• १३ फागुन २०८१, मङ्गलबार

'आँखामा मधुपर्क र मनमा बन्दीपुर'

बन्दीपुरको सौन्दर्यमा कविहरू रमाउँदै

blog

 अमरराज नहर्की

तनहुँ, फागुन १३ गते । पहाडकी रानी उपनामले प्रख्याती कमाएको बन्दीपुरको सुन्दरता देखेर साहित्यकारहरू दङ्ग परेका छन् । गोरखापत्र संस्थान र पदमा पुस्तकालयको सयुक्त आयोजनमा बन्दीपुर गरिएको साहित्य सम्मेलनमा पुगेर अधिकांश साहित्यकारहरूले सौन्दर्यका बारेम तुरुन्त कविता लेखेर सुनाए । संसारभर लाखौं  पर्यटकीय स्थलहरू भए पनि बन्दीपुर रोजाइमा परेको गोरखाका कवि नारायणप्रसाद पोख्रेलले प्यारो छ बन्दीपुर शीर्षकमा उल्लेख गर्नुभयो । पोख्रेलले  यस्तो कविता सुनाउनुभयो–

सल्लेरी टुँडिखेलको चहुर वा गुल्जार रानी–वन

मला शैल हिमाल माल मलिला अहलाद पार्ने मन

हेरौँ सिद्धगुफा विचित्र नमुना यो शैलाको काखमा 

छिम्कालेक समीप उच्च चुचुरो रोजाई छ नौ लाखमा ।

कवि पोख्रेलले जस्तै अन्य अधिकांश कविले बन्दीपुरको सौर्न्दयको कविता तथा गीत सुनाउनु भएको थियो । हुम्लादेखि आउनु भएका कवि डबल महताले सम्मेलनमा बन्दीपुर यति सुन्दर छ भन्ने कुरा कल्पना पनि नगरेको बताउनुभयो  । गण्डकी वाङ्मय प्रतिष्ठान तनहुँको निर्वतमान अध्यक्ष तथा गीतकार सागर उदासले संसारै रोजाइमा बन्दीपुर परेको बताउनुभयो । गीतकार उदासले यस्तो

मुक्तक सुनाउनुभयो–

प्रकृति र सम्पदाको खानी बन्दीपुर

तनहुँको मियो अनि मानी बन्दीपुर

संसारको रोजाइमा परेको छ अहिले 

रानीमध्ये पहाडको रानी बन्दीपुर ।

सम्मेलनको वरिष्ठ कवि द्ववारिकालाल श्रेष्ठले उद्घाटन गर्नुभयोे । सो अवसरमा कवि श्रेष्ठले सम्मेलनले बन्दीपुरको विकास र प्रचारका लागि सम्मेलनले टेवा पुग्ने बताउनुभयो ।  बन्दीपुर सामाजिक विकास समितिका अध्यक्ष चिजकुमार अकेला, डा.मदन पिया, पर्यटन व्यावसायी सन्तकुमार श्रेष्ठ र लेखक नमस्तेलाल भूमिलगायतको बन्दीपुरको प्रचार प्रसार गरी पर्यटकीय स्थलको विकास गरेको उल्लेख गर्दै आफ्नो ठाउँको विकास आफैँले गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरेको स्मरण गर्नुभयो । 


सम्मेलनको अवसरमा बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाले यस सम्मेलनले बन्दीपुर पर्यटन व्यवसाय थप उचाइमा पुग्ने बताउनु भयो । बन्दीपुरको पर्यटन प्रकृतिले दिएको भौगोलिक विविधता र संस्कृतिलाई जोगाउँदै विविधयुक्त बन्दीपुर बनाउने अभियान गाउँपालिकाले थालेको बताउनुभयो । आफूलाई मन परेको स्रष्टाहरू प्रत्यक्ष भेट्न पाउँदा खुसी लागेको उल्लेख गर्दै बन्दीपुरको बारेमा लेख्न आग्रह गर्नुभयो । 


गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीले गोरखापत्र संस्थानले नेपाली पत्रकारिता र साहित्यको विकासमा ठुलो योगदान दिएको स्मरण गर्नुभयो । नेपालको पत्रकारिताको पाठशाला गोरखापत्र दैनिक रहेको र मधुपर्क रचना छापिएपछि साहित्यकारले आफू साहित्यकार भएको महसुस गरेको सम्मेलनमा सुन्न पाउँदा खुसी लागेको बताउनुभयो । 

नेपाली साहित्यको सिङ्गो इतिहास मधुपर्कले बोकेको र मधुपर्क भनेको साहित्यको एसएलसीजस्तो भएको बताउनु भयो । मधुपर्क प्रत्रिकाप्रति सम्मान र स्नेह पाउँदा उत्साह जागेको सुवेदीले बताउनुभयो। साथै उहाँले मधुपर्कले आगामी अङ्कमा बन्दीपुर विशेषाङ्क प्रकाशित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

