• १३ साउन २०८१, आइतबार

अम्रिसोमा आकर्षण बढ्दो

blog

बाजुरा समाचारदाता

बाजुरा, चैत ६ गते । गाईवस्तुलाई घाँस र झाडु लगाउन कुचोका रूपमा प्रयोग हुँदै आएको अम्रिसो खेतीप्रतिको आकर्षण बढ्दै गएको छ । घाँस र कुचो बिक्री गर्दा राम्रो कमाइ हुने भएकाले पनि स्थानीयवासी अम्रिसो खेतीप्रति आकर्षित हुन थालेका हुन् । गाईभैँसीका लागि पातको घाँस आहार हुने र त्यसको फूलको कुचो बनाएर बिक्री गर्न सकिने भएकाले अम्रिसोको व्यावसायिक खेती गरेको बुढीगङ्गा नगरपालिका–२ का बहादुर थापाले बताउनुभयो । स्थानीय वसन्त बालमैत्री आधारभूत विद्यालयका प्रधानाध्यापकसमेत रहेका थापाले भन्नुभयो, “विद्यालयवरिपरि गरिएको अम्रिसो खेतीले वातावरण स्वच्छ पार्नुका साथै बिक्रीबाट विद्यालयलाई समेत केही आम्दानी हुने गरेको छ ।”

बडीमालिका नगरपालिका, गौमूल गाउँपालिका र बुढीगङ्गा नगरपालिकाका अधिकांश गाउँबस्तीमा पछिल्लो समय अम्रिसोको व्यावसायिक खेती गर्ने गरिएको पाइन्छ । अम्रिसो घाँस र कुचोका रूपमा मात्र प्रयोग नभई भिरालो ठाउँमा लगाउँदा पहिरो जाने समस्या रोकिने गरेको भनाइ स्थानीयवासीको छ । धेरै मेहनत गर्नु नपर्ने, जस्तोसुकै जमिनमा पनि लगाउन सकिने भएकाले स्थानीयको आकर्षण बढेको हो । अम्रिसोको घाँसले गाईभैँसीको दुध बढाउने बताइन्छ ।  बडीमालिका नगरपालिकाका पूर्वप्रमुख पदम बडुवालले अम्रिसोको व्यावसायिक खेती गरेर कुचो बनाई मार्तडी बजारमा बिक्रीवितरण गर्न सुरु गर्नुभएको छ । “२०७२ सालअघि नै मैले गाउँघरमा अम्रिसोको खेती गरेको हुँ,” उहाँले भन्नुभयो, “कुचो बनाएर मार्तडी बजारमा बिक्री गर्ने व्यक्ति पनि मै हो ।”

अम्रिसो भैँसीका लागि राम्रो आहारका लागि उपयुक्त देखिएकाले मैले घरवरिपरि लगाउने गरेको छु । पात भैँसीलाई खुवाउने र त्यसको फूल खेर जाने भएकाले कुचो बनाएर बिक्री गर्ने गरेको जानकारी उहाँले दिनुभयो । 

यसको फूलको झुप्पाबाट कुचो बनाइन्छ भने स्याउला गाईवस्तुको आहाराका रूपमा प्रयोग गरिन्छ । साथै पशुले नखाने डाँठबाट उच्च कोटीको कागज बनाउने गरेको बताइन्छ । बाजुराका अधिकांश घर माटो र ढुङ्गाले निर्माण हुने गरेका छन् ।