तिमी फूल हौ । साँच्चै फूल हौ, तिम्रो पहिचान नै फूल । यस अर्थमा तिमी फूलको अलावा अरू केही होइनौ । कदाचित, तिमीले आफूलाई काँडा हुँ भन्यौ भने पनि म तिमीलाई फूल नै भन्छु । काँडाका रूपमा देख्न सक्तिनँ, काँडा भनेर सम्बोधन गर्न सक्तिनँ ।
भन्ने त्यही नै होइन र, जो देखिन्छ ! हो, दृष्टिकोण फरक हुन सक्छ, हेराइ अलग हुन सक्छ तर यसको अर्थ यो कदापि होइन कि हेर्नेले आफ्नो दृष्टिकोण बनाएर हेर्दा यथार्थ नै बदलियोस् ! वास्तवमा सत्य त त्यही हो, जो देखिन्छ ।
तिमी फूल हौ । तिमी फूल– वासना आउँछौ । चारैतिर मगमगाउँछौ । तिमी फूल हौ । र, अरूले जस्तै तिमीले पनि जे देख्छौ सत्य त्यही हो । तिमी फूल भएकैले तिम्रा आँखा फूलका हुन् । तिमी फूलको हेराइ हेर्छौ । सायद यही हेराइका कारण तिमी सबैलाई फूल देख्दै छौ । यतिसम्म कि तिमी काँडालाई पनि फूल नै देख्दै छौ ।
ओहो कति ठुलो भ्रम ! काँडालाई तिमी फूल भन्दै छौ । के तिमीले काँडालाई साँच्चै फूल नै देखेका हौ ? देखेरै भनेको कि यत्तिकै भनिदिएको ? कि जिस्किएर भनिदिएको ? जिस्केकै मात्र हो भने पनि यो जिस्काइको ढङ्ग गलत छ । कदाचित, गम्भीर भएर भनेको हौ भने तिमी ठुलो गल्ती गर्दै छौ । एक किसिमको अपराध नै गर्दै छौ ।
सेतो रङलाई कालो भन्नु र कालो रङलाई सेतो भन्नुजत्तिकै हो यो–काँडालाई फूल भन्नु । सम्पूर्ण रूपमा अनर्थ बोल्दै छौ तिमी । वास्तविक अस्तित्वलाई भत्काउन खोज्दै छौ तिमी । कसैको पहिचानलाई मेट्न खोज्दै छौ । चाहे कोही विरूप किन नहोस्, चाहे विकलाङ्ग किन नहोस्, उसको आफ्नो अस्तित्व हुन्छ, उसको आफ्नै नाम हुन्छ, पहिचान हुन्छ ।
तिमी फूल हौ । तिम्रो आफ्नै नाम छ । हो, तिम्रो जस्तै काँडाको पनि आफ्नै नाम छ । ढुङ्गाको पनि आफ्नै नाम छ । माटोको पनि आफ्नै नाम छ । नाम सबैको आआफ्नै छ । कसैले कसैको नाम बदलिदिँदैमा उसको पहिचान मासिन सक्तैन । जस्तो कि कसैले कुनै इतिहास मेट्न खोज्छ तर उसलाई के थाहा कि इतिहासको महल भत्काएर कहाँ भत्किन्छ ? भग्नावशेषभित्रै पनि इतिहासको जग गाडिएको हुन्छ । कुनै पनि वस्तुको आफ्नै अस्तित्व छ । अर्थात् त्यो अस्तित्वसँग उसको इतिहास पनि जोडिएको हुन्छ । जसरी तिम्रो नाम छ– फूल । तिम्रो आफ्नो अस्तित्व छ, इतिहास छ ।
तिमी फूल हौ । यो बेग्लै कुरो हो, तिमी फूलकै संसारमा रमाउँछौ तर अरूको पनि त छ संसार ! के अरू आफ्नो संसारमा रमाउँदैनन् र ? खास गरेर तिमी काँडालाई पनि जो फूल देख्दै छौ, त्यो काँडाको आफ्नै अलग्गै संसार छ, ऊ त्यसैमा रमाउँछ । तिमी जसरी आफ्नो संसारमा रमाउँछौ, काँडा पनि त उसको संसारमा रमाइरहेको छ । तिमी काँडाको संसारलाई आफ्नो जस्तै फूलको संसारका रूपमा देखेर उसको खुसीलाई किन बिथोल्छौ ? किन उसको मौलिक संसारमा हस्तक्षेप गर्छौ हँ ?
