• १३ साउन २०८१, आइतबार

सीमान्तकृत बालिकाको अधिकारलाई मूल प्रवाहीकरणमा ल्याउन जोड

blog

कार्यक्रममा सहभागि बालिका ।

काठमाडौँ, चैत १० गते । सीमान्तकृत बालिकाको अधिकारलाई मूल प्रवाहीकरण गर्नुपर्नेमा जोड दिएका छन् । समानताको वकालत गर्ने संस्था हामी दाजुभाइ, दलित महिला सङ्घ -फेडो_ र प्लान इन्टरनेसलको संयुक्त आयोजनामा भएको ‘सीमान्तकृत बालिकाको अधिकारको मूल प्रवाहीकरण’ विषयक कार्यक्रमका सहभागी बालअधिकार अभियन्ताहरूले सो कुरा बताउनुभएको हो ।  

सो कार्यक्रममा कालिकोटसहित विभिन्न जिल्लाबाट सहभागी २० जना बालिकाहरूले बाल सहभागिता, बाल बचाउ, बालविकास, र बाल संरक्षण शीर्षकमा समूहगत प्रस्तुति गर्नुभएको थियो । बालिकाहरूको समूहले घरायसी कामको बोझकै कारण छात्राहरूले घरबाहिरका कार्यक्रम, बाल क्लब तथा विद्यालयका विभिन्न कार्यक्रमहरूमा सहभागी हुन नपाउने अवस्था रहेको बताएका थिए । 

साथै दृष्टिविहीनलगायत विभिन्न प्रकारका अपाङ्गता भएका बालिकाहरू घरबाटै बाहिर निस्किन नसक्ने र विद्यालयसम्म पुगेपनि विद्यालयले अतिरिक्त क्रियाकलापहरूमा सहभागी नगराउनेलगायतका विषय प्रस्तुतिका क्रममा उठाउनुभएको थियो । मधेसी आयोगको सदस्य आभा सेतु सिंहले बालबालिकाको प्रस्तुतिले आफू निक्कै गम्भीर बनाएको प्रतिक्रिया दिँदै सीमान्तकृत बालबालिकाहरूको अधिकारको लागि मधेसी आयोग सहकार्य जनाउन प्रतिबद्ध रहेको बताउनुभयो ।

सो अवसरमा सीमान्तकृत बालिकाको अधिकार: नीतिगत समीक्षा सम्बन्धमा बालअधिकार अभियन्ता चन्द्रिका खतिवडाले कार्यपत्र प्रस्तुत गर्दै दलित, मधेसी, मुक्तकमैया, पूर्व कमलरी, मुस्लिम, अपाङ्गता भएका र लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका बालिका सीमान्तकृत हुन् भन्दै उहाँहरूलाई बालअधिकारको प्रत्याभूति दिलाउनुपर्ने बताउनुभयो । उहाँले बालअधिकार सम्बन्धी ऐन, कानुनमा समग्र बालबालिकाको अधिकारको कुरा उल्लेख छ तर बालबालिका भित्र पनि सीमान्तकृत समुदायको बालबालिकाको अधिकार छुट्टै व्यवस्था नभएकोले उहाँहरूको शिक्षा, स्वास्थ्य, संरक्षणमा समस्या रहेको बताउनुभयो । 

हामी दाजुभाइ संस्थाका अध्यक्ष सन्जोग ठकुरीले सीमान्तकृत समुदायका बालिकालाई शिक्षा, चेतना र सिपले सशक्त बनाउन सबैले मिलेर काम गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले सीमान्तकृत समुदायका बालिकाहरूको अधिकारसम्बन्धी नागरिक आधारपत्र पनि तयार गरेको जानकारी दिँदै आधारपत्रमा बालअधिकार सम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनी व्यवस्थाबारे स्पष्ट जानकारीहरू समेटिएको बताउनुभयो ।