• १५ वैशाख २०८१, शनिबार

यान्त्रिक भौतिकवादविरुद्धको सङ्घर्ष

blog

मार्क्सवादी लेखक एवं चिन्तक गोपीरमण उपाध्यायले आफ्ना दार्शनिक रचनाको सारांशको संकेन्द्रित कृतिका रूपमा प्रकाशित गोष्ठीपत्र प्रकाशन आफैँमा मौलिक ग्रन्थ हो । विगतका गोष्ठीहरूको परम्पराभन्दा मौलिक ढाँचाको यस विचार मन्थनले दर्शनको गुरुत्व, विकासक्रम र वर्गीय पक्षधरताका दृष्टिले समेत महत्वपूर्ण अर्थ राख्छ । 

दार्शनिक विचार गोष्ठीपत्रमा मूलभूत रूपमा तीन महत्वपूर्ण सामग्री समाविष्ट छन्, पहिलो– आधारपत्रका रूपमा आजका प्रगतिशील बुद्धिजीवीको कर्तव्य, दोस्रो– अध्यात्मवादी दर्शन र भौतिकवादी दर्शनको अन्तर्वस्तु विषयक अवधारणापत्र र तेस्रो– गोष्ठीपत्रमाथि विद्वान्हरूले प्रस्तुत गर्नुभएका पूरक विचार वा टिप्पणी । यद्यपि अवधारणापत्रका रूपमा परिभाषित गरिए पनि दर्शनबोध र दृष्टिकोण निर्माणका दृष्टिले कृति सङ्क्षिप्त तर गहन ग्रन्थ देखिन्छ । 

कृतिमा कमरेड पुष्पलालको आजका प्रगतिशील बुद्धिजीवीको कर्तव्य आधारपत्र सारगर्भित र वैज्ञानिक भौतिकवादी विश्वदृष्टिकोणले लैस देखिन्छ । त्यसमा मुख्यतः “सामाजिक श्रमभन्दा बाहिर सामाजिक बुद्धिको कुनै पनि अस्तित्व छैन” भन्ने निष्कर्ष गुरुत्वपूर्ण छ । “आधुनिकताको अर्थ उपभोक्तावाद होइन, नित्य प्रगतिको प्रवर्तक हुनु नै आधुनिकताको पक्षपोषण गर्नु हो” भन्ने निष्कर्षले आधुनिकता कुनै काल, अवधि नभएर प्रगतिशील दृष्टिकोण भएको सारांश प्रस्तुत गर्छ । कृतिमा बुद्धि श्रमको सन्तान भएकाले श्रमका निम्ति नै बुद्धिको प्रयोग हुनुपर्ने निष्कर्षले समग्र पुस्तकको सार खिच्छ ।

गोपीरमण उपाध्यायद्वारा प्रस्तुत गोष्ठीपत्रमा मूलतः १० उपशीर्षक रहेका छन्; जसमा १. केही विषय आरम्भमा, २. अध्यात्मवाद दर्शन हो पद्धति मात्र होइन, ३. हरेक दार्शनिक विचार प्रणालीको भौतिक आधार हुनै पर्छ, ४. समाज विकासक्रमको परिचय, ५. मिथ्या चेतनाका केही बान्कीहरू, ६. जुन वर्गको हातमा विचारसत्ता उसैको विचारसत्ता, ७. मानवीय श्रम प्रक्रिया, ८. भौतिकवाद क्रान्तिकारी दर्शन बन्न पुग्यो, ९. दार्शनिक तर्कहरूबाट मात्र अध्यात्मवादको खण्डन हुँदैन र १०. केही विषय अन्त्यमा रहेका छन् ।

कृतिमा ‘पुँजीवादको दार्शनिक विचार यान्त्रिक भौतिकवाद हो, जसमा केही मात्रामा एकेश्वरवादको अंश पनि रहेको हुन्छ’ भन्ने वाक्यांश पर्न गएको छ । त्यसले दार्शनिक विकासलाई मूर्त रूपमा अभिव्यक्त गर्न सक्दैन । अर्कोतर्फ यान्त्रिक भौतिकवादी दर्शनको विकास प्रक्रिया र उत्तरआधुनिकतावादी दर्शनबारे सङ्क्षेपमा विश्लेषण जरुरी देख्छु । 