यो सत्य हो, काँडाले घोच्छ । घोच्नु उसको प्राकृत धर्म हो । त्यसैले आफू जस्तै काँडाहरू नै उसका लागि सर्वप्रिय छन् । काँडाहरू अरूलाई घोच्छन्, रमाउँछन् । आफूलाई अर्को काँडाले घोच्दा पनि त्यत्तिकै रमाउँछ । किनकि घोच्नु–घोचिनुमै काँडाको संसार सीमित छ । त्यसैले तिम्रा आँखाले काँडालाई तिम्रो आफ्नै रूपमा देख्नुको कुनै औचित्य नै छैन ।
तिमी फूल हौ ।
तर ऊ काँडा हो । तिमी र उसमा रात र दिनजत्तिकै फरक छ । ज्यादै फरक छ, आकाश–जमिनजत्तिकै फरक छ । के सोच्छौ तिमी ? तिम्रो मान्यतामा त काँडाले पनि दुनियाँलाई काँडाकै रूपमा देख्नु पर्छ, हैन ? के यो सम्भव छ ? तिम्रो धारणा अनुसार काँडाले पनि सबैलाई काँडा नै देख्ने हो भने दुनियाँका मानिस एकआपसमा घोची घोची मर्थे होलान्, मार्थे होलान् तर यसो नभएकैले दुनियाँ छ, चलिरहेकै छ ।
कहीँ काँडा छ त कहीँ फूल छ । काँडा नभएको भए फूल कहाँ हुन्थ्यो ? फूूल नभएको भए काँडा कहाँ हुन्थ्यो ? फूलको बेग्लै संसार छ । काँडाको बेग्लै संसार छ । बेग्लै बेग्लै सबैको आआफ्नै संसार भएकैले दुनियाँ चलेको छ, पृथ्वी घुमेको छ । कदाचित संसारमा सबै एउटै वस्तु मात्रै भइदिने हो भने त्यो संसार कस्तो हुन्थ्यो होला ?
तिमी फूल हौ । तिमीले सोचे जस्तै संसारमा जताततै फूलैफूल, फूलका अलावा केही नभइदिने हो भने संसार कति रमाइलो हुन्थ्यो होला ? तर म भन्छु– कतै असाध्यै बिरसिलो पो हुन्थ्यो कि ! यता हेर, फूल उता हेर, फूल । दायाँ हेर, फूल । बायाँ हेर, फूल । ओहो, रङ–रङका फूल ! बास्नैवासनाका फूल ! र, सबै सधैँ फूलैफूल देख्दा देख्दा दिक्क भइन्थ्यो होला, वाक्क लाग्थ्यो होला । राम्रा लाग्ने फूलहरू बिस्तारै विरूप, रङहीन, वासनाविहीन लाग्न थाल्थे होलान् ।
वास्तवमा कसैलाई राम्रो देखिनका लागि तुलनात्मक रूपले अर्को नराम्रो वस्तुको उपस्थिति अनिवार्य हुन्छ । यस अर्थमा अर्को कुनै सुन्दरताविहीन वस्तु फूलको सामु भइदिए मात्रै त्यो फूलको सुन्दरता खुल्छ र सहजै फूलको बखान गाउन सकिन्छ । अन्यथा दाँजिने केही नभएपछि फूल एक्लैको सुन्दरताको के अर्थ ? त्यसो त, फूल स्वाभाविक रूपमा सुन्दर नै हुन्छ । फरक के मात्रै हो भने फूलको विविधता अनुरूप मान्छेको दृष्टिकोणमा फूलको सुन्दरता भर पर्छ । कोही गुलाफलाई मन पराउलान्, कोही सयपत्रीलाई । कसैलाई लाहुरेफूल प्रिय लाग्ला, कसैलाई सुनगाभा, मखमली या कमल । अर्कोतर्फ रूप–बनावटको हिसाबले भन्दा वासनाको हिसाबले पनि फूललाई मन पराइन्छ । जस्तो कि– कसैलाई चमेलीको वासना मन पर्ला, कसैलाई पारिजातको वासना । फेरि, तिनका वासना मन नपराउने पनि होलान्, तिनलाई अन्य फूलको रूप मन परे पनि वासना चाहिँ रजनीगन्धा वा कनकनचम्पाको मन पर्ला ।
तिमी फूल हौ । समष्टिमा तिम्रो कुनै न कुनै रूप वा वासनाले मान्छेलाई आकर्षित गर्छ नै । अर्थात् तिमी फूल हुनुका कारण नै तिमीलाई मान्छेले मन पराएका हुन् । यस अर्थमा पनि तिम्रो परिचय ‘फूल’ को अलावा अर्को हुन सक्तैन ।
तिमी फूल ! म मान्छे ! मान्छेको आँखाले म तिमीलाई मान्छे भन्दिनँ, फूलै भन्छु । फूलबाहेक तिमीलाई अर्को उपाधि दिन्नँ । तिमी फूल ! तिमीलाई ‘फूल’ को सम्बोधन नै असाध्य सुहाएको छ । तिमी पनि तिम्रा आँखाले जे देख्छौ त्यही
भन ! फूललाई फूल देख्छौ, फूल नै भन ! तर आफूलाई नढाँट, काँडालाई काँडा नै भन ! फूल नभन !!