• १५ वैशाख २०८१, शनिबार

‘किसान आन्दोलनको जगमा लोकतन्त्र आएको हो’

blog

अधिवेसनको उद्घाटन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओली ।

विष्णुप्रसाद पोखरेल

दमक, चैत १५ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले प्रजातन्त्र र स्वतन्त्रता आन्दोलनमा झापाको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभएको छ । 

किसान आन्दोलनको सुरुवात यहाँबाट भएको जनाउँदै उहाँले झापा विद्रोह र किसान आन्दोलनको जगमा नै मूलकमा प्रजातन्त्र तथा लोकतन्त्रको आन्दोलन सुरु भएको उहाँको भनाइ छ । झापा जिल्ला बिद्रोहीहरुको जिल्ला भएको उहाँले चर्चा गर्नुभयो । 

बिहीबार एमाले झापाको ११ औँ अधिवेशनको बिर्तामोडमा उद्घाटन गर्दै ओलीले अहिले पनि आन्दोलनका कतिपय अगुवाहरू जीवितै रहेको स्मरण गर्नुभयो । झापा आन्दोलनले देशलाई राजनीतिक र परिवर्तनको बाटो देखाएको छ, अध्यक्ष ओलीले भन्नुभयो । शक्तिसँग नझुक्ने बनाएको छ, उहाँको भनाइ छ । कम्यूनिष्ट आन्दोलनको क्रममा ऊ बेला पनि धेरै महिला भूमिगत बसेको इतिहास जोडिएको जिल्ला झापा भएको उहाँले जनाउनुभयो ।

झापा विद्रोह तथा त्यसपछि आफूले र आफूले नेतृत्व गरेको पार्टीले खेलेको भूमिका तथा राखेको दृष्टिकोणको विषयमा जोकोहीसँग पनि खुला बहस गर्न तयार रहेको बताउनुभयो । पार्टीले लिएको अडान, राखेका बिचारका विषयमा म यहाँसँग खुला रूपमा बहस गर्न तयार रहेको छु, उहाँले भन्नुभयो । 

अध्यक्ष ओलीले झापा जिल्लाको अधिवेशनले ठुलो महत्त्व राख्ने उल्लेख गर्दै यो गम्भीरतालाई बुझेर अघि बढ्न स्थानीय नेता कार्यकर्तालाई निर्देशन दिनुभयो । राष्ट्रियताको विषयमा लिएको अडान र राजनीतिक कदम गलत नरहेको उहाँले दाबी गर्नुभयो । उहाँले आफूले कहिल्यै पनि गलत निर्णय नलिने र जनभावनालाई बुझेर नै अघि बढ्ने प्रतिबद्धता पनि जनाउनुभयो ।

एमाले झापाका अध्यक्ष दीपक कार्कीका अनुसार अधिवेशनमा पालिकाबाट ४३० जना, जनसङ्गठनबाट ८९ जना, मजदुरबाट ३० जना, सल्लाहकार २५ जना, सम्पर्क मञ्चबाट ५ जना र आयोजक १६९ जना, मनोनीत प्रतिनिधि ३८ जनागरी ७८६ जनाको सहभागिता छ ।  

आगामी अध्यक्षका लागि वर्तमान उपाध्यक्ष प्रेम गिरी र सचिव शिव ढुङ्गेल आकाङ्क्षी रहनुभएको छ । पार्टी अध्यक्ष ओलीले सर्वसम्मत रूपमा अध्यक्ष चयन गर्न पहल गर्न निर्देशन दिनुभएको पार्टीका एक जिल्ला सदस्यले बताउनुभयो । सहमति नभए निर्वाचन प्रक्रियामा जाने पनि तयारी छ ।