• १३ साउन २०८१, आइतबार

साथीको हत्या गरी फरार अभियुक्त २१ वर्षपछि पक्राउ

blog

साथीको हत्या गरी फरार रहेका अभियुक्त सार्वजनिक गर्दै काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय । तस्बिर : केशब गुरुङ

काठमाडौं, चैत ६ गते । नेपाल प्रहरीले २१ वर्षअ‍घि साथीको हत्या गरी फरार रहेका अभियुक्तलाई पक्राउ गरी सार्वजनिक गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले मङ्गलबार पत्रकार सम्मेलन गरी सो बारे जानकारी गराएको हो ।

पक्राउ पर्नेमा २१ वर्षअघि सञ्जय शाहीको हत्या गरी फरार रहेका तिखे भन्ने तेजबहादुर राई रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका डिएसपी सुरक्षा केसीले बताउनुभयो ।

४१ वर्षका राई सोलुखुम्बु नेचा सल्यान गाउँपालिका ४ का हुन् । उनले मापसे गरी झगडा पर्दा साथीको हत्या गरेको बताइएको छ । शाहीको २१ वर्षअघि काठमाडौँ जिल्ला काठमाडौँ महानगरपालिका १९ मरुढोका इनाटोलमा रहेको एक पशु वधशालामा हत्या भएको थियो ।

त्यस्तै, प्रहरीले १६ वर्षअघि धर्मराज विष्टको हत्याका योजनाकारलाई पनि पक्राउ गरी सार्वजनिक गरेको छ । २०६४ साल असार २६ गते ललितपुर जिल्लको तत्कालीन ललितपुर उपमहानगरपालिका २२ शंखमुलस्थित ललितपुर इमाडोल घर भएका ३३ वर्षका धर्मराज विष्टको हत्या भएको थियो । सोही घटनाका योजनाकारलाई प्रहरीले १६ वर्षपछि आज पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा ४१ वर्षकी धादिङ बुढाथुम गाविस ३, साबिक गङ्गा जमुना गाउँपालिका-७ की हाल ललितपुर २६ मा बस्दै आएकी सविता थापा (अधिकारी) रहेकी छन् । धर्मराज विष्ट मीन भवन कमर्स क्याम्पसको प्राध्यापक रहेको र सामान्य चिनजान रहेको प्रहरीले बताएको छ ।

विष्टले आफूलाई बारम्बार जिस्क्याउने गरेको कुरा भाइ विनोद थापालाई भनेको र दिदीको कुरा सुनिसकेपछि विनोदले आफ्ना साथीहरूलाई सोबारेमा कुरा गरी हत्याको योजना तयार पारेको प्रहरीले बताएको छ । दुवैलाई कानुनअनुसार कारबाहीको प्रक्रिया अघि बढाइएको बताउनुभयो ।