• २३ वैशाख २०८१, आइतबार

तीन जनालाई ‘वानीरा पुरस्कार’

blog

काठमाडौं, चैत ९ गते । सात दशकदेखि सिर्जनामा समर्पित रही विशेषतः कविता, कथा, उपन्यास र समालोचनाको समृद्धिमा उल्लेख्य योगदान पुर्याएबापत प्रा.पुष्कर लोहनीलाई ‘वानीरा प्रज्ञा पुरस्कार’ बाट सम्मानित गरिने भएको छ । 

यसैगरी नेपाली रङ्गमञ्च तथा चलचित्र कलामा विगत छ दशकदेखि निरन्तर समर्पित रही नाट्यकलाको विकासमा विशिष्ट योगदान गरेबापत नाट्यभूषण  मदनदास श्रेष्ठलाई ‘वानीरा शङ्कर पुरस्कार’ समर्पण गर्ने निर्णय भएको हो ।

यी दुवै पुरस्कारका राशि जनही एक लाख रुपियाँ छ । साथै कथा र कविताको सिर्जनामा समर्पित रही नेपाली साहित्यको संवर्धनमा उल्लेख्य योगदान दिएबापत श्रीमती अनिता तुलाधरलाई पचास हजार रुपियाँ राशिको ‘वानीरा पुरस्कार’ समर्पण गर्ने निर्णय भएको हो ।

नेपाली साहित्यका विश्व नारीरत्न डा.वानीरा गिरीको ८१ औँ जयन्तीका अवसरमा आगामी वैशाख २८ गते काठमाडौंको मीनभवनस्थित वानीरा फाउन्डेसनको सभाकक्षमा यी पुरस्कारबाट सम्मानित गरिनेछ । वानीरा फाउन्डेसनका संस्थापक, संरक्षक तथा दाता ई.शङ्कर गिरीको उपस्थितिमा अध्यक्ष श्रीमती इन्दिरा प्रसाईंको अध्यक्षतामा आज बसेको वानीरा फाउन्डेसनको बैठकले उक्त निर्णय गरेको हो ।