• ९ मंसिर २०८१, आइतबार

दिनभर वर्षा, अनुकूल प्रभाव

blog

बर्दीबास समाचारदाता

बर्दीबास, चैत ८ गते । लामो समयदेखि बर्दीबासलगायत मधेश प्रदेशमा बुधबार बिहानदेखि पानी परिरहेको छ । लामो खडेरीपछिको यो वर्षाले बाली बिरुवा, वन, वातावरण र सुक्दै गएका जलस्रोतले पुनर्जीवन पाउने आशा जगाएको छ । डढेलोले आक्रान्त वनजङ्गलका लागि त यो अमृत वर्षा नै भएको वन निर्देशनालयले जनाएको छ । 

यो वर्षाले डढेलोले आक्रान्त वनजङ्गललाई त्राण दिएको छ । फागुन दोस्रो सातादेखि सुरु भएको डढेलोले महोत्तरीका डिभिजन वन र सागरनाथ वन विकास परियोजना अधीनका जङ्गलमा डढेलो लाग्दा करोडौँ मूल्य बराबरका वन सम्पदा खरानी भएका थिए । खडेरी लम्बिँदै जाँदा वन क्षेत्रमा क्षतिको जोखिम बढिरहेको थियो । 

बुधबार बिहानैदखि परेको पानीले डढेलोको जोखिम केही समयका लागि भए पनि टरेको मधेश प्रदेशका वन निर्देशक जगन्नाथप्रसाद जयसवालले बताउनुभयो । उहाँले भन्नुभयो, “यतिबेलाको वर्षाले अमृत समान नै भएको छ । यसले डढेलो नियन्त्रणदेखि जैविक विविधता संरक्षणमा र वन्यजन्तुलाई पनि राहत मिलेको छ ।”

यो वर्षाले स्वास्थ्य क्षेत्रमा समेत अनुकूल प्रभाव पार्ने चिकित्सकको भनाइ छ । मधेश प्रदेशका स्वास्थ्य निर्देशक डा. राजीव झाका अनुसार मौसम र स्वास्थ्यबिच अन्योन्याश्रित सम्बन्ध रहेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “लामो खडेरीका कारण बढ्दो गर्मी र वायुमण्डलमा जम्मा भएका धुलोका कणका कारण चर्मरोग, आँखा पाक्ने प्रकोप र श्वासप्रश्वास जस्ता स्वास्थ्य समस्या बढ्दै गएको थियो । वर्षाले गर्मी कम गर्ने र वायुमण्डल स्वच्छ पार्ने भएकाले मौसमी रोगव्याधीलाई प्राकृतिक रूपबाटै फैलिन नदिने हँुदा अहिलेको पानी स्वास्थ्यको दृष्टिकोणले पनि निकै अनुकूल मानिन्छ ।” 

मधेश प्रदेशमा भदौ दोस्रो सातापछि पानी परेको थिएन । लामो खडेरीले पिल्सिँदै गएको कृषि क्षेत्रलाई यो वर्षा प्राणवायुसरह भएको कृषि विज्ञले बताएका छन् । कृषि ज्ञान केन्द्र महोत्तरीका प्रमुख मनिष पालका अनुसार चैतमा आँपको फूल (मञ्जर) खेल्ने महिना हो । अहिलेको पानीले फूललाई रोग किराबाट जोगाउन चिचिला (टिकुला) बन्न सहयोग पुग्ने हुँदा यसपाला आँप उत्पादन बढ्ने सङ्केत पनि यो वर्षाले देखाएको उहाँले बताउनुभयो । गहुँ, दलहन, मकैलगायत हिउँदे बाली र उखु, वैशाखे तरकारी, प्याज, लसुन, धनियाँको उत्पादन र चैते धानको रोपाइँलाई पनि यो वर्षाले राम्रो गर्ने उहाँले बताउनुभयो । 

