• १६ वैशाख २०८१, आइतबार

महामूर्ख उपाधि सभामुख मण्डललाई

blog

महामुर्ख उपाधिबाट सम्मानित हुँदै प्रदेश सभाका सभामुख रामचन्द्र मण्डल । तस्विरः धर्बेन्द्र झा

धर्बेन्द्र झा

जनकपुरधाम, चैत १२ गते । होलीको अवसर पारी मिथिला नाट्यकला परिषद्ले महामूर्ख सम्मेलनको आयोजना गरी प्रत्येक वर्ष प्रदान गर्दैआएको महामूर्खको उपाधि यस वर्ष मधेश प्रदेश सभाका सभामुख रामचन्द्र मण्डललाई प्रदान गरेको छ । 

राजनीति क्षेत्रमा सक्रिय भएर समाजका लागि गर्नुभएको योगदानको कदर गर्दै उहाँलाई महामूर्ख २०८० को उपाधिले सम्मान गरिएको हो । विभिन्न माध्यमले समाजमा अतुलनीय योगदान गर्ने एक जना व्यक्तिलाई मिनापले होलीको अवसर पारी प्रत्येक वर्ष महामूर्खको उपाधि प्रदान गर्दैआएको छ । 

सोमबार जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोजकुमार साह र मिथिला युवा नाट्यकला परिषद्का अध्यक्ष परमेश झाले संयुक्त रूपमा प्रदेश सभाका  सभामुख मण्डललाई सो सम्मान प्रदान गर्नुभयो । कृषिउपजका बस्तुले तयार पारिएको माला, फूलको माला र उपहार दिएर सम्मान प्रदान गरिएको मिनापका महासचिव शैलेन्द्र मल्लिकले जानकारी दिनुभयो । 

कार्यक्रममा प्रदेश सभाका सभामुख मण्डलले होली हजारौँ वर्षदेखि समाजले मनाउँदै आएको र यसको प्रेम, सदभाव भाइचारा कायम गर्न महत्त्वपूर्ण स्थान रहेको बताउनुभयो । यस प्रकारको सम्मान दिएर मिनापले आफूलाई अझ बढी जिम्मेवार बनाउन खोजेको भन्दै मिथिला संस्कृतिको संरक्षणका लागि आफूबाट हुन सक्ने सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

महामूर्ख सम्मेलनमा समाजको विभिन्न क्षेत्रमा रहेर समाजका लागि दिंदैआएको योगदानको कदर गर्दै मिनापले पटमूर्ख, सिलौटानन्द, टनमुसरी, खेसारीलालजस्ता विभिन्न उपाधिले समाजमा अतुलनीय योगदान दिने विभिन्न व्यक्तिलाई सम्मान गरिएको छ । 

विगत २८ वर्षदेखि आयोजना हुँदैआएको महामूर्ख सम्मेलन यस वर्ष मधेश प्रदेश सरकारको उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालय र जनकपुरधाम उपमहानगरपालिकाको सहयोगमा आयोजना भएको छ । कार्यक्रममा राजनीति र समाजमा देखिएका विकृतिको सम्बन्धमा कविहरूले विभिन्नखालका कविता वाचन गरी सहभागीलाई हँसाएका थिए । मिनापका कलाकारले लोकभाकाका होरी गीतहरू गाएर सहभागीलाई मनोरञ्जन गराएका थिए ।