• ८ मंसिर २०८१, शनिबार

नेपालगन्ज उर्दु साहित्यको उर्वर भूमि

blog

नेपालगन्जका उर्दु साहित्यकार । तस्बिर : सिराज खान

सिराज खान 

नेपालगन्ज, चैत १७ गते । सांस्कृतिक सहरका रूपमा समेत परिचित नेपालगन्जमा उर्दु साहित्यिक गतिविधि निरन्तर हुने गरेका छन् । यहाँका साहित्यकारले भने उर्दु साहित्यलाई प्राथमिकतामा नराखेको गुनासो व्यक्त गरेका छन् । 

यो सहरले उर्दुका गजल घन्किने र मुसायराहरू निरन्तर गुञ्जिने स्थानका रूपमा चिनारी दिँदै आएको छ । यहाँका मानव बस्ती र उर्दु साहित्यको इतिहास केलाउँदा वर्षौंदेखि उर्दु साहित्यको एक राम्रो उर्वर स्थान मानिन्छ । यद्यपि उर्दु साहित्यको विकास राज्यको प्राथमिकतामा नपरेको गुनासो यहाँका उर्दुभाषी कवि र गजलकारको रहँदै आएको छ । 

हिन्दु, मुस्लिम, सिख र इसाईको साझा सहरका रूपमा परिचित यो ठाउँ सामूहिक संस्कृति र साहित्यका लागि पनि परिचित छ । त्यसैले यहाँ हुने हरेक जसो साहित्यिक गतिविधि र कार्यक्रममा नेपाली भाषाका कविता, गीतसंगै उर्दु भाषाको गजल पनि अनिवार्य सुनिने गरेको छ । उर्दु गजल र सायरीले यहाँका साहित्यिक कार्यक्रमको वातावरण रोमाञ्चक बनाउने गरेको छ । 

गत ५० वर्षदेखि उर्दु साहित्यको विकासका लागि निरन्तर काम गर्दै आएका वरिष्ठ सायर अब्दुल लतिफ सौकले आफूहरूले उर्दु साहित्यलाई जोगाउँदै आए पनि सरकारका तर्फबाट हुनुपर्ने सहयोग नभएको बताउनुभयो । उहाँले उर्दु साहित्यको विकास र निरन्तरताका लागि बाँकेका उर्दु साहित्यकारको साझा सङ्गठन गुल्जार ए अदबले निरन्तर उर्दु मुसायरा र अन्य साहित्यिक गतिविधि सञ्चालन गर्दै आएको छ । 

पाँच दशकदेखि निरन्तर उर्दु साहित्यको जगेर्नाका लागि खटिएकाले नै उर्दु साहित्यप्रति मुस्लिम मात्र नभई अन्यको पनि रुचि बढ्दै गएको गुलजार ए अदबका अध्यक्षसमेत रहनुभएका अब्दुल लतिफ सौकको भनाइ छ । उहाँले केही समयपहिलेसम्म कहिलेकाहीँ मात्रै हुँदै आएको उर्दु साहित्यिक कार्यक्रम अहिले हरेक महिना गरिने बताउनुभयो । 

उर्दु साहित्यको विकासका लागि निरन्तर लागिरहेका अर्का वरिष्ठ सायर सैयद असफाक रसुल हासमीले युवा पुस्तामा उर्दु सायरीप्रति आकर्षण बढ्दै गएको बताउनुभयो । नेपालगन्जमा निरन्तर मुसायराको आयोजना गरिन थालिएपछि अहिले कार्यक्रममा आउनेको सङ्ख्या बढ्दै गएको जानकारी उहाँले दिनुभयो । राज्यको सहयोग नभएका कारण आफूहरूले चाहेर पनि उर्दु साहित्यका किताब प्रकाशित गर्न नसकेको हासमीको भनाइ छ । 

उर्दु साहित्यका लागि अथक प्रयास गर्ने मोहम्मद फारुक, युनुस अदिब, मौलाना खयाली, मोहम्मद उमर असर, उमर फारुकी, नजिर हुसैन साहिललगायतले साहित्य साधना गर्दागर्दै मृत्युवरण गरिसक्नुभएको छ । उहाँहरूको निरन्तर प्रयासले पनि उर्दु साहित्यको संरक्षणमा ठुलो सहयोग पुगेको गुलजार ए अदबका सचिव मोहम्मद मुस्तफा अहसन कुरैसी बताउनुहुन्छ । 

उर्दु साहित्यलाई जीवन्त राख्न साहित्यकारहरू रसिद अहमद, जमिल अहमद हासमी, सरवर नेपाली, बब्बु फारुकी, मेराज अहमद हिमालय, अब्दुल हमिद सिद्दिकी, आरिफ अन्सारीलगायत निरन्तर लाग्नुभएको छ ।  

नेपालगन्ज भारतीय सिमानासंँग जोडिएको र मुस्लिम समुदायको राम्रो बसोबास भएको सहर भएकाले यहाँ उर्दु साहित्यको गतिविधि र कार्यक्रम निरन्तर हुँदै आएको नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वसदस्यसचिव सनतकुमार रेग्मी बताउनुहुन्छ । सद्भावको सहरका रूपमा परिचित बाँके जिल्लामा विभिन्न धर्म, समुदाय र कला संस्कृति मान्नेको बाक्लो बसोबास छ ।