• २१ वैशाख २०८१, शुक्रबार

वित्तीय साक्षरता अभियान दुर्गम क्षेत्र समेत पुर्‍याउन जरुरी

blog

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी । फाइल तस्बिर

काठमाडौं, चैत ५ गते । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ग्लोवल मनि विकको अभियान नेपालको दुर्गम क्षेत्रसम्म पुर्‍याइने बताउनुभएको छ । सोमबार काठमाडौंको ग्लोबल मनी विकको अवसरमा राष्ट्र बैंकद्वारा आयोजित कार्यक्रममा बोल्नुहुँदै गभर्नर अधिकारीले यस्तो बताउनुभएको हो । उहाँले वित्तीय साक्षरता अभियान देशका दुर्गम क्षेत्र समेत पुर्‍याउन जरुरी रहेको बताउनु भयो ।

गभर्नर अधिकारीले ग्लोवल मनि विकको अभियान सुरुवाती चरणबाटै सक्रिय रहेको जानकारी दिनुभयो । उहाँले यो अभियानलाई राष्ट्र बैंकले अझ विस्तार गर्ने प्रतिवद्धता जनाउनु भयो । गभर्नर अधिकारीले वित्तीय साक्षरतालाई देशको कुना–कुना लैजाने योजना रहेको पनि उल्लेख गर्नुभयो ।

उहाँले वित्तीय फ्रेमवर्कमा वित्तीय साक्षरता वित्तीय जागरणका रुपमा विद्यालय तहको पाठ्यक्रम (सेलेवस) मा पनि राख्नका लागि समन्वय भइरहेको जानकारी दिनुभयो । उहाँले कुनैपनि प्रोडक्ट बैंक तथा वित्तीय संस्थाहरुले ल्याउँदा वा नीति ल्याउँदा कार्यान्वयनमा जानका लागि वित्तीय चेतना हुन जरुरी रहेको औंल्याउनु भयो । उहाँले ग्लोवल मनी विकलाई नेपालमा पनि यो अभियानलाई वित्तीय शिक्षको आधारका रुपमा लिएको उल्लेख गर्नुभयो ।

गभर्नर अधिकारीले सञ्चारमाध्यमहरुलाई पनि वित्तीय साक्षरता अभियानमा एकीकृत गर्ने व्यवस्था रहेको बताउनु भयो । उहाँले पैसाको वचत गर्ने र भविष्यका लागि सुरक्षित राख्ने विषयलाई प्राथमिकता दिएर ग्लोवल मनि विक मनाउने गरिएको बताउनु भयो । उहाँले वचत भविष्यमा कमाएर मात्रै गर्ने नभएर बाल्यकालदेखि बानी बसाउन जरुरी रहेको बताउनु भयो । उहाँले बालबालिकाले खाजा खर्चलाई बचाएर वचत गर्ने बानी बसाए भविष्य सुरक्षित हुने धारणा राख्नुभयो ।

आइतबारदेखि ग्लोवल मनी विक २०२४ सुरु भएको छ । ग्लोवल मनी विक ओईसीडि वित्तीय शिक्षाका लागि अन्तर्राष्ट्रिय सञ्जालले मार्च १८ –२४ मार्चसम्म विश्वव्यापी रूपमा रुपमा आयोजना गर्ने साप्ताहिक कार्यक्रम हो ।

सन् २०१२ देखि हरेक वर्ष ग्लोवल मनी विक विश्वभर मनाउने गरिएको छ । यो बालबालिका र किशोर किशोरीहरुमा वित्तीय शिक्षाको महत्त्वबारे जागरण ल्याउने उद्देश्यले मनाइने एउटा अभियान हो । यस वर्षको ग्लोवल मनी विकको नारा ‘प्रोटेक्ट युअर मनी, सेक्योर योर फ्युचर’ रहेको छ ।