• ७ मंसिर २०८१, शुक्रबार

रङको पर्व होली

blog

सद्भाव, सौन्दर्य र रस रङ्गको रङ्गीन पर्व, जातिपाति, छुवाछुत, सानो, ठुलो, धनी र गरिबको भेदभावलाई भुलेर एउटै रङ्गमा रङ्गिने फागु पर्व नवचेतना, समता र सद्भावको प्राकृतिक स्रोत हो । प्राकृतिक सौन्दर्य र रस रङ्गको उमङ्गले सबैलाई तरङ्गित तुल्याउने फागु आनन्द र उल्लासको रङ्गीचङ्गी चाड हो । १५ दिने परिक्रमाका श्रद्धालुले कञ्चन वनमा रङ्ग, अबिर खेलेसँगै फागुको रौनकताको थालनी हुन्छ । त्रेतायुगमा भगवान् राम र सीताले कञ्चन वनमा रङ्ग अबिर खेलेको मान्यता अनुरूप परिक्रमाका श्रद्धालुले फागुको थालनी गर्ने परम्परा रहेको छ ।

फागु पर्वको इतिहास वसन्त र वसन्तको मदन अर्थात् कामदेवको पूजाबाट सुरु हुन्छ । त्यसैले यस उत्सवलाई मदनोत्सव या वसन्तोत्सवका रूपमा मनाइन्छ । वसन्तोत्सवले हाम्रो जीवनमा यौवनभरि प्रकृतिको सौन्दर्यबाट हामीलाई प्रसन्न तुल्याउँछ । प्रकृतिको सुन्दरतामा मनुष्यलाई प्रसन्न गरी उसका सबै घाउलाई भर्न सक्ने क्षमता छ । अतः मानिसको स्वभाव नै प्राकृतिक सौन्दर्यबाट प्रभावित हुने हुँदा प्रकृतिको पर्व मनाउनलाई पाश्चात्य देशहरूमा एउटी सुन्दरी बालिकालाई छानेर उक्त बालिकालाई रानीको संज्ञा दिई वसन्त पर्व मनाउने चलन पनि पाइन्छ । प्राचीनकालमा वसन्तोत्सवका रूपमा मनाइने यो चाड कालान्तरमा प्रह्लाद, कृष्ण, होलिका, ढुण्डा आदिका कथा माध्यमले फागु, फगुवा, होली, होरी नाउँबाट पुकार्न थालेको पाइन्छ ।

फाल्गुने पूर्णिमायां त दुग्धा भवति होलिका ।

पश्चात् प्रातः समुथ्याय होलिकात्सवः ।।

अर्थात् फागुन महिनाको पूर्णिमा तिथिमा होलिका दहन गरिन्छ, त्यसको भोलिपल्ट बिहानै उठेर होलिकात्सव मनाइन्छ । होलिका वसन्त आरम्भको बेलाका एक लोकप्रिय पर्व हो । फागुलाई मैथिली भाषामा फगुवा अथवा होरी भनिन्छ । यो पर्व अत्यन्त लोकप्रिय र प्राचीनकालदेखि नै मनाइँदै आएको तथ्यहरू पाइन्छ । वराह पुराणमा फागुपूर्णिमालाई पटवास विनाशनी भनिएको छ । पटवास भनेको अबिर जस्तो चूर्णलाई भनिन्छ । पौराणिक कथन अनुसार यस उत्सवको आरम्भ रघु राजाबाट भएको हो । यो पर्व बाल स्वास्थ्य तथा नारी सौभाग्यसित पनि सम्बन्धित रहेको छ । सत्य तथा ज्ञानको प्रतीक प्रह्लाद र विज्ञान तथा भौतिकवादी हिरण्यकश्यपुको कथासँग यो पर्वलाई आध्यात्मवाद र भौतिकवादको द्वन्द्वका रूपमा पनि लिइन्छ । कृष्णले आफूलाई दुध पिलाउने पुतना राक्षसीको वध गरेपछि गोप गोपिनीले रास लीलाका साथ रङ खेलेर उत्सव मनाएको तथ्य पनि पाइन्छ । ब्रह्माले सृष्टिको शुभारम्भ पनि फागु पर्व मनाउने वसन्त ऋतुमा नै गरेको कुरा ‘चेत्रेमासे जगत् ब्रह्म ससर्ज प्रथमे हनि’ श्लोकबाट प्रमाणित हुन्छ । भगवान् विष्णुले पनि सत्ययुगमा यसै दिन मत्स्यावतार धारण गरेको शास्त्रहरूमा उल्लेख छ ।

