• ५ जेठ २०८१, शनिबार

त्रिशूली दुर्घटनाको शोकमा गोरखा : एकै परिवारका पाँच जनाको मृत्यु, एक बेपत्ता

blog

त्रिशूलीमा भएको दुर्घटनास्थल ।

गुणबहादुर रोका 

सुलीकोट, चैत १७ गते। गोरखा नगरपालिका-७ पौवाखेत गाउँ नै शोकमग्न भएको छ। शुक्रबार ४० वर्षीय शङ्कर रोकाको काठमाडौँमा असामयिक निधन भएपछि दाहसंस्कार गरेर रोका परिवार र उहाँका आफन्त तीन वटा गाडी लिएर गोरखातर्फ जाँदै थियो। 

तीन गाडीमध्ये गोरखामा दुई वटा गाडी पैवाखेत पुग्दा समेत एउटा गाडी नआएपछि पटकपटक फोन गर्दा पनि फोन नलागेपछि मुग्लिङ प्रहरीलाई खबर गरेको थियो ।

प्रहरीलाई सम्पर्क गर्दा गाडी दुर्घटना भएको खबर पाएपछि आफन्त पीडामा परेका थिए। जुन गाडी दुर्घटना भयो, त्यही गाडीमा बाबुको दाहसंस्कार गर्ने छोरा, हजुरआमा, फुपू दिदी रहेकाले आफन्त रुन थाले। नभन्दै हुने हार दैव नटार भने जस्तै गाडीमा सवार पाँच जनाको त्रिशूली नदीमा सब भेटिएको र एक जना बेपत्ता भएको खबरले आफन्त र सिङ्गो गाउँ नै अन्धकार बन्न पुग्यो।

गोरखा नगरपालिका-७ का वडा अध्यक्ष विष्णुप्रसाद श्रेष्ठले भन्नुभयो, ‘एकै घर परिवारमा पाँच जनाको ट्याक्सी दुर्घटनामा मृत्यु हुँदा परिवार आफन्त निराश र कोही बोल्न सक्ने अवस्थामा छैनन्।’ 

शनिबार दाहसंस्कार गरेर राति नै काठमाडौँबाट गोरखातर्फ आउँदै गरेको बा २ ज ४१९६ नम्बरको ट्याक्सी बिहान ५ बजे चितवनको मुग्लिङ नजिक सिमलधारामा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको  थियो।  

मृत्यु हुनेमा ७० वर्षीया जुनकिरी रोका, ४१ वर्षीया जेठी छोरी हरिमाया रोका उपरकोटी, २८ वर्षीया कान्छी छोरी अन्जना रोका, ९ वर्षीय आगमन उपरकोटी, ज्वाइँ तथा चालक ३५ वर्षका अर्जुन सिर्मल छन्। १८ वर्षका विवश रोका बेपत्ता छन् । सबै मृतक एकै घर परिवारका आमा, छोरी, नाति, नातिनी र ज्वाइँ हुन्। 

मृतक जुनकिरी रोकाको छोराको मृत्यु भएपछि आफन्तसहित सपरिवार गोरखा जान निस्किएका थिए। हिन्दु संस्कार अनुसार दाहसंस्कार गरेर परिवार गोरखा जान हिँडेका थिए। 

त्यसको केही समयपछि प्रहरीले ट्याक्सी दुर्घटनामा परेको र ६ जनाको मृत्यु भएको पुष्टि गरेको थियो। त्यस घटनापछि अहिले पौवाखेतमा सन्नाटा छाएको छ।