• २४ वैशाख २०८१, सोमबार

पर्यटक बढाउन पोखराका होटेलमा छुट

blog

गण्डकी, चैत ६ गते । होटल सङ्घ पोखराले चैत २९ देखि वैशाख १ गतेसम्म आयोजना गर्ने १९ औँ फेवा नववर्ष महोत्सवका अवसरमा २० प्रतिशत छुट दिने घोषणा गरेको छ । महोत्सवका अवसरमा सङ्घ अन्तर्गतका होटेलले आफ्नो प्रकाशित दररेटमा पाहुनालाई २० प्रतिशतसम्म छुट दिने गरी तयारी गरेको सङ्घका अध्यक्ष एवम् मूल संयोजक सुवेदीले जानकारी दिनुभयो । 

महोत्सवको तयारीका लागि विभिन्न २१ वटा उपसमिति गठन गरिएको उहाँले बताउनुभयो । उपसमितिका साथै लेकसाइडका सडक नम्बर अनुसार एरिया संयोजकसमेत तोकिएको छ । सङ्घका उपाध्यक्ष दीपक श्रेष्ठ र गणेशराज पहारीलाई महोत्सवमा सहसंयोजकको जिम्मेवारी प्रदान गरिएको छ । महोत्सव प्रचार प्रसारको मुख्य जिम्मेवारी सङ्घका महासचिव राजेन्द्र ढकाललाई दिइएको छ । 

पोखरालाई पर्यटकीय राजधानी घोषणा गरिनुलाई सकारात्मक रूपमा लिएको सङ्घले जनाएको छ । नेपाली कला र मौलिक संस्कृतिको संरक्षण गर्दै नेपाली नयाँ वर्षलाई उल्लासपूर्ण रूपमा मनाउने उद्देश्यसहित पोखराको फिस्टेल गेटदेखि हल्लनचोकसम्म महोत्सव गर्न लागिएको हो । पर्यटन, संस्कृति र खानालाई महोत्सवमा मुख्य जोड दिइने छ । रासस