• २८ वैशाख २०८२, आइतबार

फरक क्षमता भएकालाई साङ्केतिक भाषा प्रशिक्षण

blog

तालिमका सहभागीलाई प्रमाणपत्र वितरण गरिँदै ।

राधाकृष्ण डुम्रे

वालिङ, चैत ७ गते । स्याङ्जाको चापाकोटमा दुई महिने साङ्केतिक भाषा प्रशिक्षण सञ्चालन गरिएको छ । फरक क्षमता भएका व्यक्तिहरूको पहुँच बढाउन नगरपालिकाले भाषा तालिम सञ्चालन गरेको हो ।  

पालिकाले प्रवाह गर्ने सेवा तथा अन्य गतिविधिमा फरक क्षमता भएकाहरूको पहुँच बढाउन र उनीहरूलाई निर्णय तहमा सहभागी गराउने उद्देश्यले तालिम सञ्चालन गरिएको चापाकोट नगरपालिकाका प्रमुख देव बहादुर खाँण (ईश्वर)ले जानकारी दिनुभयो । पालिकाका हरेक गतिविधि, सभा तथा कार्यक्रमलाई साङ्केतिक भाषा मार्फत सूचना प्रवाह गर्ने योजना रहेको प्रमुख खाँणको भनाइ छ । 

फरक क्षमता भएकाहरूले सेवा लिन समस्या भएको गुनासो आएपछि यस्तो प्रकृतिको तालिम सञ्चालन गरिएको नगर उपप्रमुख इसा रानाले बताउनुभयो । महिला, बालबालिका मात्रै होइन सुन्न र बोल्न नसक्ने पुरुषहरू समेत सेवा लिन असमर्थ हुँदै आएका भन्दै उपप्रमुख रानाले अव उनीहरूलाई प्रत्यक्ष फाइदा पुग्ने विश्वास व्यक्त गर्नुभयो । 

पालिकामा फरक क्षमताका अवस्थामा रहेकाहरूको सङ्ख्या दुई सय ५० रहेको छ । भने सुन्न र बोल्न नसक्ने प्रकृतिका मानिसहरूको सङ्ख्या २० जना रहेको प्रमुख प्रशासकीय अधिकृत ध्रुव खनालले जानकारी दिनुभयो । 

चापाकोट अपाङ्ग सङ्घको सहजीकरणमा भएको तालिममा फरक क्षमता भएकाहरू सहित गरी ३० जनाको सहभागिता रहेको थियो । तालिममा अस्मिता खनालले प्रशिक्षण दिनु भएको थियो । 

सङ्घले यसअघि फरक क्षमता भएकाहरूलाई उद्यमशीलतामा जोड्न विभिन्न तालिमहरू सञ्चलन गर्दै आएको छ । उनीहरूकै माग र आवश्यकताका आधारमा अचार बनाउने, मोडा बुन्ने लगायतका तालिमहरू सञ्चालन गर्दै आएको चापाकोट अपाङ्ग सङ्घका अध्यक्ष सुनिता थापाले जानकारी दिनुभयो ।