• १५ वैशाख २०८१, शनिबार

निर्माणाधीन अवस्थामा रहेको सडक र पुलको निरीक्षण

blog

निर्माणाधीन अवस्थामा रहेको सडक र पुलको निरीक्षण गर्दै उपप्रधानमन्त्री रघुवीर महासेठसहितको टोली । तस्बिर : धर्बेन्द्र झा

धर्बेन्द्र झा 

जनकपुरधाम, चैत ९ गते । उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले आफू जितेको धनुषा निर्वाचन क्षेत्र–४ मा निर्माणाधीन अवस्थामा रहेको सडक र पुलको शुक्रबार निरीक्षण गर्नुभएको छ । 

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव शर्मासहितका सात सदस्यीय टोलीसहित उपप्रधानमन्त्री महासेठले धनुषा निर्वाचन क्षेत्र नं. ४ को मिथिला नगरपालिका –११ बाहुनमारा, लालगढ, माथिल्लो र तल्लो तुल्सी, महेन्द्र नगरसहितको स्थानमा निरीक्षण गरी जनतालाई आवश्यक पर्ने सडक पुलको बारेमा अध्ययन गर्दै निर्माणाधीन अवस्थामा रहेको सडक र पुलको अवस्थाबारेमा जानकारी लिनु भएको छ । 

निरीक्षणको क्रममा उहाँले निर्माण काम स्थगित रहेका सडक र पुलको निर्माण कार्यलाई तीव्रता दिन टोलीमा रहेका सदस्यलाई निर्देशन दिनुभयो । उहाँले लामो समयदेखि निर्माणको कामले गति नपाएको भन्दै बजेटको अभावमा निर्माण काममा रोकिएका आयोजनाका लागि आउँदो बजेटमा बजेट व्यवस्थापन गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । 

उहाँले हरिहरपुरदेखि महेन्द्र नगरसम्मको सडकको स्थलगत निरीक्षण गर्ने क्रममा सडकको अभावमा जनताले विभिन्न खालका समस्या भोगिरहेको भन्दै सरकारले भौतिक पूर्वाधार निर्माणको कामलाई प्राथमिकतामा राखेर कामकाजलाई अगाडि बढाएको बताउनुभयो । 

उहाँले गत चार वर्ष अगाडि आफूले शिलान्यास गरेका सडकको काम अझ अधुरो रहेकोप्रति चिन्ता व्यक्त गर्दै शिलान्यास गरिएका सबै सडकको काम चाँडै पूर्णता पाउनेमा विश्वास व्यक्त गर्नुभयो । मन्त्री महतोले धनुषा निर्वाचन क्षेत्र ४ को विभिन्न स्थानमा निरीक्षण गरिरहँदा आम नागरिकले सो क्षेत्रमा भोग्दै आएका समस्या र तीनका निदानका लागि गर्नुपर्ने कामबारेमा मन्त्री महासेठलाई जानकारी दिनुभएको थियो । 


मन्त्री महासेठले आज नेपाल रेल्वेको बर्दिबासस्थित निर्माण हुन लागेको स्टेसनको समेत स्थलगत निरीक्षण गर्नु भएको छ । मन्त्री महासेठको टोलीमा सडक विभागका महानिर्देशक सुनिलबाबु ढकाल, सहसचिव अर्जुन अर्याल, सहसचिव प्रेम खत्री, रेल विभागका महानिर्देशक रोहितकुमार विसुराल, सडक डिभिजन कार्यालय जनकपुरधामका प्रमुख अरुणकुमार कर्ण, हुलाकी सडक आयोजना कार्यालय जनकपुरधामका प्रमुख कृष्णकुमार महतोसहित रहनुभएको छ । 

आज उपप्रधानमन्त्री महासेठलाई धनुषाको क्षिरेश्वरनाथ नगरपालिका महेन्द्रनगरसहित धनुषाको विभिन्न स्थानमा आम नागरिक र नेता कार्यकर्ताले स्वागत सम्मान गरेका थिए ।