कार्यक्रममा व्यवसायीका तर्फबाट विभिन्न कर र भ्याटका महँगो शुल्कका कारण बाह्य टिकमेकी भारत र चीनबाट पर्यटक नेपालमा तान्न समस्या परिरहेकाले सरकारले यो समस्या हटाउनुपर्ने विचार व्यक्त गरिएको थियो । 

कार्यक्रममा प्रमु अतिथि दाहाललगायतबाट भिटोफबाट प्रकाशित एवं भिटोफका प्रमुख सल्लाहकार प्राडा. प्रेम शर्माद्वारा सम्पादित ‘गाउँ पर्यटन’ पुस्तक सामूहिक विमोचन गरिएको थियो । 

गोरखापत्रका गौतम सम्मानित 

अधिवेशनका अवसरमा गाउँ पर्यटन पत्रकारिता पुरस्कारसहित छापामाध्यमतर्फ गोरखापत्रका नायब कार्यकारी सम्पादक केपी गौतमलाई सम्मानित गरिएको थियो ।

यसैगरी, अनलाइनतर्फ फुर्वा शेर्पा, टेलिभिजनतर्फ एभिन्युजका कुमारप्रसाद चौलागाई, फोटोतर्फ जनार्दन अर्याल एवं सुरेन्द्रभक्त प्रधानाङ्ग उत्कृष्ट गाउँ पर्यटन पत्रकारिता पुरस्कारबाट सनराइज नेपालका सम्पादक देवी पन्तलाई पुरस्कृत गरियो । भिटोफले यसवर्षको उत्कृष्ट सामुदायिक घरबास पुरस्कार उदयपुरको त्रियुगा नपा १३ स्थित बहेडवा सामुदायिक थारु होमस्टेलाई प्रदान गरियो ।