प्रस्तुत अवधारणापत्रमा पुर्पुरो (भाग्यवाद), परमेश्वर (ईश्वर), परलोक (स्वर्ग–नर्क), पुनर्जन्म (भविष्यको जीवन), परम्परा, भूगोल, विद्या विषयक, सृष्टि विषयक, काल निर्धारण, महिला र कथित शूद्रमाथिका उत्पीडनबारे गहन विश्लेषण चिरफार गरिएको छ । यसको साथमा सामाजिक घटनासम्बन्धी मिथ्या चेतनालाई पनि समावेश गर्नु उपर्युक्त हुन सक्छ ।

श्रम विभाजनले नै दार्शनिक क्षेत्रमा दुई विश्वदृष्टिकोण निर्माणको भौतिक आधार खडा गरेको विश्लेषण महत्वपूर्ण छ । मानसिक श्रमले कसरी विचारसत्तामार्फत भौतिक शक्तिमाथि शासन गर्छ भन्ने दृष्टान्त र राम्रो विवेचना कृतिमा भेटिन्छ । जस्तै ः माकुरी र माहुरीको श्रमकार्य एक प्रकारको सहज र स्वतःस्फूर्त श्रमकार्य हो, मानवीय श्रमकार्य निश्चित खालको पूर्वपरिकल्पना योजनामा आधारित भएर निश्चित उद्देश्य प्राप्तिका लागि प्रयोग भएको हुन्छ ।

कृतिमा समाज विकासको क्रममा विकसित भएका प्रतिध्रुवीय धाराबारे पनि विवेचना गरिएको छ । त्यसमाथि पर्याप्त चर्चा र विश्लेषण आवश्यक हुन जान्छ । जस्तै : स्वभाववाद, यदृच्छावाद, कालवाद, कारणवाद, अनीश्वरवाद, अनात्मवाद, सत्कार्यवाद, परमाणुवाद, पुद्गलवाद, अक्रियावाद, अनेकान्तवाद आदि । 

भौतिकवादी दर्शनको इतिहासको परम्परा शक्तिशाली भए पनि कृतिमा त्यसका मुख्यतः दुई कमजोरी औँल्याइएको छ, १. एउटा वंशको शासकको ठाउँमा अर्को वंशको शासक स्थापित गर्नु, २. मानवीय आचार विधि निर्माण गर्न नसक्नु तर मूल कमजोरी वैज्ञानिक भौतिकवादी दर्शनको समष्टिगत विकासको चुनौती नै मान्नु पर्छ ।

भौतिकवादी विचारसत्ताको नेतृत्वका निम्ति भौतिकवादी अर्थराजनीतिक प्रणाली अनविार्य हो भन्ने व्याख्या अत्यन्तै वस्तुवादी छ । दह्रो वैचारिक विश्वासबिना कुनै पनि विषयमा टिकेर काम गर्न सकिँदैन भन्ने गोपी गुरुको निष्कर्षभित्र नेपाली कम्युनिस्ट आन्दोलनका दार्शनिक समस्या संकेन्द्रित हुन सक्छ । वामपन्थी नेताहरूमा भौतिकवादप्रति अरुचि र अध्यात्मवादी दर्शनप्रति अनुराग बढोत्तरी हुनुमा दह्रो वैचारिक विश्वासको अभाव मुख्य छ ।

अवधारणापत्रमाथिका पूरक विचारहरूमा नेपाली कम्युनिस्ट आन्दोलनको शीर्ष नेतृत्व मोहनविक्रम सिंहले गम्भीर दार्शनिक समीक्षा गर्नुभएको छ । जसमा “कुनै साहित्यिक कृति इतिहास हुँदैन । यद्यपि इतिहाससम्बन्धी कैयौँ विषयको त्यसमा समावेश भएको हुन सक्छ । कल्पनाहरू जोडिएकाले साहित्यिक कृति गलत भन्न मिल्दैन । कल्पनाहरू कुनै साहित्यिक कृतिका महत्वपूर्ण अंशहरू हुन् । त्यस्ता साहित्यिक कृतिमा जोडिएका कल्पनालाई साहित्यिक रूपमा नै लिनु पर्छ, ऐतिहासिक प्रमाणका रूपमा होइन ।” यसले साहित्यिक कृतिहरूको अध्ययनसम्बन्धी दृष्टिकोण निर्माणमा महत्वपूर्ण दिशाबोध गर्छ ।

