• १६ वैशाख २०८१, आइतबार

सहकारी प्रकरणमा गृहमन्त्री लामिछानेको संलग्नताको प्रमाण देखिएनः महानिरीक्षक कुँवर

blog

नेपाल प्रहरीका महानिरीक्षक बसन्तबहादुर कुँवर ।

काठमाडौं, चैत १४ गते। नेपाल प्रहरीका महानिरीक्षक बसन्तबहादुर कुँवरले सहकारी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको संलग्नताको आधार प्रमाण नदेखिएको बताउनुभएको छ।

बुधबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै महानिरीक्षक कुँवरले पोखराको सूर्यदर्शन सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछानेको संलग्नताको आधार, प्रमाण नरहेको बताउनुभएको हो।

उहाँले गृहमन्त्री लामिछानेको सम्बन्धमा ठाडो उजुरी आएको र अनुसन्धान गर्दा तथ्य प्रमाण नभेटिएको बताउनुभयो।उहाँले जिबी राईको सम्बन्धमा नेपाल प्रहरी संवेदनशील रहेको र सोही अनुरुप पक्राउ गर्ने प्रक्रियामा लागेको बताउनुभयो।राई मलेसियामा भए पनि नेपाल र मलेसियाका बिचमा सुपुर्दगी सन्धि नभएका कारण नेपाल पठाउन मलेसिया सरकार बाध्य नभएको बताउनुभयो ।

महानिरीक्षक कुँवरले प्रहरीले पक्राउ गरी बयान गराउँदा सांसद विनोद चौधरीको व्यक्तिगत स्वतन्त्रतामा अतिक्रमण हुने ठानेर प्रहरी अतिरिक्त सचेत बन्दै संसदलाई पत्र पठाएको स्पष्ट पार्नुभयो।उहाँले चौधरीमाथि किर्ते प्रकरणमा अनुसन्धान जारी रहेको र सो अनुसन्धान एक वर्षसम्म चल्ने बताउनुभयो ।

महानिरीक्षक कुँवरले पूर्वसभामुख कृष्णबहादुर महराले सुन तस्करी प्रकरणको अनुसन्धानमा नसघाउने देखेर पक्राउ गर्नुपरेको बताउनुभयो।महराले गाडी र पिएसओ समेत छोडेर हिँडेपछि पक्राउ गर्नुपरेको बताउनुभयो।महराको स्वास्थ्य अवस्थाका कारण रिहाइ गरिएको भन्दै उहाँले कुनै दबाब र प्रभावमा नगरिउको बताउनुभयो ।

महानिरीक्षक कुँवरले जीवन चलाउनेले प्रहरीमाथि लगाएको आरोपको सन्दर्भमा सम्बन्धित व्यक्ति पक्राउ नहुँदासम्म सो कुरालाई तथ्यको रुपमा लिन नसकिने बताउनुभयो।