• १३ साउन २०८१, आइतबार

बर्दिबासमा दुर्घटनामा परेर दुई जनाको मृत्यु

blog

सांकेतिक तस्बिर

रवीन्द्र उप्रेती

बर्दिबास, चैत १३ गते। महोत्तरीको छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।  ट्राफिक प्रहरी कार्यालय बर्दिबासका अनुसार लोहारपट्टी नगरपालिका ७ भमरपुरास्थित बलवा जनकपुर भित्री सडकमा मोटरसाइकलले ठक्कर दिँदा सोही ठाउँकी ४५ वर्षीया निर्मलादेवी साहको मृत्यु भएको हो। 

जनकपुरबाट आउँदै गरेको ज ११ प ५७९ नम्बरको मोटरसाइकलले पैदल जाँदै गर्दा साहलाई सोमबार साँझ ठक्कर दिँदा अवस्था गम्भीर भएको थियो। जनकपुरस्थित प्रादेशिक अस्पतालमा भर्ना उहाँको उपचारको क्रममा मङ्गलबार बिहान मृत्यु भएको जिल्ला ट्राफिक प्रमुख रामभक्त भट्टराईले जानकारी दिनुभयो। 

दुर्घटना लगत्तै ट्राफिकले मोटरसाइकल र चालक धनुषा जिल्ला धनौजी गाउँपालिका १ लखौरीका २५ वर्षीय जयशङ्कर राउतलाई नियन्त्रणमा लिएको छ। 

त्यस्तै बर्दिबासबाट होली खेलेर जाँदै गरेका एक जनाको सवारी दुर्घटनामा मृत्यु भएको छ। बर्दिबास २ का ३५ वर्षीय पूर्णबहादुर क्यापछाकीको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको प्रहरीले जनाएको छ।  

बर्दिबासबाट बा ७८ प ५३ नम्बरको मोटरसाइकलमा सवार क्याप्छाकीको वडा नम्बर ५ हात्तीलेटतर्फ जाने क्रममा दुर्घटना भएको थियो। प्रहरीका अनुसार तीव्र गतिका कारण मोटरसाइकल असन्तुलन भएर विद्युत् पोलमा ठोक्किन जाँदा अवस्था गम्भीर भएको थियो। 

उपचारका लागि बर्दिबासस्थित शुभ स्वस्तिक अस्पतालमा पुर्‍याउँदा चिकित्सकले मृत घोषित गरेको बर्दिबास प्रहरीले जनाएको छ।