• १३ साउन २०८१, आइतबार

भूकम्प पीडितको करोडौँ रुपियाँ हिनामिना आरोपमा प्रभु बैङ्कका इन्चार्ज पक्राउ

blog

हिनामिना आरोपमा पक्राउ परेको प्रभु बैङ्कका अपरेसन इन्चार्ज नीरज विक्रम शाह । तस्बिर: राजु लामिछाने

राजु लामिछाने

रुकुम पश्चिम, चैत १० गते । रुकुम पश्चिमको आठविसकोट नगरपालिका –९ राडीमा रहेको प्रभु बैङ्कबाट करोडौँ रकम हिनामिना गरेको आरोपमा बैकका कर्मचारी पक्राउ परेका छन् । 

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले बैङ्कको अपरेसन इन्चार्ज पदमा कार्यरत आठविसकोट नगरपालिका –११ निवासी ३१ वर्षीय नीरज विक्रम शाहलाई पक्राउ परेको हो । पक्राउ परेका शाह माथि भूकम्प पीडितसहित दर्जनौँ सेवाग्राहीको करोडौँ रकम अपचलन गरेर हिनामिना गरेको आरोप रहेको छ । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नमराज भट्टराईले बाँकेको नेपालगन्ज उप–महानगरपालिका –१५ स्थित नेपाल–भारत सीमा जमुनाबाट शाहलाई पक्राउ गरिएको पत्रकार सम्मेलन मार्फत जानकारी गराउनुभयो । प्रहरी निरीक्षक धर्मेन्द्र खड्काको नेतृत्वमा खटिएको प्रहरी टोलीले चैत ८ गते बिहीबार शाहलाई पक्राउ गरेको थियो । 

शाहले बैङ्कमा कार्यरत रहँदा बैङ्कको खाताबाट एक करोड ३१ लाख २५ हजार रुपियाँ अपचलन गरेको भन्दै प्रभु बैङ्कका कर्णाली प्रदेश प्रमुख शरदराज तिमिल्सिनाले मुद्दा दर्ता गराउनुभएको थियो । तिमिल्सिनाले आठविसकोट नगरपालिकाको खाताको तीन वटा चेक मार्फत उक्त रकम अपचलन गरेको आरोपमा बैङ्किङ कसुर शीर्षकमा मुद्दा गराउनुभएको थियो ।  

प्रहरी नायब उपरीक्षक भट्टराईमा अनुसार आठविसकोट नगरपालिकाले गत माघ ७, १७ र १९ गतेको मितिमा दिएको २९ लाख, ७८ लाख ७५ हजार र २३ लाख ५० हजार गरेर जम्मा एक करोड ३१ लाख २५ हजार रुपियाँ अपचलन गरेर फरार रहेका थिए । आठविसकोट नगरपालिकाको उक्त रकम भूकम्प पीडितहरूको अस्थायी आवास निर्माणका लागि निकासा गर्नलाई बैङ्कमा पठाइएको थियो । यस बाहेक अन्य सेवाग्राहीहरूको लाखौँ रकम समेत कर्मचारी शाहले हिनामिना गरिएको देखिन आएको प्रहरीको भनाई छ । 

अपरेसन इन्चार्ज शाहले बैङ्कका खातावालाहरूको रकम अनधिकृत रूपमा निकाल्ने, जम्मा गर्ने, अरूलाई ट्रान्सफर गर्ने गरेको आरोप लागेको छ । शाहले पदको दुरुपयोग गरेर करोडौँ रुपियाँ हिनामिना गरेको गुनासोपछि बैङ्कले आन्तरिक छानबिन समेत सुरु गरेको थियो । झुट्टा विवरण र खातावालाको जानकारी बिनै बैङ्कमा जम्मा गरेको रकम अपचलन गरेको पाइएपछि उक्त रहस्य खुलेको हो । बैङ्कको कर्णाली प्रादेशिक कार्यालय सुर्खेतका प्रमुख शरदराज तिमिल्सिनाको नेतृत्वको टोलीले यस घटनाको प्रारम्भिक छानबिन गरेर आरोपी कर्मचारी विरुद्ध मुद्दा दर्ता गरेको थियो ।  

आठविसकोट नगरपालिकाले भूकम्प पीडितहरूको लागि पठाएको रकमका साथै १४ जना ग्राहकहरूको ६७ लाख ९८ हजार रुपियाँ फिर्ता भइसकेको छ । यसका साथै आठविसकोट नगरपालिकाको पहलमा बैङ्कमा अपचलन भएको मध्य थप १५ जना सर्वसाधारण नागरिकको एक करोड दुई लाख ४४ हजार नौ सय रुपियाँ फिर्ता गर्ने सहमति भएको नगर प्रमुख रबी केसीले जानकारी दिनुभयो । शाहलाई उच्च अदालत सुर्खेतबाट सात दिन थुनामा राख्ने अनुमति लिएर आवश्यक अनुसन्धान सुरु गरिएको प्रहरीको भनाई छ ।