• १३ साउन २०८१, आइतबार

आगजनीको अभियोगमा प्रमुख प्रशासकीय अधिकृत पक्राउ

blog

लोकेन्द्र जोशी
दार्चुला, चैत ६ गते । 
दार्चुलाको मार्मा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोशन अधिकारी पक्राउ पर्नुभएको छ । आफू बस्ने गाउँपालिकाको सरकारी निवासमा आफैँले आक्रमण र आगजनी गरेको अभियोगमा अधिकारी पक्राउ पर्नुभएको हो ।

गत २४ फागुनको राति प्रमुख प्रशासकीय अधिकृत अधिकारी सुतिरहेको समयमा अज्ञात समूहले आक्रमण गरेको भन्दै नजिकै रहेको इलाका प्रहरी कार्यालयमा पुग्नुभएको थियो । प्रहरी निवासमा आउँदा झ्यालको सिसा फुटेको र निवासभित्र आगलागी भइरहेको थियो । तर प्रहरी अनुसन्धानमा सो घटनामा गराउन कुनै बाह्य व्यक्ति संलग्न भएको नभेटिएको बताएको छ ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहका अनुसार घटना अधिकारी आफैँले गराएर सरकारी सम्पत्तिमा क्षति पुर्‍याएको भन्दै गाउँपालिकाले नै अधिकारीविरुद्ध जाहेरी दिएको छ । त्यसकै आधारमा अधिकारीलाई आइतबार नै प्रहरीले पक्राउ गरेको उहाँले बताउनुभयो ।

उनीमाथि जिल्ला अदालतबाट सात दिनको म्याद लिएर अनुसन्धान थालिएको हो । घटनापछि कर्मचारीका विभिन्न संघसङ्गठनले आक्रमणको प्रयासको विरोध गर्दै अनुसन्धान गरेर दोषीमाथि कारबाहीको माग थिए । २०८० भदौमा अधिकारी मार्मा गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत भएर गएका थिए ।

‘‘आपराधिक उपद्रो गरेको अभियोगमा उहाँमाथि अनुसन्धान भइरहेको छ,’’ सिंहले भन्नुभयो, अहिलेसम्मको अनुसन्धानमा सो घटना गराउन त्यहाँ बाह्य व्यक्ति संलग्न भएको भेटिएको छैन । घटनापछि प्रमुख प्रशासकीय अधिकृत अधिकारीले आफू झ्यालबाट हाम फालेर बाहिर निस्किन सफल भएको बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालयको टोली समेत पुगेर घटनाबारे अनुसन्धान गरेको थियो । तर तथ्यले भने घटनामा अधिकारी नै संलग्न भएको भेटिएको केही स्थानीय जनप्रतिनिधिहरूको दाबी छ ।