• १६ वैशाख २०८१, आइतबार

अपायक ठाउँमा परीक्षा केन्द्र तोकेपछि विरोध प्रदर्शन

blog

विधार्थी सडकमा विरोध प्रदर्शन गर्दै । तस्बिर : जीवछ यादव

जीवछ यादव

लहान, चैत ७ गते । माध्यमिक शिक्षा परीक्षा (एसइई) विद्यालयबाट २० किलोमिटर टाढा अपायक पर्ने ठाउँमा परीक्षा केन्द्र तोकिएपछि सखुवानन्कारकट्टी गाउँपालिका-श्री माध्यमिक विद्यालयका विद्यार्थीहरू विरोधमा उत्रिएका छन् । विद्यार्थीहरू विरोधमा उत्रेको एक घण्टापछि जिल्ला प्रशासन कार्यालय सिरहाले समस्या समाधानको लागि छलफल अघि बढाएको छ ।

"एक सय दुई जना विद्यार्थीहरूमा ७५ जना छात्रा छन् । कसरी दिनहुँ २० किलोमिटर टाढा परीक्षा दिन जाने, अप्ठ्यारो परिस्थिति सृजना भएपछि चक्काजाम र आन्दोलनमा उत्रेका हौँ", एसइई परीक्षामा सहभागी हुने छात्रा पूजा यादवले भन्नुभयो, "हामी अधिकांश छात्राहरू गरिब किसान परिवारका छौँ, हामीसँग टाढा परीक्षा केन्द्रसम्म जान सवारी साधन छैन ।" 

"विगतका वर्षमा यस विद्यालयको परीक्षा केन्द्र सखुवानन्कारकट्टी-२ श्री मनेलाल जनता माध्यमिक विद्यालयमा हुँदा घरैबाट भ्याउँथ्यो । परीक्षाको मुखमा अपायक पर्ने विद्यालयमा परीक्षा केन्द्र तोकेपछि पढाई छाडेर आन्दोलन गर्नु परेको हो", पूजा यादवसँगै विरोध प्रदर्शनमा उत्रेका विद्यार्थीहरूले भन्नुभयो ।

कक्षा-८ का विद्यार्थीहरूले गणित विषयको परीक्षा सडकमै दिएर विरोध जनाएको दृश्यहरू देखेर विद्यार्थीका अभिभावकहरू समेत परिहारपुर चोकमा आन्दोलनलाई साथ दिन बसेका छन् । अभिभावक सुमेश कुमार यादवले भन्नुभयो, "यत्रो टाढा परीक्षा केन्द्र किन र कुन नियतले गरेको हो यसबारे सम्बन्धित सरोकारवालाहरूले जवाफ नदिएसम्म र परीक्षा केन्द्र पायक पर्ने विद्यालयमा दिएन भने विद्यार्थीहरूलाई परीक्षाको तयारीमा लगाएर हामी अभिभावकहरू आन्दोलन गरिरहने छौँ । २० किलोमिटर अपायक पर्ने ठाउँमा परीक्षा केन्द्र तोक्नुको कारण सेन्टर सेटिङगको लागि लेनदेन हो । विगतका वर्षमा पनि यस्तो हुन्थ्यो । यस वर्ष त प्रस्ट नै भयो । रकम दिएका विद्यालयहरूलाई रोजी रोजी परीक्षा केन्द्र दिएको छ । यसको छानबिन हुनु आवश्यक छ ।"

सखुवानन्कारकट्टी गाउँपालिका शिक्षा शाखा प्रमुख भोगेन्द्र यादवका अनुसार नसोचेको ठाउँमा परीक्षा केन्द्र किन गरियो हामी पनि चिन्तित भएको भन्दै शिक्षा विकास समन्वय इकाई सिरहाले यस विषयमा हामीहरूसँग पनि कुनै सल्लाह नगरेको बताउनुभयो । 

विद्यार्थीहरूले चक्काजाम गरेपछि जिल्ला प्रशासन कार्यालय सिरहाका प्रमुख प्रजिअ वासुदेव दाहालले विद्यार्थी र अभिभाभावकहरुको समस्या बुझ्न पाँच जना प्रतिनिधि झिकाई समस्या समाधानको लागि भरपर्दो विकल्पमा छलफल भइरहेको बताउनुभयो । 

प्रजिअ दाहालले जिल्ला बोलाएपछि हाल विद्यार्थीहरूलाई चित्त बुझाई आन्दोलन स्थगित गराएर छलफलको लागि जिल्लातर्फ लागेको श्री माध्यमिक विद्यालयका प्रधानाध्यापक घुरन यादवले बताउनुभयो ।