• २७ पुस २०८१, शनिबार

बाघको आक्रमणबाट बाँकेमा एक वृद्धको मृत्यु

blog

सिराज खान 

नेपालगन्ज, चैत ४ गते । बाँकेको राप्ती सोनारी गाउँपालिका ९ ढकेरी नजिक बाघको आक्रमणबाट एक जना वृद्धको मृत्यु भएको छ । 

इलाका प्रहरी कार्यालय बाँकेका अनुसार ढकेरीमा आफन्तको घरमा पाहुना आउनुभएका दार्माकोट सल्यान निवासी ७१ वर्षीय नागेन्द्रप्रसाद शर्माको शव बाघले खाएको अवस्थामा कोहलपुर र ढकेरीको बिचमा रहेको भालुखोलामा फेला परेको छ । 

इलाका प्रहरी कार्यालय कोहलपुरका निमित्त प्रमुख प्रहरी निरीक्षक देवराज भट्टराईले शर्माको शव आइतबार बिहान फेला परेको जनाउँदै शवको प्रकृति हेर्दा बाघले खाएको जस्तो देखिएको बताउनुभयो । 

उहाँले सो बारेमा थप अनुसन्धान भइरहेको तथा मृतकका आफन्तसँग पनि सोधपुछ गर्ने कार्य भइरहेको बताउनुभयो । ढकेरी क्षेत्र बाँके राष्ट्रिय निकुञ्जसँग गाँसिएको क्षेत्र भएकोले सो क्षेत्रमा पाटेबाघ देखिने गरेको स्थानीयले जनाएका छन् ।