• १३ साउन २०८१, आइतबार

लोकमार्ग निर्माणका लागि महोत्सव

blog

सेती लोकमार्ग निर्माण पहिचान महोत्सवबारेमा जानकारी गराउँदै स्थानीय युवा । तस्बिर : चाँदनी आचार्य

चाँदनी आचार्य 

घोडाघोडी (कैलाली), चैत ५ गते । कैलालीको बर्दगोरिया गाउँपालिकामा सेती लोकमार्ग पहिचान महोत्सव हुने भएको छ । बर्दगोरिया साहित्य तथा सांस्कृतिक मञ्चले आयोजना गर्ने महोत्सवले निर्माणाधीन सेती लोकमार्ग छिटो सम्पन्न गर्न दबाबको काम गर्ने जनाइएको छ । 

बर्दगोरिया गाउँपालिका–१ बौनियामा चैत ९ गतेदेखि १८ गतेसम्म हुने महोत्सवको तयारीमा स्थानीय युवाहरू जुटेका छन् । महोत्सव आयोजक समितिका संयोजक भरत ताम्राकारले दक्षिणमा छिमेकी भारत र उत्तरमा चीनको ताक्लाकोट सिमाना जोड्ने त्रिदेशीय महत्वको सेती लोकमार्गको पहिचान र निर्माण कार्य तीव्रगतिमा अघि बढाउन दबाब दिने उद्देश्यले महोत्सव आयोजना गरिएको बताउनुभयो । 

२०४२ सालबाट सेती लोकमार्गको चर्चा गरिए पनि २०६६ सालमा सरकारले नीति तथा कार्यक्रममा समावेश गरी महत्त्वपूर्ण आयोजनाको रूपमा समावेश गरेको थियो । २०६६–६७ यता हरेक वर्ष सेती लोकमार्ग निर्माणका लागि सरकारले बजेट छुट्याए पनि निर्माण कार्य कछुवा गतिमा रहेको जनाइएको छ ।

संयोजक ताम्राकारले भन्नुभयो, “यस क्षेत्र विकासको ठुलो सम्भावनाको ढोका खोल्ने सेती लोकमार्गको निर्माण कछुवा गतिमा भइरहेको छ, निर्माणमा तीव्रता दिन, दबाब दिन महोत्सवको आयोजना गर्न लागेका हौँ ।”

सेती लोकमार्ग निर्माणका लागि दबाब दिनकै लागि विगतमा समेत महोत्सव आयोजना हुँदैआएको थियो । महोत्सवको उद्घाटन तथा समापन कार्यक्रममा सरकारका विभिन्न तह र तप्कामा रहेका व्यक्तिलाई आमन्त्रण गरी सेती लोकमार्गको आवश्यकता र महत्वबारेमा जानकारी गराउँदै आयोजना सम्पन्न गर्न दबाब दिने संयोजक ताम्राकारले बताउनुभयो ।

महोत्सव आयोजक समितिका महासचिव लोकुसिंह ठकुरीले महोत्सवले बर्दगोरिया क्षेत्रको कला, संस्कृति, साहित्यलाई संरक्षण गर्नुका साथै बर्दगोरिया धाम, पुरानै ताललाई पर्यटकीयस्थलको प्रचार–प्रसारमा सहयोग पुग्ने बताउनुभयो ।