• १३ साउन २०८१, आइतबार

कांग्रेस दुधले नुहाएको पार्टी होइन : गृहमन्त्री लामिछाने

blog

संसद् बाहिर पत्रकारसँग धारणा राख्नुहुँदै उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने ।

काठमाडौं, चैत ६ गते। उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले नेपाली कांग्रेसले ठाडो उजुरीका भरमा संसद् अवरुद्ध गरेर आफ्नो राजीनामा मागेको भन्दै आपत्ति जनाउनुभएको छ। 

मंगलबार संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले कांग्रेस दुधले नुहाएको पार्टी नभएको टिप्पणीसमेत गर्नुभयो। उहाँले कांग्रेसले पूरक उजुरीमा संसद् अवरुद्ध गर्ने अभ्यास सिकाउन खोजेको बताउनुभयो। उहाँले ठाडो उजुरीमा संसद् अवरुद्ध गर्ने अडानमा कायमै रहन पनि कांग्रेसलाई चुनौती दिनुभयो। उहाँले चिटिक्क परेर अनियमितता गर्ने कांग्रेसले नैतिकता, सुशासनका कुरा गर्ने ? भन्दै प्रश्नसमेत गर्नुभयो।

उहाँले भन्नुभयो, ‘मैले केही भन्नै पर्दैन नि। कामले बोलिरहेको छैन र ? अस्ति नै पो प्रतिपक्षमा थिएँ, बोल्नुपर्ने थियो, भन्नुपर्ने थियो, अब त सरकारमा छौँ, प्रत्येक दिन गरिएको कामले आफैँ बोलेको छ, जस्तो लागेको थियो, तर साथीहरूको प्रश्न त सकिएको छैन जस्तो छ। संसदीय छानबिन समिति माग गरिएको छ, त्यो उहाँहरूले माग्ने कुरा हो। विवाद हुनु र गराइनु फरक छ। विवादबाट मुक्त कहिल्यै हुँदैन। हामी काम गर्न अघि बढेका छौँ। कामको सङ्केत देखिरहनुभएको छ। जुन ढङ्गले संसद् अवरोध भएको छ। एउटा पूरक, ठाडो उजुरीमा संसद् अवरुद्ध गर्ने अभ्यास सिकाउन खोजेको छ भने नेपाली कांग्रेस दुधले नुहाएको पार्टी हो कि होइन ? भन्नेकुरा नेपाली जनताले बुझेका छन्। हामीले कामले जवाफ दिने हो। काँग्रेसले चार वर्ष संसद् अवरुद्ध गरोस्, हाम्रो यो अहिलेको संयन्त्रले चार वर्ष काम गरोस्, नेपालमा भ्रष्टाचार अन्त्यका लागि सफा भएर, चिटिक्क परेर अनियमितता गर्ने, अनुसन्धान प्रभावित गर्ने, अनुसन्धान भइरहेका मान्छेलाई कुर्सीबाट हटाएर पठाउने कांग्रेसले नैतिकता, सुशासन गर्ने ?’