• १३ साउन २०८१, आइतबार

गरिबीसँगै लागुऔषधको दुष्प्रभाव

blog

गोकर्ण दयाल 

बैतडी, चैत ४ गते । नेपालमै सबैभन्दा बढी ३४ प्रतिशत गरिबी झेलिरहेको सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय लागुऔषधको दुष्प्रभाव फैलिएको छ । यहाँको ३४ प्रतिशत जनसङ्ख्याले न्यूनतम मापदण्ड अनुसार खान, लगाउन नपाउने, मनोरञ्जनका क्रियाकलापमा पहुँच पुग्न नसकेको बेला दक्ष जनशक्ति मानिएका युवा भने लागुऔषधको दुष्प्रभावमा फस्न थालेका छन् ।  

सुदूरपश्चिममा २०८० सालको साउनदेखि फागुन महिनाम्म ९१ किलो गाँजा, ७३ किलो चरेस र तीन किलो हेरोइनसहित प्रहरीले ४७५ जनालाई युवालाई पक्राउ गरिसकेको छ । पक्राउ पर्नेमा नाबालकसमेत छन् । पक्राउ परेका मध्ये प्रहरीले ३०५ जनामाथि मुद्दा चलाएको छ । उमेर नपुगेका केहीलाई प्रहरीको आसरा सुधार केन्द्रमा राखिएको छ । 

प्रदेश प्रहरी कार्यालयको त्रिवर्षीय तथ्याङ्क अनुसार, यस प्रदेशमा लागुऔषध बेचबिखन र सेवनको अवस्था भयावह बन्दै गएको छ । नौ वटा जिल्लामध्ये कैलाली, कञ्चनपुर, डडेलधुरा, बैतडी र दार्चुलाको भारतसँग सीमा जोडिएको छ । खुला सीमाको फाइदा उठाउँदै लागुऔषध कारोबारी र दुव्र्यसनीबाट प्रहरीले तीन वर्षमा एक क्विन्टल ४४ किलो गाँजा, दुई क्विन्टल ९५ किलो चरेस र तीन किलो हेरोइन बरामद गरिसकेको जनाएको छ । 

आर्थिक वर्ष २०७८/७९ देखि २०८०/०८१ को फागुनसम्म प्रहरीले लागुऔषध ओसारपसार गरेको अभियोगमा एक हजार ८९४ लाई गिरफ्तार गरेको छ । तीमध्ये एक हजार १९८ जनामाथि मुद्दा चलाएको पाइएको छ । दुव्र्यसनीमा फस्ने १५ वर्षदेखि ३० वर्षम्मका युवा रहेका छन् । 

प्रदेशमा लागुऔषधको भयावह स्थिति देखिन थालेपछि नेपाल प्रहरीले सुदूरपश्चिम प्रदेशमा लागुऔषधविरुद्धको महाअभियन सुरु गरेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक प्रज्वल महर्जनले बताउनुभयो । उहाँले भन्नुभयो, “सुदूरपश्चिममा लागुऔषध कारोबारी र दुव्र्यसनी बढेपछि यो वर्षदेखि लागुऔषधविरुद्धको महाअभियान सञ्चालन गरिरहेका छौँ । यो महाअभियानले दण्डात्मक, सुधारात्मक र सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको छ ।’’ तराईका जिल्ला कैलाली र कञ्चनुपरमा लागुऔषधविरुद्ध अपरेसन नै चलाएको र अन्य जिल्लामा सचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेको जानकारी उहाँले दिनुभयो । गत वर्षको तथ्याङ्कले कैलाली र कञ्चनपुरमा सबैभन्दा बढी अवैध लागुऔषध कारोबारी र दुव्र्यसनी भेटिएका छन् । 

पहाडी जिल्लामध्ये बैतडीमा लागुऔषधका कारोबारी र सेवनकर्ता बढी रहेका छन् । यो वर्ष बैतडीमा प्रहरीले लागुऔषधविरुद्धको महाअभियान सञ्चालन गरी गाँउबस्ती, विद्यालय र क्याम्पस स्तरमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको छ । 

