• १३ साउन २०८१, आइतबार

हाकिम कुटिएपछि कर्मचारी आन्दोलित

blog

अमरगढी समाचारदाता

डडेलधुरा, चैत ५ गते । परशुराम नगरपालिकाको कार्यपालिका बैठकमै प्रमुख प्रशासकीय अधिकृतमाथि कुटपिट भएपछि कर्मचारी आन्दोलित भएका छन् । निमित्त प्रमुख प्रशासकीय अधिकृत कृष्णदेव जोशीमाथि कुटपिट भएको भन्दै पालिकाका कर्मचारी आन्दोलित भएका हुन् ।  नगर उपप्रमुख एवं न्यायिक समिति संयोजक विमलाकुमारी बोहोराले नै प्रमुख प्रशासकीय अधिकृतलाई कुटपिट गरेको भन्दै कर्मचारी न्याय माग्दै आन्दोलित भएका हुन् । 

कार्यपालिका बैठक कक्षमै अधिकृतमाथि गहिरो चोट लाग्ने गरेर भएको घटनाका दोषीमाथि कारबाही हुनुपर्ने कमर्चारीको माग छ । उक्त घटना भएको चार दिन बितिसक्दासमेत प्रहरीले पक्राउ नगरेको कृषि शाखा अधिकृत रतनबहादुर भण्डारीले बताउनुभयो । 

जिल्ला प्रहरी कार्यालय डडेलधुराका प्रमुख प्रहरी नायब उपरीक्षक दीपककुमार कार्कीका अनुसार जाहेरी नआएपछि कसैलाई पनि पक्राउ गरिएको छैन । ठाडो उजरी मात्रै परेकाले घटनाको समयमा उपप्रमुखलगायत दुई जना वडाध्यक्षलाई प्रहरीले नियन्त्रणमा लिएको र केही समयमै आफन्तको रोहबरमा छोडिएको उहाँले बताउनुभयो । 

कर्मचारीले नगरपालिकासहित मातहतका कार्यालयमा अत्यावश्यकबाहेकका सेवा बन्द गरी आन्दोलन थालेका हुन् । नगरपालिकाका स्वास्थ्य संयोजक तेजबहादुर सिंहले कर्मचारीले टाउकोमा कालोपट्टी बाँधेर आन्दोलनमा उत्रिएको जानकारी दिनुभएको छ ।  कर्मचारीले विज्ञप्ति जारी गर्दै कार्यपालिका बैठकमा उपप्रमुख एवं न्यायिक समिति संयोजक बोहरा, वडा नम्बर ७ का वडाध्यक्ष कर्णबहादुर धामी, वडा नम्बर १ का वडाध्यक्ष लालबहादुर धामीलगायतको समूहले ज्यान मार्ने उद्देश्यले सुनियोजित हमला गर्दै निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई गम्भीर घाइते बनाएको उल्लेख छ । 

“यस्तो अमानवीय व्यवहार र हमला गर्ने दोषीमाथि कडाभन्दा कडा कानुनी कारबाही नहुन्जेलसम्मका लागि परशुराम नगरपालिका तथा यस अन्तर्गतका सम्पूर्ण कार्यालयको अति आवश्यक सेवाबाहेक अन्य सम्पूर्ण सेवा अनिश्चितकालका लागि ठप्प गरिएको जानकारी गराउँदछौँ,” जारी विज्ञप्तिमा भनिएको छ ।