• १३ साउन २०८१, आइतबार

आज मधेशमा होली मनाइँदै

blog

काठमाडौ,  चैत १२ गते ।  आज तराई क्षेत्रमा होली पर्व मनाइँदैछ । ‘जोगिरा सररर।...’ लगायतका गीतमा नाचगान गर्दै, रङ खेलेर होली मनाउने गरिन्छ । 

सप्तरीका राजनीतिकर्मी शङ्कर झाका अनुसार आज जनकपुरबाहेक मधेसका थुप्रै स्थानमा होली मनाउने गरिएको छ । होली पर्व जनकपुरमा भने मङ्गलबार मनाउने उहाँको भनाइ छ । “मधेशमा होली पर्व विशेष रुपले लिइन्छ”, उहाँले भन्नुभयो । 

होली मनाउने अघिल्लो दिन ‘होलीका’ दोहन गरिन्छ । आज  बिहानै खीर, मालपुवा, दालको पुरी, फलफुल बनाएर कुलपुजा गर्ने चलन छ । त्यस्तै, ठूलाबडाको हातबाट अविर लगाएर होली पर्व मनाउन थालिने मधेशको परम्परा छ । 

झाका अनुसार पहाडमा भन्दा मधेसमा होली केही भिन्न छ । गाउँमा समूह बनाएर होरी गीत गाएर नाचगान गर्ने चलन छ । झा भन्नुहुन्छ, “जोगिरा सररर... बोलको गीत मधेसमा निकै चर्चित छ । 

राधा-कृष्ण र शिव-पार्वतीको प्रेम प्रसङ्गमा गाउने गीत पछिल्लो समय युवा पुस्ताले आफ्नै शैलीमा पस्किन थालेको उहाँले सुनाउनुभयो । संस्कृतिविद् धीरेन्द्र प्रेमर्षिले मधेसको होलीमा भाइचारा र आत्मीयता अधिक हुने गरेको बताउनुभयो । “ठूला साना सबैको सम्मानपूर्वक व्यवहारसहित होली खेलिन्छ”, उहाँ भन्नुहुन्छ, “नया पुस्ताले त्यही संस्कार सिको गर्दै आएका छन् ।” रासस