पूरक अवधारणामा मोहन वैद्यले ज्ञानमीमांसाको ज्ञेय र अज्ञेयको दार्शनिक अवधारणा कृतिमा छुट्न गएको सुझाव प्रस्तुत गर्नुभएको छ । अज्ञेयवादी दर्शनको ऐतिहासिक पृष्ठभूमि र विकास क्रमको सङ्क्षिप्त व्याख्याद्वारा परिवर्तनको अनन्त प्रवाह र दार्शनिक विकासलाई थप स्पष्ट गर्न सकिन्छ । कृतिमा पूर्वप्रधानमन्त्री झलनाथ खनालको विवेचना गोपी गुरुद्वारा प्रस्तुत गोष्ठीपत्रको पुनर्पुष्टिमा केन्द्रित देखिन्छ ।

त्यस्तै युवराज ज्ञवालीले कृतिमा प्रकृतिसँग वर्षौं वर्षको सङ्घर्षको क्रममा मानिसले जङ्गलमा लाग्ने आगोको प्रयोग गर्न थालेको निष्कर्ष निकालिएको छ । यसअघि आगोको आविष्कार पदावली हुँदै आएकोमा ज्ञवालीले उठाउनुभएको दृष्टिकोणले मानिस आगोको आविष्कारक नभएर कुशल प्रयोगकर्ताका रूपमा विकसित भएपछि आदिम युगको उत्पादन पद्धतिमा गुणात्मक परिवर्तन ल्याएको निष्कर्ष निस्किन्छ । ज्ञवालीको टिप्पणीमा ज्ञेय/अज्ञेयबारेको प्रस्तुति निकै रोचक र अर्थपूर्ण छ ।

डा. विन्दा पाण्डेको टिप्पणीमा प्रश्न गर्ने संस्कारको विकासले नै दर्शनशास्त्रलाई सही दिशा दिन सकिने निष्कर्ष भेटिन्छ । उहाँको टिप्पणी मूल विषय प्रवेश र विवेचनाभन्दा आलोचनात्मक चेतको विकास र अध्ययन संस्कृतिमा बढी केन्द्रित छ । टिप्पणीमा वैदिक पुराण, ग्रन्थ, उपनिषद् र स्मृतिग्रन्थभन्दा वैदिक दस्ताबेजमा जोड दिनुपर्ने तर्क महत्वपूर्ण हुँदाहुँदै पनि वैदिक दस्ताबेजहरूको प्रामाणिक स्रोत भेट्न सहज भने छैन । टिप्पणीमा धर्म भनेको ‘रेलिजन’ नभएर काम वा कर्तव्य भन्ने तर्कको भौतिकवादी दृष्टिकोणमाथि बहस आवश्यक हुन जान्छ ।

डा. कृष्णराज अधिकारीले अध्यात्मवाद वा आदर्शवाद पदावलीको सट्टा प्रत्ययवाद शब्द बढी उपयुक्त हुने भनी राख्नुभएको मत वैज्ञानिक छ । पहिले आवश्यकताले उत्पादनलाई प्रेरित गथ्र्यो तर अहिले चाहिँ पहिले उत्पादन गरेर आवश्यकताको सिर्जना गरिन्छ भन्ने तथ्य उपभोक्तावादी संस्कृतिको चुनौतीका दृष्टिले ठिकै मान्न सकिएला । अर्थराजनीतिक विश्लेषण सही हुँदैन । किनकि पुँजीवादले आमनागरिकको आवश्यकता होइन, मुनाफालाई केन्द्रमा राख्दछ र अधिक उत्पादन गर्दछ । त्यही अधिक उत्पादनको बजारको खोजी गर्दै जाँदा पुँजीवादले साम्राज्यवाद र भूमण्डलीकृत साम्राज्यवादको रूपधारण गरेको हो । जेरेमी रेफ्किनको शून्य लागतको सिद्धान्त आएपछि नेपालका वामपन्थीहरूमा वैचारिक प्रदूषणको खतरा बढाएको छ । सूचना प्रविधिको विकासले माल उत्पादनको लागत घट्न गई उत्पादक र उपभोक्ताबिचका श्रेणीहरू बिलुप्त हुने र त्यसले पुँजीवादीको औचित्य स्वतः समाप्त हुने तर्क गरिएको छ, जब कि तथ्यहरूले बिलुप्त श्रेणीहरूको अतिरिक्त मूल्य पनि उत्पादकहरूमा नै गाभिएको प्रमाणित गर्दछन् ।