प्रतापी राजा रघुको राज्यमा अमनचैन सुख शान्ति हुँदाहुँदै त्यहाँ कुनै ठाउँमा ढुण्ढी नामकी राक्षसीले बालबालिकाको अपहरण दुःख दिएको हुँदा चिन्तित राजाले राक्षसीलाई निकाल्ने प्रयास गरे पनि सफल नभएपछि वशिष्ठ ऋषिसँग अत्याचारबाट मुक्त हुने सुझाव लिई अग्निकुण्ड बनाई प्रचण्ड अग्नि जलाई सो रापले नभेट्ने ठाउँमा बालबच्चा र ठुलाहरूको उल्लासपूर्ण भेला र नाचगान गराई अश्लील गालीगलौज गर्दै लखेट्दै गर्दा राक्षसी थकाइले मर्दा उनको शरीर जलाई खरानी उडाइ टीका लगाइएको तथ्य पनि पाइन्छ । नराम्रो प्रवृत्ति उन्मूलनको खुसियालीमा वर्ष दिनमा एक पटक फागुपूर्णीमा तिथि अबिर आदि रङ र फूलका रसहरू खेल्दै परस्परमा मनोरञ्जन गर्ने होली उत्सव मनाएको विश्वाससमेत रहेको छ ।

कुनै कालखण्डको फागुन तिथिमा महादेवले कामदेवलाई नाश गरेको खुसियालीका सन्दर्भमा यो पर्वको विशेषता र सुरुवात भएको मदन र कामदेवको भावलाई पूर्वीय र पाश्चात्य विद्वान् वात्स्यायन र फ्रायडका विचारमा एकरूपता भएको पुष्टि विश्वप्रसिद्ध छ, दुवैको निष्कर्षमा रङ र पानीबाहेक यो पर्वलाई रति र कामको पूजन पर्व मदनोत्सव पनि भनिएको पाइन्छ । श्रीमद्भागवत पुराणमा पुतना राक्षसीले बच्चाबच्चीलाई दुध चुसाउने निहुँमा दुःख दिएको, मारेको र कृष्णलाई समेत त्यसै गर्न लाग्दा कृष्णले पुतनालाई नै मारिदिएको र नगरवासीले राक्षसीको लास जलाएको खरानीले नै होली खेलेको, गोपिनीले रङको उत्सव मनाएको र कृष्णले शृङ्गार रसकी राधालगायत अन्य सहेली साथीसँग फागु खेलेको कथा पनि छ । साथै हिमालमा शिव पार्वतीले फागु उत्सव मनाएका, लङ्का युद्धमा रावणसँग विजयपछि अयोध्यावासीसँग राजा रामले खुसियालीका रूपमा फागु खेलेका आदि कथाले असत्यमाथि सत्य, अधर्ममाथि धर्म र कुकर्ममाथि सुकर्मको जितको परिणाम उल्लेख छ ।