लामो समयदेखि वर्षा नहुँदा पानीका स्रोत सुक्दै गएकाले मुख्यतः उत्तरी भेगमा जल सङ्कट बढ्दै गएको थियो । सुदूर उत्तरको पर्साइधापदेखि मध्य क्षेत्रको लक्ष्मीनियाँसम्म धारा इनारमा पर्याप्त पानी आउन छाडेको थियो । बिहानैदेखि परिरहेको पानीले सुकिसकेका र सुक्दै गएका पानीका स्रोत रिचार्ज हुने सम्भावना बढाएको बर्दीबास खानेपानीका अध्यक्ष भुलन सेन ठकुरीले बताउनुभयो । 

किसान खुसी

ढल्केबर समाचारदाताका अनुसार झन्डै छ महिनापछि वर्षापछि यहाँका किसान खुसी भएका छन् । लामो खडेरीका कारण बालीनाली सुक्दै गएका बेलामा भएको वर्षाले बालीनाली सप्रिने भन्दै किसान खुसी भएका हुन् । 

मिथिला नगरपालिकाका कृषि प्राविधिक उमेश महतोले लामो समयपछि भएको यो वर्षाले सबै प्रकारका बालीनालीलाई फाइदा पुग्ने बताउनुभयो ।  उहाँले भन्नुभयो, “यो वर्षाले सबैभन्दा बढी तरकारी बालीलाई फाइदा पुग्ने छ । आँप, कटहरलगायत तराईमा फल्ने मौसमी फलफूललाई अनुकूल हुने छ तर गहुँबालीलाई भने नोक्सानी पु-याउन सक्छ ।”

उहाँका अनुसार वर्षासँगै चलेको हावाले गहुँको बोट खेतमै लडाउने अथवा भिœयाउन काटेर राखेको गहुँ भिजेर नोक्सान हुन सक्ने उहाँको भनाइ छ । सिँचाइ सुविधा नपुगेको क्षेत्रका किसानका लागि यो वर्षा वरदान साबित भएको मिथिला नगरपालिका–११, बाहुनमाराका किसान प्रेमबहादुर कार्कीले बताउनुभयो । एक तथ्याङ्क अनुसार मधेश प्रदेशमा कुल पाँच लाख ८५ हजार आठ हेक्टर खेतीयोग्य जमिन छ । जसमध्ये चार लाख १४ हजार ७५६ हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको दाबी गरिएको छ । 

मकै बालीलाई राहत 


सर्लाही समाचारदाता जनार्जन खत्रीका अनुसार यहाँका किसानले यो वर्ष हिउँदे बालीलाई निकै फाइदा पुगेको बताएका छन् । 

हाइब्रिड मकै लगाउनुभएका लालबन्दी नगरपालिका–१२, जियाजोरका किसान चव्रmबहादुर राउतले सिँचाइको अभाव भइरहेका बेला आकासे वर्षा भएपछि ठुलो राहत मिलेको भन्दै खुसी व्यक्त गर्नुभयो । राउतले भन्नुभयो, “खोलामा नै पानी सुकेपछि मकैमा पानी पठाउन पाइएको थिएन, यही बेलामा पानी बर्सिएर ठुलो राहत मिल्यो ।” खडेरीका कारण हाइब्रिड मकै र गहुँ बाली लगाएका किसान सबैभन्दा बढी मारमा परेका थिए । मकैको खेती हुने जिल्लाको जियाजोर, जानकीनगर, राजघाट, शङ्करपुर, मूर्तिया, हजरियालगायत क्षेत्रका किसान लामो प्रतीक्षापछि पानी पर्दा खुसी देखिएका छन् । 

लालबन्दी नगरपालिकाका कृषि शाखाका प्रमुख गोकर्ण पौडेलले अहिले परेको पानीले धानचमरा आउन लागेको हाइब्रिड मकै, दाना पस्न लागेको गहुँ बाली र घिरौला, भिन्डी, फर्सीलगायत प्रत्येक बालीलाई अमृत समान भएको छ ।