क्वान्टम सिद्धान्तका मूल तीन नियम छन्, १. शक्ति विच्छिन्नताको नियम, २. तरङ्ग–कण द्वैधतताको नियम र ३. अनिश्चितताको नियम । सूर्यको प्रकाश सिधा रेखामा हिँड्दछ भनी निकालिएको निष्कर्षलाई ‘फोटोन’ सम्बन्धी खोजले खण्डित गरिसकेको छ । यही बिन्दुमा उभिएर कतिपय वैज्ञानिक एवं दार्शनिक कण–तरङ्ग द्वैधताको प्रसङ्ग उठाउँदै द्वन्द्वात्मक भौतिकवादका नियमहरूका विरुद्ध उभिएका छन् । 

उनीहरूको तर्क छ, “यसले पदार्थको एकत्व र द्वन्द्वात्मक भौतिकवादलाई खण्डित गर्दछ ।” तर भौतिकवादी चिन्तकहरूबाट यसमाथि पर्याप्त अध्ययन, विवेचना र प्रतिवाद हुन सकेको छैन । यस सन्दर्भमा अणुको इलेक्ट्रोन, प्रोटोन र न्युट्रोनमा विभाजनपछि प्रत्ययवादी दार्शनिक माखलगायतले पदार्थको अस्तित्वमाथि प्रश्न उठाएको र लेनिनले “भौतिकवाद र अनुभवसिद्ध आलोचना’ कृतिद्वारा त्यसको खण्डन गरेको तथ्य स्मरणीय छ ।

सामान्यतः सापेक्षतावादको सिद्धान्तले स्थूल पिण्डहरू र क्वान्टम सिद्धान्तले पदार्थको सूक्ष्म रूपको अध्ययन गर्ने हुनाले क्वान्टमले मात्र समग्र विश्वदृष्टिकोणको प्रतिनिधित्व गर्दैन । विज्ञानको कुनै खास आविष्कारले खास एउटा शाखा वा क्षेत्रको अध्ययन गर्दछ, एउटै आविष्कारले सिङ्गो विश्वको सम्पूर्ण नियमहरूको प्रतिनिधित्व गर्न सक्दैन । यसर्थ विज्ञानले दर्शन विस्थापन गर्न असम्भव छ । 

वैज्ञानिकहरूले विज्ञानको एकीकृत सिद्धान्तको खोजी गरिरहेकाले त्यस्तो सफलता हासिल भएको खण्डमा एकीकृत सिद्धान्तले नै विश्वदृष्टिकोणको प्रतिनिधित्व गर्न सक्छ वा सक्दैन, त्यो अलग बहसको विषय हुन सक्छ । अर्को कुरा विज्ञानका खास कुनै सिद्धान्त र नियमको आविष्कार गर्ने वैज्ञानिकहरू नै प्रत्ययवादको शरणमा पुगेका दृष्टान्तहरूबाट द्वन्द्वात्मक भौतिकवादको औचित्य घट्दैन, थप बढ्न जान्छ ।

आदिम युगमा प्राकृतिक भौतिकवादको प्रभुत्व, मध्ययुगमा धर्मको शासन भए जस्तै आधुनिक युगमा विज्ञानले नेतृत्व गर्ने हुनाले विज्ञानको युगमा दर्शनको अलग्गै अस्तित्व रहँदैन भन्ने तर्क पनि वामपन्थी कित्ताबाटै आएका छन् । हकिङले अन्तिममा दर्शन विज्ञानको बाधक भएर उभिन्छ भन्ने निष्कर्ष निकालेको हवाला दिँदै दर्शनको स्वतन्त्र अस्तित्वमाथि प्रश्न उठाउन थालिएको छ । दर्शन र विज्ञानलाई परस्परविरोधी कित्तामा उभ्याउने चेष्टा देखिन्छ । 