फाल्गुने पौर्णमासी च सदा बालविकासनी ।

ज्ञेया फाल्गुनीका सा ज्ञेया लोकविभूतये ।।

अर्थात् फागुपूर्णिमा पर्व बालक्रिडा र बालविकासका लागि मनाइन्छ । फागु दुनियाँलाई धन्यधान्यबाट समृद्ध गरी मनोरञ्जक क्रिडाका लागि प्रसिद्ध छ । यसैगरी, बराह पुराणमा पनि फागुलाई फाल्गुनीका धनी यस पर्वमा अबिर जस्तो चूर्ण प्रयोग गरी क्रिडा गरेमा सबैको भलो हुने कुरा उल्लेख छ । श्री हर्षचरित संस्कृतको रत्नावली नाटिकामा पनि कोशाम्बी नगरीमा अबिर आदि रङ परम्परामा छ्याप्दै फागु खेलेको चित्रण छ । आयुर्वेद शास्त्रमा केशरी, अबिर जस्ता प्राकृतिक रङको प्रयोगले जीवनमा खुसी गरी छालालाई सफा गर्ने कुराको सङ्केत पाइन्छ । कृषि शास्त्रका दृष्टिले पनि होलक लातीति होलिका अर्थात् केराउ, चना आदिका बालालाई भुट्न, पोल्ने कामलाई होलक भनिन्छ र चना जौ, गहुँ आदि नयाँ अन्न अग्निलाई भोग लगाउने समय जुन पर्वले ल्याउँछ, त्यो पर्व नै होलिका हो । फागुको समयमा पाकेका चना आदि प्राणपोषक नयाँ अन्नलाई अग्नि देवतालाई चढाएर मात्र घरमा भित्र्याउने परम्परा विशेष रूपमा मिथिलाञ्चलमा रहिआएको छ । होली सबै प्रकारका राग, द्वेषरहित सद्भाव र समताको पर्व हो भन्ने कुरा ‘होलान्ति समतापर्वः’ भन्ने श्लोकबाट पुष्टि हुन्छ ।

फागुन महिनाको पूर्णिमा तिथिमा होलिका दहन गरिन्छ, त्यसको भोलिपल्ट बिहानै उठेर होलिकात्सव मनाइन्छ । होलिका वसन्त आरम्भको बेलाका एक लोकप्रिय पर्व हो । फागुलाई मैथिली भाषामा फगुवा अथवा होरी भनिन्छ । यो पर्व अत्यन्त लोकप्रिय र प्राचीनकालदेखि नै मनाइँदै आएको तथ्य पाइन्छ ।

पौराणिक कथा अनुसार, प्रह्लादकी फुपू होलिकालाई भस्म नहुने वरदान प्राप्त भएकाले आफ्ना दाइ हिरण्यकश्यपुको आज्ञा अनुसार उनी प्रह्लादलाई मार्न उसलाई काखमा राखी आगोमा पस्दा मरिन् तर ईश्वरयुक्त प्रह्लादलाई केही नभएको सम्झनामा होलिकालाई जलाएर होलिकात्सव मनाइने गरिएको छ । समयसँगै सभ्यता, आदर्श, नैतिकता, अश्लीलता र आनन्दका सौन्दर्यबोधक मापक र तìव फेरिँदै स्रष्टाहरूले वासन्तीबोधका कामसक्त र शृङ्गार सिर्जनका साथै सामाजिक जीवनका विकृति र विसङ्गतिलाई व्यङ्ग्य र हास्यका माध्यमबाट उजागर गर्ने चलन पनि देखिएको छ । साहित्यकार डा. धीरेश्वर झा धीरेन्द्रले यस प्रसङ्गमा उल्लेख गर्नुभएको फागुको गीतले, ई देहिया होइहे छार, आनन्द करह, आनन्द करह (यो शरीर खरानी हुने छ, आनन्द गर, आनन्द गर) होलिका दहनका दिनको खरानीको सेतो रङ र त्यसपछिको रङ अबिरको रङमयताले जीवनको नश्वरता र त्यसले वर्तमानलाई नै मानवीय प्रेमको सन्देश दिएको छ ।

होली पर्वमा विभिन्न धर्मावलम्बी सहभागी भएर यसको सांस्कृतिक पक्षलाई सबल र सशक्त बनाउँदै आएको छ । अचेल हिन्दु र मुस्लिमसँगै मिलेर अबिर आपसमा दलेर, अङ्कमाल गरेर फागुको सद्भावना र शुभेच्छा सम्प्रेषित गरी पर्वमा सहभागी हुन्छन् । अतः यस कारण पनि फागुका गीतहरू यसरी प्रतिध्वनित हुन्छन् :

