• १३ पुस २०८१, शनिबार

ओत संरक्षणमा जुट्दै कर्णाली नदीमा आश्रित समुदाय

blog

कर्णाली नदीमा पाईने ओत ।

चाँदनी आचार्य

घोडाघोडी (कैलाली), चैत १७ गते । बर्दियाको राजापुर नगरपालिका वडा नम्बर ३ की पार्वती थारुको घर वरिपरि रहेको दुईकट्टा जमिन यतीखेर लौका, काँक्रा, करेलालगायत तरकारी फुलेर लटरम्म फल्दै गरेको देखिन्छ । 

तरकारी खेती गर्नुपूर्व अधिकांश समय कर्णाली नदीमा माछा मारेर बिताउने पार्वती तरकारी खेतीतर्फ लागेपछि माछामार्न छोडेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “पहिला माछा धेरै मार्न जान्थे, ओदको बारेमा तालिमबाट थाहा पाए, ओतको आहारा माछा रहेछ, तरकारी खेती तर्फ लागेपछि माछा मार्ने फूर्सदनै भएन, अब तरकारी खेतीलाई निरन्तर अगाडी बढाउँछु ।”

सोही ठेगानाका अर्का दुखुनी थारुको दैनिकी स्थानीय स्रोत साधनबाट ढकीया,हड्केस, चिसा चकटी बनाउनमै बित्छ । अधिकांश समय माछामार्न कर्णाली नदीमा बिताउने दुखुनीले हस्तकला बाट सामान बनाएर विक्री गर्न थालेपछि आम्दानीपनि हुन थालेको छ । दुखुनी भन्नुहुन्छ, “१५ दिनको तालिमबाट पहिला देखि सिकेको सिपलाई विभिन्न डिजाइन बनाउन सिके, हड्केसको र चिया चकटीको राम्रो माग छ, एउटा हड्केस चारसयमा विक्री हुन्छ ।” 

दुखुनीले अगाडी थप्नुभयो “पहिला हप्तामा पाँज दिन माछा मार्न जान्थे, माछा खाने, खाएर बचेको बेच्ने गरिन्थ्यो, अहिले हस्तकला सामान बनाउन थालेपछि माछा मार्ने फुर्सदै हुँदैन ।” यता गेरुवा गाउँपालिका वडा नम्बर २ का भागीराम थारुको पुर्ख्यौली पेसा कर्णाली नदीमा बालुवा छानेर सुन निकाल्ने र माछा मार्ने हो ।  

पछिल्लो समय उहाँ सामुदायिक नदी सहव्यवस्थापन समूहमा आबद्ध भई कर्णाली नदीको अनुगमनमा खटिनु भएको छ । पाँचजनाको समूहमा कर्णाली नदीमा भेटिनु भएका भागीरामले ओदको महत्त्व बुझेपछि कर्णाली नदी सरसफाइ र  ओत रेखदेखमा कर्णाली नदी अनुगमनमा आएको बताउनुभयो ।  भागीरामले भन्नुभयो“ ओतले मानिसलाई हानी गर्दैन, उसलाई पनि  बाँच्न दिनुपर्‍यो, आफू पनि बाँच्नु पर्‍यो । ”

हातमा छाता दूरबिन बोकेको उहाँको समूहमा २५ जना सदस्य हुनुहुन्छ । आलोपालो गरेर नदी अनुगमन गर्ने गरेको समूहका अर्का सदस्य कोपिला थारुले बताउनुभयो । आई.यु.सि.एनको रातो सूचीमा रहेको ओत (थारु भाषामा उदुवा) संरक्षणका लागि कर्णाली नदीका आसपासका स्थानीयको जीविकोपार्जन शैली फेरिँदै छ । 

कैलाली र बर्दिया जिल्लाका कर्णाली नदी आसपासका टिकापुर, राजापुर,लम्कीचुहा,भजनी नगरपालिका र जानकी, गेरुवा गाउँपालिकाका कर्णाली नदीमा आश्रित ३७५ घरपरिवार पछिल्लो समय विभिन्न समूहमा आबद्ध भएर तरकारी खेती, हस्तकला उत्पादन र व्यवसाय सञ्चालनमा जोडिएका हुन् ।

सन् २०२४ देखि “कर्णाली नदीमा ओत (उदुवा) संरक्षणका लागि समुदायको जिविको पार्जन तथा अभिभावकत्व सबलीकरण परियोजना” समुदायस्तरमा सञ्चालन भइरहेको छ । उक्त परियोजनाले नदीमा आश्रित समुदायको जीविकोपार्जनमा सहयोगी भूमिका खेल्ने गेरुवा गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष कर्मप्रसाद चाैधरीले बताउनुभयो ।

सन् २०२६ सम्म नदीमा आश्रित सोनाहा, थारु समुदायलाई परिवर्तनको सिद्धान्तमा जोड दिँदै क्षमता अभिवृद्धिको साथै जीविकोपार्जनमा विश्व वन्यजन्तु कोष र नेपाल सरकारको सहयोगमा सोनाहा विकास समाज, मुक्त कमैया महिला विकास मञ्च, डल्फिन संरक्षण केन्द्रले ओत संरक्षणका लागि समुदायस्तरमा काम गर्न थालेको जनाइएको छ ।

विश्व वन्यजन्तु कोषका प्रतिनिधि आशिष् कपालीले विश्वमा १३ प्रजाति, एसियामा पाँच प्रजाति र नेपालमा तीन प्रजातिको ओद रहेको जानकारी दिनुभयो । नेपालमा खैरो र कालो ओत पाइने भएपनि कर्णाली नदीमा खैरो ओत पाइने गरेको जनाउँदै कपालीले परियोजनाको मुख्य उद्देश्य ओत संरक्षण रहेको बताउनुभयो । 

उहाँले ओत स्तनधारी मांसाहारी प्राणी रहेको र माछा भएको ठाउँमा ओतको वासस्थान भएकोले ओतको संरक्षणका लागि उसको आहारामा कमी हुन नदिन नदीमा आश्रित समुदायको  अन्य जीविकोपार्जनमा जोड दिएको बताउनुभयो ।

संरक्षणकर्मी विजय श्रेष्ठले पारिस्थितिक प्रणालीलाई सन्तुलनमा राख्न ओतको संरक्षणका लागि कर्णाली नदीमा माछामार्ने कार्य, नदीजन्य पर्दा उत्खनन्, फोहर व्यवस्थापन चुनौती रहेको बताउनुभयो । 

ओतको संरक्षणका लागि बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएको पूर्वि भँगालो गेरुवा नदी र पश्चिम भँगालो कर्णाली नदीमा आश्रित सोनाहा र थारु समुदायलाई १५ वटा समूह बनाई ओतको संरक्षणका विषयमा सचेतना जगाउनुका साथै क्षमता अभिवृद्धि, आयआर्जनका तालिम दिई जीविकोपार्जनमा सहयोग गरेको सोनाहा विकास मञ्चका कार्यक्रम निर्देशक रत्न के.सी.ले जानकारी दिनुभयो । 

त्यसक्षेत्रमा करिब १२ सय भन्दा बढी सङ्ख्यामा सोनाहा समुदायको बसोबास रहेको जनाइएको छ ।पश्चिममा कर्णाली कोरिडोर र पूर्वमा बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रलाई ओतको पारिस्थितिक कोरिडोरको रूपमा रहेको विश्व वन्यजन्तु कोषले जनाएको छ ।