गोरखापत्र संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीले रचना प्रकाशन गरेर मात्रै हुँदैन र स्रष्टा र ठाउँलाई जोड्न तथा समाजको चेतनास्तर उकास्ने उद्देश्यले सम्मेलन गरिएको बताउनुभयो । 

गोरखापत्र दैनिकका प्रधान सम्पादक शिवकुमार भट्टराईले देशभरिका सर्जकहरू भेला भएर सुन्ने अवसरले गर्दा आफ्नो क्षमता सुधार गर्न र साहित्य सिर्जना गर्न थप उत्साह प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो । 

वरिष्ठ गजलकार ज्ञानुवाकर पौडेलले मधुपर्कका रचना प्रकाशित भएपछि साहित्यिक यात्रा अघि बढेको बताउनुभयो । कार्यक्रममा दि राइजिङ नेपालका प्रधान सम्पादक भीमसेन थपलियाको उपस्थिति रहेको थियो । 

मधुपर्कका सम्पादक त्रिभुवनचन्द्र वाग्लेले बन्दीपुरलाई साहित्यको माध्यमबाट देश विदेशमा परिचय गराउन टेवा पुग्ने बताउनुभयो । साथै उहाँले साहित्य र पर्यटनलाई एक अर्काको परिपुरक भएकाले बन्दीपुरमा कार्यक्रम गरिएको बताउनुभयो । 


साहित्यकार सम्मेलनका संयोजक तथा बन्दीपुरस्थित पदम पुस्तकालय अध्यक्ष सुर्दशन प्रधानले देशैभरिका साहित्यकारहरू यसको सौन्दर्यको बारेमा लेखून भन्ने चाहना राखेर सम्मेलनको आयोजना गरिएको बताउनुभयो।

साहित्यकारले लेखेपछि बन्दीपुरमा थप पर्यटक भित्रिने अपेक्षा गरिएको प्रधान बताउनुहुन्छ । प्राकृतिक, सामाजिक र सांस्कृतिक, मौलिक र विविधता बन्दीपुरलाई आँखाले देखेर, कुरा सुनेर र अध्ययन गरेर साहित्य रचना होस् भनेर सम्मेलन गरिएको पदमा पुस्तकालयका संरक्षक डा.नमस्तेलाल भूमि श्रेष्ठले जानकारी दिनुभयो।


राजा महेन्द्र बन्दीपुरको सौन्दर्यबाट मोहित भएर गीत लेखेको स्मरण गर्दै उहाँले साहित्यले ठाउँ चिनाउन ठुलो महत्त्व दिने बताउनुभयो । राजा महेन्द्रले ठाउँ विशेषको बारेमा बन्दीपुर र रारातालको सौन्दर्यको मात्रै गीत लेखेको उल्लेख गर्दै श्रेष्ठले भन्नुभयो, ‘‘कथा, गीत, कविता, निबन्धलगायतमा बन्दीपुरको बारेमा लेखियोस् भनेर सम्मेलन गरेका हौं ।’’ 

बन्दीपुरको पर्यटन प्रवर्धनका लागि उत्कृष्ट रचनालाई मधुपर्कमा छापिने आयोजकले जनाएको छ । मधुपर्कले ‘आँखामा मधुपर्क र मनमा बन्दीपुर’ नाम विशेषाङ्क प्रकाशित हुनेछ । 


साहित्यकार सम्मेलनको प्रायोजक बन्दीपुर गाउँपालिका र सहप्रायोजक कुन्ती स्मृति प्रतिष्ठान रहेको छ । सहयोगी संस्थाहरू क्षेत्रीय होटल सङ्घ बन्दीपुर, तनहुँ उद्योग वाणिज्य सङ्घ बन्दीपुर बजार एकाइ, रेवान तनहुँ, बन्दीपुर पर्यटन विकास समिति, प्राकृतिक पर्यावरण संरक्षण मञ्च छन् । 

कार्यक्रममा बन्दीपुरस्थित पदमा पुस्तकालय स्थापनामा मद्दत गर्ने तथा पूर्व शिक्षकहरूलाई सम्मान गरिएको थियो । फागुन १२ देखि १४ गतेसम्म गरी गरिएको तीन दिने सम्मेलनले बन्दीपुर भ्रमण वर्ष–२०२५ मा पर्यटक थप वृद्धि हुने अपेक्षा आयोजकको छ ।

हातैले छोएजस्तो लाग्ने हिमशृङ्खलाहरू, दक्षिण एसियाकै ठुलो सिद्ध गुफा, भक्तपुरे शैलीमा निर्माण गरिएको घरहरू, टुँडिखेल, थानीमाई, तीनधारा, रानीवन, रामकोट, सुनखरी, खड्कदेवी मन्दिर, विन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर, प्याराग्लाइडिङ, चट्टाङ्ग आरोहण यहाँ आउने पर्यटकका आकर्षणका केन्द्रविन्दु हुन् ।