• १३ साउन २०८१, आइतबार

बागमतीमा मन्त्री परिषद् विस्तार हुँदै

blog

नेकपा एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया । तस्बिरः राममणि दाहाल

राममणि दाहाल

हेटौँडा, चैत १७ गते । बागमती प्रदेश सरकार विस्तारको तयारी गरिएको छ । मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बागमती प्रदेश सभाबाट विश्वासको मत लिन तयारी गर्दै गर्दा शनिबार मन्त्री परिषद् विस्तारको तयारी गर्नुभएको हो । 

मुख्यमन्त्री जम्कट्टेलले नेकपा एमालेका संसदीय दलका नेता जगन्नाथ थपलियालाई मन्त्री नियुक्त गरेर मन्त्री परिषद्को विस्तार गर्दै हुनुहुन्छ । नेकपा माओवादी केन्द्रका मुख्य सचेतक रत्नप्रसाद ढकालले एमालेले सरकारमा सहभागी बन्ने जनाएकोले मन्त्री परिषद् विस्तार गर्न लागेको जानकारी दिनुभयो । मुख्यमन्त्री जम्कट्टेलले काठमाडौँमा हुनुभएकोले फर्किएर आएपछि साँझ ६ः३० बजे एमाले नेता थपलियालाई मन्त्री पदको शपथ गराउने तयारी गरिएको छ ।

प्रदेश सभाको दोस्रो कार्यकालमा दोस्रो पटक मन्त्री बन्न लाग्नुभएका थपलियाले आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी पाउनु हुनेभएको छ । नेपाली कांग्रेसले दिएको समर्थन फिर्ता लिएपछि अल्पमतमा पर्नुभएका मुख्यमन्त्री जम्कट्टेलले दोस्रो पटक मन्त्री परिषद् विस्तारको तयारी गर्नुभएको हो ।

यसअघि बिहीबार मुख्यमन्त्री जम्कट्टेलले हाम्रो नेपाली पार्टी संसदीय दलका नेता शैलेन्द्रमान बज्राचार्यलाई मन्त्रीमा नियुक्त गर्दै परिषद् विस्तार गर्नुभएको थियो । विश्वासको मतका लागि सङ्ख्या जुटाउन लाग्दै आउनुभएका मुख्यमन्त्री जम्कट्टेल नेतृत्वको सरकारमा बज्राचार्य मन्त्री बनेसँगै नयाँ बनेको समीकरणका लागि विश्वासको मतका लागि बहुमत पुग्ने छ ।

मुख्यमन्त्री दाबी गर्दै आउनुभएका बज्राचार्य मन्त्री बनेसँगै दुई जना प्रदेश सभा सदस्य रहेको हाम्रो नेपाली पार्टीमा विवाद सिर्जना भएको छ । हाम्रो नेपाली पार्टीले चैत १३ गते मात्र सरकारलाई दिएको विश्वासको मत फिर्ता लिएको पत्र प्रदेश प्रमुखको कार्यालय र प्रदेश सभामा पठाएको थियो ।