बैतडीमा साउनदेखि फागुनसम्म प्रहरीले ५४५ वटा लागुऔषधविरुद्धका सचेतनामूलक कक्षा सञ्चालन गरिसकेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक नन्दराज जोशीले बताउनुभयो । लागुऔषधविरुद्धको महाअभियान यहाँका १० वटै स्थानीय तहका गाँउबस्ती र शैक्षिक संस्थासम्म पु¥याउने लक्ष्य रहेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “लागुऔषधविरुद्धको महाअभियान सफल देखिएको छ । गत वर्ष लागुऔषध कारोबार र सेवन गर्ने १२ जना पक्राउ परेका थिए भने चालु आर्थिक वर्षको फागुनसम्म कोही पनि पक्राउ परेका छैनन् । हामी चाहन्छौँ लागुऔषधको दुष्चक्रमा कोही नफसोस् ।” 

स्थानीय तह उदासीन 

सुदूरपश्चिम प्रदेशमा प्रहरीले लागुऔषधविरुद्धको महाअभियान सञ्चालन गरिरहेको भए पनि यो अभियानलाई स्थानीय तहले नीतिगत रूपमा खुलेर सहयोग गर्न सकेका छैनन् । स्थानीय तहले न युवालाई दुव्र्यसनीबाट जोगाउन सकेका छन् न त रोजगारी नै दिन सकेका छन् । 

लागुऔषधविरुद्ध सचेतना कार्यक्रम पनि सञ्चालन गर्न सकेका छैनन् । स्थानीय तहको सरकार गठन भएपछि गाउँमा मदिराको लाइसेन्स वितरण गर्ने धन्दा भने बढेको छ । शिवनाथ गाउँपालिकामा छ वटा वडामा ८४ वटा मदिरा कारोबार गर्ने लाइसेन्स वितरण गरिएको छ । 

सुर्तीजन्य पदार्थ र मदिराको कारोबारमाथि नियमन नहुँदा प्रहरीको लागुऔषधविरुद्धको अभियान सफल बनाउन चुनौती थपिएको भनाइ प्रहरी अधिकारीको छ । 

युवा पलायनसँगै गाउँमा गरिबी 

सुदूरपश्चिम प्रदेशका ८८ वटा स्थानीय तहमा रोजगारीको अवसर सिर्जना गर्न नसक्दा युवा पलायन बढेको छ । मजदुरी गर्न सक्ने युवा वर्ग गाँउघरबाट पलायन भएसँगै गरिबी बढेको छ । बच्चा, महिला र बुढापाकोले घरखेत थेग्नु परेको छ । 

गरिबीका कारण चुलो बाल्नकै लागि पढाइ छाडेर छिमेकी देश भारत र खाडी मुलुक पस्ने युवाको सङ्ख्या बढेको छ । नेपालमा गरिबी २०.२७ प्रतिशत भएको जनाइए पनि सुदूरपश्चिममा ३४.१६ प्रतिशत गरिबी रहेको पाइएको छ । 

राष्ट्रिय तथ्याङ्क कार्यालयको नेपाल जीवनस्तर सर्वेक्षण चौथो (२०७९/८०) को प्रतिवेदन अनुसार सुदूरपश्चिम प्रदेश देशभरिमै सबैभन्दा बढी गरिब रहेको प्रदेश हो । गरिबीको रेखामुनि रहेका मानिसले न्यूनतम मापदण्ड अनुसार खान लगाउन नपाउने, मनोरञ्जनका व्रिmयाकलाप गर्न नपाउने, शिक्षा, स्वास्थ्य र साधनमाथिको पहुँच नपुगेको देखाएको छ । 

जिल्ला प्रशासन कार्यालय तथ्याङ्क अनुसार, बैतडीबाट बर्सेनि तीन हजार युवाले विदेश जान राहदानी बनाउने गरेका छन् । राहदानी बनाउने आर्थिक हैसियत नभएका नेपाली नागरिकता बोकेर भारत जाने गरेका छन् ।