जनकपुर रङ्गमहल होरी

किनकाके हाथ कनक पिचकारी

किनकाके हाथ अबिर झोरी

रामके हाथ कनक पिचकारी

लक्ष्मण हाथ अबिर झोरी

जनकपुर रङमहल होरी ।

रसरङ, नाचगान, खानपिन, मनोरञ्जन र आफ्नो रङमा अरूलाई रङ्गाउने, ढोल, डम्फु, झाल, मृदङ्ग बजाउँदै भेदभाव, मनोमालिन्य त्याग्दै भ्रातृत्व भावना बढाउने यस पर्वको सौन्दर्य हो । हुन त पहिले जस्तो महिना दिनअगावै तराई–मधेशमा होरीका गीत घन्किने, वासन्ती उल्लासले सारा वातावरण नै बेग्लै बनाइदिनेको कमी अवश्य देखिएको छ तर यसको आस्थाप्रतिको प्रगाढता अझ पनि विद्यमान रहेको छ ।

राम खेलए होरी हो

लक्ष्मण खेलए होरी...


रामजीके हाथ कनक पिचकारी

सियाजीके हाथ अबिर झोली...


का सँग खेलब ऋतु वसन्त

नियर फागुन दूर वसन्त...


उपवन कुजए चातक कोकिल नाना रङ्ग बिरङ्ग

देखि नवीन कुसुम तरू पल्लक थर–थर काँपए अङ्ग


जीएब त खेलब अगिले साल...

यस प्रकारका गीतहरू र जोगीरा सरर........का बिच उत्साहजनक वातावरणमा आलिङ्गन र सानोले ठुलोको पाउँ छोइ आशीर्वादले वैमनस्यता हराउँछ । फागुनपूर्णिमाका दिन तराई–मधेशमा कतिपय परिवारमा कुलदेवताको स्थानमा विशेष नैवेद्य चढाउने गरिन्छ, जसलाई मैथिली भाषामा पातरि भनिन्छ । राति सामूहिक रूपमा सम्मत (होलिका दहन) गरिने चलन रहेको छ । सम्मतको भोलिपल्ट सबैले रङ र अबिर खेल्ने गर्दछन् । यसमा आफूभन्दा श्रेष्ठ वर्गका चरणमाथि अबिर राखी प्रणाम गरिन्छ भने समकक्ष तथा कनिष्ठ वर्गलाई निधार र गालामा अबिर लगाएर होली खेलिन्छ । यस प्रकार होलीको अवसर ज्येष्ठप्रति सम्मान र कनिष्ठप्रति आशीर्वादको आदान प्रदान गरिने अवसरका रूपमा पनि रहेको छ । सो दिन सामूहिक होली गीत गाइने परम्परा पनि रहेको छ । सो अन्तर्गत जोगिरा भन्ने छन्दविशेष भन्ने गरिन्छ, जसमा एक जनाले छन्दका शब्दहरू भनिसकेपछि सामूहिक रूपमा जोगिरा उद्घोष गरी मनोरञ्जन गर्ने गर्दैछन् । यस्ता होली गीत गाएर हिँड्ने समूहलाई होलैया भनिन्छ । 

होलैया निस्केपछि सडक छेउमा रहेका घरबाट तिनीहरूमाथि रङ र अबिरको वर्षा गरिने परम्परा छ । यस अवसरमा कुनै जाति, वर्ण, रङ, कुल, वंश, खानदान, परिवार आदिको कुनै भेदभाव हुँदैन । सबै एउटै होलीको रङमा रङ्गिएका हुन्छन् । त्यस्तै महिला वर्ग पनि सामूहिक रूपमा घर–घरमा गई परस्पर रङ र अबिरको आदान प्रदान गरी मनोरञ्जन गर्दछन् । यस अवसरमा समाजमा परस्पर ख्याल–ठट्टा गर्न हुने नाता पर्ने व्यक्तिसित विशेष रूपमा आनन्दपूर्वक रङ, अबिर छ्यापेर मनोरञ्जन गर्ने पूर्ण प्रजातान्त्रिक पर्व हो, यसमा जातजाति र वर्ग भेदभाव नगरी धनी, गरिब, उच्च, नीच सबै मिलेर मनाउने परम्परा सदियौँदखि जीवित रहँदै आएको छ  । 

 

लेखक बाट थप