प्रत्ययवादीहरूले विराट मञ्चमार्फत आफ्नो दार्शनिक हस्तक्षेप बढाएका छन्, महायज्ञ, धार्मिक महोत्सव आदि । भौतिकवादीहरू बन्द कोठाभित्र जीवन र जगत्का आमनियममाथि अन्तर्क्रिया गर्छौं । विचारसत्ताको श्रेष्ठता साबित गर्ने प्रसङ्गमा यस तथ्यमाथि पनि ध्यान दिनै पर्छ । तसर्थ वैज्ञानिक भौतिकवादी दर्शनको अनुशिक्षणमा व्यापकता जरुरी छ । उत्तरआधुनिकतावाद उत्तर आधुनिक युगको दर्शन भन्ने तर्क पनि आएको छ । प्राचीन, मध्य र आधुनिककाल सापेक्ष अवधारणा हुन् । अन्तिम अवधारणा होइनन् । आज आधुनिक युग भनिएको समय समय विकासको क्रममा कुनै बेला मध्ययुगका रूपमा गणना हुने छ ।

जर्मन दार्शनिक लुडबिग फायरबाख प्रकृतिका सबै वस्तु र समाजमा पनि स्वतःस्फूर्त शक्ति हुने र मानिसले त्यसमा आश्रित रहेर अनुभूति गर्ने मान्यता राख्दथे । उनले धर्मका विरुद्ध सङ्घर्ष त गरे । त्यसको विकल्प उत्पादक शक्ति र उत्पादन सम्बन्धको सङ्घर्षमा होइन, शिक्षामा खोजे । धर्मको विकल्पमा उनले नयाँ धर्मको मान्यता अघि सारे । इतिहासबोधका सन्दर्भमा उनी अध्यात्मवादी र वस्तुको गतिको नियम बुझ्ने कुरामा अधिभूतवादी थिए । उनी धर्मलाई मानवीय गुणको अन्य क्षेत्रमा सङ्क्रमण देख्दथे । फायरबाख भन्थे, “मान्छे द्विगुणित हुन्छ, ईश्वरमा आफ्नो सारको चिन्तन खोज्दछ ।”

उदयीमान पुँजीपतिवर्गको दर्शन यान्त्रिक भौतिकवाद हो । मध्ययुगीन सामन्तवादी विश्व दृष्टिकोण, ईश्वरमीमांसा र धर्मदर्शनका विरुद्ध सङ्घर्ष गर्ने क्रममा यान्त्रिक भौतिकवादको विकास भएको हो । यान्त्रिक भौतिकवादले पदार्थको गतिलाई एउटै चक्रमा बुझ्दछ । यसले विकासका नियमलाई बर्तुलाकारमा होइन, वृत्ताकारमा बुझ्दछ । यान्त्रिक भौतिकवादका अनुसार हरेक वस्तुहरू एउटै चक्रमा घुमिरहन्छ । यस दार्शनिक पद्धतिका अनुसार वस्तुहरू गतिशील छ । तिनीहरूले गुणात्मक विकासको प्रतिनिधित्व गर्दैनन् । यान्त्रिक भौतिकवाद पुँजीवाद व्यवस्थाको शासकीय पद्धति हो । पुँजीवादमा अन्य पद्धति पनि रहन्छन् । राजनीतिक सत्ता र चिन्तन सत्ताको एकरूपता अनुसार तिनीहरू प्रतिपक्षमा रहन्छन् । 

सामूहिक उत्पादन र निजी स्वामित्वको विरोधाभाषका कारण पुँजीवादले हमेसा सङ्कटको सामना गरिरहेको हुन्छ । मानवीय आवश्यकताका आधारमा नभई अधिक मुनाफाको आकाङ्क्षाद्वारा प्रेरित भई बेहिसाब उत्पादन गर्दै जाँदा पुँजीवाद सङ्टको यस्तो बिन्दुमा आइपुग्छ, त्यही बिन्दुबाट वैज्ञानिक भौतिकवादीहरूले समाजवादी व्रmान्ति पूरा गर्दछन् । पुँजीवादले विद्यमान व्यवस्थामै आंशिक सुधार गरेर आफ्नो सङ्कटको समाधान खोज्दछ । यान्त्रिक भौतिकवादका अनुसार पुँजीवादको विकल्प पुँजीवाद मात्रै हो, प्रगतिशील समाजवादी व्यवस्था होइन । 

