काठमाडौँ, फागुन १३ गते । १४औँ दक्षिण एसियाली खेलकुद (साग) सन् २०२६ को जनावरी २३ देखि ३१ सम्म आयोजना हुने भएको छ ।
दक्षिण एसियाली ओलम्पिक काउन्सिलको पाकिस्तानमा मङ्गलबार बसेको बैठकले साग आयोजना गर्ने निर्णय गरेको हो । बैठकमा सातवटै देशका ओलम्पिक परिषद्का अध्यक्षहरुको सहभागिता रहेको थियो । भारतले अनलाइनमार्फत सहभागिता जनाएको थियो ।
यसअघि नै पाकिस्तानमा आयोजना हुने तय भएको साग पाकिस्तानको लाहोर, इस्लामावाद र फैसलावादमा हुने निर्णय बैठकले गरेको छ ।
यसअघि १३औँ संस्करण सन् २०१९ मा नेपालमा भएको थियो । दुई दुई वर्षमा हुनेपर्ने यस प्रतियोगिता सन् २०२१ मा हुनुपर्ने थियो । तर, कोभिड–१९ र विभिन्न कारणले साग सर्दैआएको थियो ।
पाकिस्तानको लाहोरमा भएको बैठकको अध्यक्षता सागका अध्यक्ष खालिद महमूदले गर्नुभएको थियो । बैठकमा नेपालको प्रतिनिधित्व नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठले गर्नुभएको थियो ।
बैठकले सागको मिति घोषणासहित दुई खेल थप्ने निर्णय पनि गरेको छ । यसअघि प्रतियोगितामा २७ खेल हुने तय भइसकेको थियो । आयोजक देशको हिसावले पाकिस्तानले दुई खेल थप्न लागेको हो ।
तर, चारभन्दा कम राष्ट्रले सहभागिता जनाएमा त्यो खेल हटाइने भएको छ । खेलको विस्तृत विवरण टुङ्ग्याउनका लागि अर्को बैठक मार्च २०२५ मा आयोजना गरिनेछ।