• २२ वैशाख २०८१, शनिबार

‘नेपालको लेखा प्रणाली विश्वसनीय’

blog

काठमाडौँ, चैत १३ गते । विश्व बैङ्कले नेपालको लेखा प्रणाली उत्कृष्ट रहेको बताएको छ । अर्थमन्त्री वर्षमान पुनसँग सोमबारको भेटका क्रममा विश्व बैङ्ककी उपाध्यक्ष एवं वित्तीय तथा लेखा हेर्ने निर्देशक पामेला ओ कोनेलले नेपालको लेखा प्रणाली विश्वसनीय र व्यवस्थित रहेको बताउनुभएको हो ।  

केही दिनअघि महालेखा परीक्षकको कार्यालय र कोष तथा लेखा नियन्त्रण कार्यालयको भ्रमणका क्रममा नेपालको लेखा प्रणाली धेरै विश्वसनीय र उत्कृष्ट पाएको उहाँको भनाइ थियो । लेखा प्रणालीमा अपनाइएको कागजविहीन प्रणालीले सुशासनका लागि प्रभावकारी काम गर्ने कोनेलको भनाइ थियो । भेटका क्रममा अर्थमन्त्री पुनले १२ वर्षअघि आफू पहिलो पटक अर्थमन्त्री भएका बेला राजस्व र लेखामा कम्प्युटरमा हिसाब राख्ने प्रविधि लागु गरेको बताउनुभएको थियो । त्यस्तै उहाँले परिवर्तित सन्दर्भमा थप प्रविधिमैत्री र सेवाग्राहीमैत्री बनाउने गरी सुधार गर्ने प्रतिबद्धता उल्लेख गर्नुभयो । 

नेपालको खर्च गर्ने क्षमता बढाउनुपर्ने आवश्यकता रहेकाले त्यसका लागि जनशक्ति विकाससहित कार्यशैली सुधारका काम गर्ने कार्ययोजना मन्त्रालयले बनाएको अर्थमन्त्री पुनले जानकारी गराउनुभयो ।

विकास आयोजनाका काम अघि बढाउने सिलसिलामा आउने समस्या समाधानका लागि अन्तरमन्त्रालय समन्वयका काममा पनि वर्तमान सरकार निर्माण भएयता विशेष ध्यान दिँदै आएको उहाँले बताउनुभयो ।