मुनाफाका निम्ति बेहिसाब उत्पादन गर्दै जाँदा उत्पादन र आमनागरिकको क्रयशक्तिबिच देखा पर्ने विरोधाभाषले पुँजीवाद सङ्कटमा फस्दछ । उक्त सङ्कट टार्न पुँजीपतिले सञ्चित पुँजीलाई नयाँ नयाँ मेसिनका लागि खर्च गर्छ, उसले ज्यालादारी पुँजी कटौती गर्छ, यसले बेरोजगारी बढाउँछ । यसले एकातिर पुँजी सञ्चय र अर्कोतिर बेरोजगारी बढाउँदै लैजान्छ र अर्थतन्त्र थप असन्तुलित हुन्छ । यसबाट जगेडा मजदुरको जन्म हुन्छ । पुँजीपतिले जगेडा मजदुरलाई देखाएर सक्रिय मजदुरमाथि झन् शोषण गर्छ । 

यसरी मजदुरीमा प्रतिस्पर्धाले मजदुरको ज्यालाको दर झनै घटाइदिन्छ । यस्तो असन्तुलित समाज र बेरोजगारीले विद्रोह जन्माउँछ । पुँजीवादमा उत्पादित वस्तुको समान वितरण हुँदैन । पुँजीवादी प्रतिस्पर्धा कमजोर पुँजीपतिले गर्न सक्दैन । साना पुँजीपतिहरू क्रमशः ओरालो लाग्छन् । प्रतिस्पर्धामा जो टिक्छन्, बजार तिनीहरूकै कब्जामा हुन्छ । 

मेसिनको प्रयोग पुँजीपतिकै लागि ‘गलपासो’ बन्छ । आधुनिक मेसिनको प्रयोगले उद्योगमा कम मजदुरले काम गर्ने हुनाले अतिरिक्त श्रम शोषणको दर पनि कम हुन्छ । यसले नाफाको दर पनि घट्न जान्छ । पुँजी सञ्चितिका कारण नागरिकको क्रयशक्ति घट्न जान्छ । त्यसकारण नागरिकले उत्पादित वस्तु किन्न सक्दैनन् र मालले बजार पाउँदैन । जसले प्रतिस्पर्धात्मक पुँजीवादको पतन गराउँछ र एकाधिकार पुँजीवादको जन्म हुन्छ ।

पुँजीवादी सङ्कटको चक्र सङ्कट, मन्दी, सुधार र उभारको वरिपरि घुमिरहन्छन् । क्रान्तिकारी उत्पादक शक्ति र पिछडिएको पुँजीवादी उत्पादन सम्बन्धबिचको यही सङ्घर्षको दौरानमा नै समाजवादी व्यवस्थाको जन्म हुन्छ । पुँजीवादी दार्शनिक र अर्थशास्त्रीहरू यो वस्तुगत यथार्थ मान्न तयार छैनन् । उनीहरूका अनुसार पुँजीवादको विकल्प पुँजीवाद नै हो, त्यो विभिन्न रूपमा विकसित हुँदै अगाडि बढ्छ । 

पहिलो औद्योगिक क्रान्तिका दौरान देखा परेको औद्योगिक पुँजीवाद, एकाधिकार पुँजीवाद, साम्राज्यवाद, भूमण्डलीकृत साम्राज्यवाद, वित्तीय पुँजीवाद हुँदै भूमण्डलीकृत वित्तीय एकाधिकार पुँजीवादको चरणसम्म आइसकेको छ र पुँजीवादी चिन्तकहरू पुँजीवादको रङ्गरोगनमार्फत वैज्ञानिक समाजवाद रोक्न प्रयास गरिरहेका छन् । तसर्थ यान्त्रिक भौतिकवादी दर्शनका विरुद्धको सङ्घर्षमा सफलता प्राप्त गर्नु नै दार्शनिक दृष्टिले वैज्ञानिक भौतिकवादी दर्शनको शीर्ष कार्यभार हुन जान्छ । 

Author

मनहरि तिमिल्सिना