• १३ साउन २०८१, आइतबार

संघीय निजामती सेवा विधेयक जस्ताको त्यस्तै पारित हुँदैन

blog

राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा

काठमाडौं, चैत ७ गते । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले संसदमा प्रस्तुत संघीय निजामती सेवा सम्बन्धी विधेयक जस्ताको तस्तै पारित हुने सम्भावना नरहेको बताउनुभएको छ । 

बुधवार ललितपुरमा आयोजित संघीय निजामती सेवा विधेयकसम्बन्धी छलफल कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । 

सभापति खतिवडाले विज्ञहरुसँग वृहत छलफल गरेर मात्रै सो विधेयकलाई अघि बढाउन आफूले सक्दो पहल गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो । उहाँले सो विधेयकबारे हतारमा निर्णय गरेर फुर्सदमा पछुताउने पक्षमा आफू नरहेको पनि स्पष्ट पार्नुभयो ।

सभापति खतिवडाले भन्नुभयो, ‘‘यो धेरै पहिले निर्माण भएको निजामती सेवा सम्बन्धी विधेयक अहिले फेरि संसदमा प्रस्तुत भएको छ । त्यसमा धेरै चरण बाँकी छन् । यसमा हामी पनि सहमती छौँ कि यो जस्ताको तस्तै पारित हुने सम्भावना कम देखेको छु । म राज्य व्यवस्था तथा सुशासन समितिको हैसियतमा मैले सरसर्ती हेर्दाखेरी त्यो देखेँ । सरकार तीन तहको भनेर संविधानमा हामीले घोषणा गरिसकेका छौं । संविधानमा त्यही उल्लेख गरिएको छ । संघ छ, प्रदेश छ, स्थानीय तह छ । स्थानीयलाई संघमा ल्याउने, नल्याउने । अघि नै भनियो, प्रदेशलाई प्रदेशको अधिकार दिने, नदिने ? यावत विषयहरु छन ।’’

 ‘‘यी सबै विषयमा हामी अहिले लामो समय पछाडि आएकाले हतारमा निर्णय गरेर पछि पछुताउने अवस्थामा जान नपरोस भन्ने मेरो व्यक्तिगत धारणा छ । म यसबारेमा तपाहरुसँग पनि सहकार्य गरेर, तपाईहरुसँग पनि छलफल गरेर यस्ता प्रवुद्ध व्यक्तिहलाई समितिनै बोलाएर एक दिन वृहत रुपमा छलफल गर्नेछु । मुख्यसचिव, मन्त्रीसहित राखेर हामी छलफल गर्छौ र विशेष गरी कर्मचारी हकहितको लागि त छँदैछ । त्योसँगै यसलाई जनतासँग सरोकार राख्ने कसरी बनाउन सकिन्छ ? त्यसमा पहलकदमी हृुन्छ भनेर म तपाईहरुलाई विश्वास दिलाउन चाहन्छु ।’’ सभापति खतिवडाले भन्नुभयो ।